काठमाडौं - कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीले अब गणित विषय पढ्न नपाउने भएका छन्। यसो भएसँगै गणितबिनाको विज्ञान अध्ययनले स्वदेश तथा विदेशमा समेत विज्ञान तथा प्रविधि विषयमा उच्चशिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्नेछ।
शिक्षामन्त्रीको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास केन्द्रको बैठकले गत जेठ १८ मा पारित गरेको ‘राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ले जिवविज्ञान (वायोलोजी)का विद्यार्थीहरुका लागि प्ल टुमा गणित विषय अध्ययन गर्न बाट रोक लगाएको हो। गणित विज्ञहरुले परिमार्जित पाठ्यक्रमले वायोलोजीका विद्यार्थीलाई गणित पढ्न रोक लगाउँदा विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने टिप्पणी गरेका छन्।
वायोलोजीका विद्यार्थीले सय पूर्णांकको गणित नपढ्दा इन्जिनियरिङ तिरको बाटो नै रोकिन्छ। विदेशमा समेत विज्ञान अध्ययनमा वञ्चित हुन्छन्।
विज्ञान संकायमा कक्षा ११ र १२ को ऐच्छिकमा विद्यार्थीहरुले भौतिकशास्त्र, रसायनशास्त्र, वायोलोजी तथा गणित पढ्नुपर्छ। पाठ्यक्रम परिमार्जन तथा परिष्कार गर्न ल्याइएको नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीमध्ये भौतिकशास्त्र अध्ययन गर्ने विद्यार्थीले सय पूर्णांकको गणित अनिवार्य अध्ययन गर्नुपर्ने तर वायोलोजी अध्ययन गर्ने विद्यार्थीले गणित पढ्न नपाउने भएका छन्। वायोलोजीका विद्यार्थीले पढ्दै आएको सय पूर्णांकको गणित नयाँ पाठ्क्रमअनुसार वायोलोजी र गणित एउटै समूहमा परेपछि विद्यार्थीले गणित पढ्न नपाउने भएका हुन्।
वायोलोजीका विद्यार्थीलाई गणित शिक्षा अध्ययनबाट वञ्चित पारिँदा ती विद्यार्थीहरु स्नातकतर्फ इन्जिनियरिङ, बिएस्सी एग्रीकल्चर, भेटिनरी, बिएस्सी सिएसआइटी, म्याथेमेटिकल साइन्स लगायतका विषयमा उच्चशिक्षा अध्ययनबाट वञ्चित हुने नेपाल गणित समाजका सभापति प्रा. डा. टंकनाथ धमला बताउँछन्। गणित समाजले यसबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेल र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशकलाई समेत पाठ्यक्रम सच्याउन ध्यानाकर्षण पत्र बुझाएको धमलाले बताए। वायोलोजीका विद्यार्थीले भौतिकशास्त्र, वायोलोजी र रसायनशास्त्र तीनै विषय पढ्नुपर्छ तर गणितबिनाको भौतिकशास्त्र अधुरो हुने हेक्कासमेत पाठ्यक्रम विकासकर्ता र विज्ञले नगरेकोमा धमलाले आपत्ति जनाएका छन्।
पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको नयाँ पाठ्यक्रममा प्लस टुमा नेपाली, अंग्रेजी, सामाजिक, जिवनोपयोगी गरी चार अनिवार्य र तीन ऐच्छिक विषय निर्धारण गरेको छ। ‘प्रारुपको प्रस्तावित मस्यौदामा समावेश भएकामा प्रायोगिक गणितीय ज्ञान, सीप तथा कौशलता जीवनका सबै क्षेत्र तथा उच्च अध्ययन अति आवश्यक भएको कारणले सो विषय प्रस्तावित मस्यौदामा भए अनुरुप नै हुनुपर्छ,’ सभापति धमलाले नागरिकसँग भने, ‘प्रारुपमा विज्ञान प्रविधिको विकासलाई जोड दिनुपर्नेमा नकरात्मक असर पार्ने काम भयो। यसलाई सच्च्याएर विज्ञान तथा प्रविधिमैत्री पाठ्यक्रम बनाउनुपर्छ।’ उनले थपे, ‘वायोलोजीका विद्यार्थीले सय पूर्णांकको गणित नपढ्दा इन्जिनियरिङ तिरको बाटो नै रोकिन्छ। विदेशमा समेत विज्ञान अध्ययनमा वञ्चित हुन्छन्।’
कक्षा १० को परीक्षामा सहभागिता जनाउनेमध्ये ५० प्रतिशत विद्यार्थीहरु विज्ञान समूहमा अध्ययन गर्ने र त्यसमध्ये पनि सबैभन्दा बढी वायोलोजी समूहमै हुने गरेको समाजका केन्द्रीय सदस्य जीवन काफ्लेले बताए। उनले गणितबिनाको जिवविज्ञान अपाङजस्तै हुने बताए। ‘त्रिविको म्याथामेटिकल साइन्समा गणित विषय अध्ययन गरेका वायोलोजीका विद्यार्थीलाई मात्र भर्ना लिने व्यवस्था छ। गणित नपढेकाले यो विषय पढ्न पाउँदैन,’ काफ्ले भन्छन्, ‘वाणिज्य गणित र अर्थशास्त्र सम्बन्धित विषय भएकाले यिनीहरुलाई फरक–फरक ऐच्छिक समूहमा राख्ने व्यवस्था तत्काल गर्नुपर्छ।’ उनले थपे, ‘विज्ञान समूहका विद्यार्थीको चहना नै डाक्टर, इन्जिनियर, पाइलट, आइटीविज्ञ तथा अन्य विशिष्टकृत पेशामा जाने भएकाले यी विषयहरुको स्नातकमा अध्ययन गर्न गणित अनिवार्य छ।’
त्रिवि गणित केन्द्रीय विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले प्रेस विज्ञप्ती जारी प्रारुप मस्यौदा विज्ञानका विद्यार्थी अनुकूल नभएको प्रतिक्रिया दिएका छन्। ‘विश्वका अधिकांश देशमा कक्षा १२ सम्म गणित विषय अनिवार्य छ,’ उनले थपे, ‘त्रिविका कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमशः ५० र १०० पूर्णांकको गणित अनिवार्य उत्तीर्ण गरेको हुुनुपर्छ। यसैगरी पोखरा, काठमाडौं, पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ तथा सूचना प्राविधि कार्यक्रममा प्रवेश पाउन सय पूर्णांकको गणित अनिवार्य छ।’
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले विगतका मापदण्डलाई परिमार्जित गरी सबै विषयबस्तु समेटेरै अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याएको दाबी गरे। ‘हालको प्रारुपले सबै विषयलाई पुग्ने गरी समेटेको छ,’ कार्यकारि निर्देशक काप्रि भन्छन्, ‘सबै विषयविज्ञहरुसँग छलफल गरेर नै पाठ्यक्रम प्रारुप तयार पारिएको हो।’
प्रकाशित: २८ जेष्ठ २०७५ ०३:१७ सोमबार