coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘चार सय भूकम्पपीडितले पहिलो किस्ताको राहत पाएका छैनन्’

वासुप्रसाद गौतम, वडाध्यक्ष

तारकेश्वर नगरपालिका– ५

तपाई जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के काम गर्नुभयो ?
लामो समय जनप्रतिनिधिविहीन हुँदा स्थानीय तह अस्तव्यस्त र लथालिंग ढंगले सञ्चालन हुँदै आइरहेको थियो । सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेका थिए । हामी जनप्रतिनिधिका रुपमा आएलगत्तै वडा कार्यालयले दिने सेवा प्रवाहलाई छिटो–छरितो मात्रै होइन, जनमैत्री बनाउँदै ल्याएका छौँ ।

हामी आउनु अघिसम्म वडाका विभिन्न सार्वजनिक स्थानमा फोहोरमैलाका डंगुर हुन्थ्यो । जताततै फोहोरमैला छरिएको हुन्थ्यो । अहिले वडा कार्यालयकै अगुवाइमा फोहोरमैला व्यवस्थापन भएको छ । फोहोरमैला संकलनका लागि गाडीको समेत व्यवस्थापन गरेका छौँ । जनप्रतिनिधिकै अगुवाइमा हरेक शनिबार टोल–टोलमा सरसफाइ कार्यक्रम गर्दै आइरहेका छौँ । वडा कार्यालयको अगुवाइमा तीन समय मिटर सडक कालोपत्रे गरिसक्यौँ । कच्ची सडकलाई ग्राभेलिङका साथै रिटेलिङ वाल लगाएर व्यवस्थित गर्ने जमर्काे गरिराखेका छौँ ।

तपाईंको वडामा सडक लामो समयदेखि लथालिंग छन्, कहिलेसम्म मर्मत–सम्भार गर्नुहुन्छ ?
वर्षाैंदेखि वडाका सडक लथालिंग छन् । समयमै सडकलाई विस्तार तथा स्तरोन्नति गर्न नसक्दा जनताले वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको सामना गर्दै आइराखेका छन् । वडामा तीन मुख्य सडक रहेका छन् । जुन अहिलेसम्म कच्ची नै रहेका छन् । फूलबारी गेटदेखि फुयालथोकसम्म पाँच किलोमिटर सडकमा ग्राभेलिङ तथा रिटेनिङ वालका साथै नाला बनाउने काम भइरहेको छ ।

त्यस्तै, सानोपुल–बोहोराटार–नार्गाजुनसम्मको सडक अझैसम्म कच्ची नै छ । उक्त सडकमा नगरस्तरीय योजना परेको छ । त्यसलाई अबको केही वर्षभित्रै कालोपत्रे गर्ने लक्ष्य राखेका छौँ । फूलबारी–फुयालथोक–जितपुर फेदी सडक व्यवस्थित गर्ने जमर्काे गरिराखेका छौँ । अबको चार वर्षभित्रै वडामा रहेका ठूला तथा साना सडकलाई कालोपत्रे अर्थात् ढलान गर्ने योजनासाथ काम गरिरहेको छु । वडामा तीन फिटेदेखि पाँच फिटे सडककै कारण सडक विस्तारमा समस्या भइरहेको छ ।

तपाईंको वडामा राजकुलो मासिँदै गइरहेका छन्, संरक्षणको योजना के छ ?
लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा राजकुलो अतिक्रमणको चपेटामा परेको छ । पछिल्लो समय राजकुलो पुरेर सडक बनाउने कार्य तीव्र गतिमा भइरहेको छ । वडा कार्यालयले पुराना राजकुलो संरक्षणमा विशेष ध्यान दिँदै आइरहेको छ । वडाभित्र करिब २० देखि ३० रोपनी क्षेत्रमा रहेका राजकुलो अतिक्रमणमा परेका छन् ।

वडा कार्यालयको अगुवाइमा दुई ठाउँमा पुरिएको राजकुलो पहिलाकै अवस्थामा फर्काउन सफल भएका छौँ । जथाभावी ढंगले राजकुलो पुरेर सडक बनाउने प्रवृत्तिले पुराना राजकुलो मासिँदै गइरहेको छ । त्यसैले वडा कार्यालयले राजकुलो संरक्षण गर्ने योजना लिएर अघि बढेको छ ।
 
तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
लामो समयदेखि वडामा खानेपानीका समस्या छ । खानेपानीको पर्याप्त आपूर्ति गर्न सकिएको छैन । वडामा खानेपानीका मुहान अति नै कम छन् । राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पानी ल्याउन कानुनी अड्चन धेरै नै खेप्नुपर्दो रहेछ । त्यसैले वडा कार्यालयले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर खानेपानीको व्यवस्थापन गर्न जुटेका छौँ ।

अर्थ मन्त्रालयले खानेपानी व्यवस्थापनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । नागिनखोलाबाट पानी ल्याएर वितरण गर्न लागेका छौँ । निकुञ्ज क्षेत्रमा खानेपानीको ट्यांकी निर्माण गर्न नमिल्ने रहेछ । त्यसैले निकुञ्जभन्दा केही तल तीन लाख लिटर क्षमताका पाँचवटा खानेपानीका ट्यांकी निर्माण गर्न लागिरहेका छौँ । जसबाट करिब एक हजार पाँच सय घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौँ । उक्त आयोजना दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।

 भूकम्पपीडितले राहत नपाउँदा टहराकै बास भइरहेको छ, यो समस्या कहिलेसम्म समाधान गर्नुहुन्छ ?
 वडामा भूकम्पीडितको अवस्था निकै दयनीय छ । एक हजार दुई सय भूकम्पपीडितमध्ये अहिलेसम्म करिब चार सयले पहिलो किस्ता बापतको राहत रकम समेत पाएका छैनन् । पहिलो किस्ता बापतको राहत रकम नपाउँदा भूकम्पपीडित टहरामा बसोबास गर्दै आइरहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितमाथि खेलाँची गर्दा समस्या आएको हो ।

प्राधिकरणले भूकम्पपीडितको नाउँमा धुलिखेलमा गोष्ठी गर्छ, तर गोलढुंगाका जनता टहरामा बस्नुपर्ने बाध्यताबाट गुज्रिँदै आइरहेका छन् । पहिलो किस्ता बापतको रकम समेत नपाउँदा भूकम्पपीडितमा चरम निराशा छाएको छ । भूकम्पपीडितको जग्गा गुठी मातहत रहेका छन् । जसले समस्या निम्त्याएको छ । वडा कार्यालयले भूकम्पपीडितलाई राहत उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरे पनि अपेक्षाकृत उपलब्धि हात पार्न सकेको छैन।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सडक, खानेपानी, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक, भूकम्पले भत्किएका ऐतिहासिक संरचना निर्माण लगायतमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेका छौँ ।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
वडामा तीन हजार रोपनीभन्दा धेरै सार्वजनिक जग्गा रहेको छ । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सार्वजनिक जग्गाको अतिक्रमण हुने क्रम ह्वात्तै बढेको रहेछ । हामी आएसँगै सार्वजनिक जग्गा संरक्षणलाई तीव्रता दिएका छौँ । हामी आएसँगै ७० रोपनी सार्वजनिक जग्गाको नापजाँच ग¥यौँ । तीमध्ये १५ रोपनी सार्वजनिक जग्गा मिचिएको रहेछ ।

उक्त जग्गालाई फिर्ता ल्याउन सफल भएका छौँ । वडाध्यक्षको नेतृत्वमा सार्वजनिक जग्गा संरक्षण समिति गठन गरेका छौँ । समितिले मिचिएका सार्वजनिक जग्गालाई वडा कार्यालय मातहत ल्याउने प्रयत्न गरिरहेको छ । क्रमशः अन्य स्थानमा मिचिएका सार्वजनिक जग्गा फिर्ता ल्याउनेछौँ । वडा कार्यालयले सार्वजनिक जग्गामा पार्क बनाउने योजना अगाडि बढाइरहेको छ।

महिला र ज्येष्ठ नागरिकका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि ‘ज्येष्ठ नागरिक पार्क’ साथै तीनवटा प्रतीक्षालय निर्माण गरेको छ । अहिले ती प्रतीक्षालय ज्येष्ठ नागरिकको भेटघाट गर्ने थलो भइरहेको छ ।

त्यस्तै, वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि सामाजिक सेवा सुरक्षाभत्ता घरदैलोमा गएर वितरण गर्दै आएको छ । महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । वडा कार्यालयले महिलाका लागि आर्यआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गरेर क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको छ ।

कस्तो वडा बनाउने सपना छ ?
पाँच वर्षभित्र वडा कार्यालयमा रहेका भित्री सडक कालोपत्रे र प्रत्येक जनताको घरदैलोमा खानेपानीसहितको धारा पु¥याउने योजना छ । थानागढीमा भ्युटावर रहेको छ, उक्त भ्युटावर क्षेत्रमा बृहत गुरुयोजना बनाएर पर्यटकीय स्थलका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छु ।

स्थानीय ग्रामीण क्षेत्रका कृषकको क्षमता अभिवृद्धि गर्न विभिन्न आर्यआर्जनमूलक तालिमका साथै होमस्टे सञ्चालन गर्ने तयारी गरेको छु । वडामा पछिल्लो समय जनघनत्व तीव्र गतिमा बढिरहेको छ । सुविधा सम्पन्न अस्पताल आवश्यक छ, आगामी चार वर्षभित्रै धिताल थोकमा रहेको ३३ रोपनी सार्वजनिक जग्गामा ५० शड्ढयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखेको छु । अस्पताल स्थापनाका लागि प्रतिनिधि सभाका सांसद रामवीर मानन्धरसँग समन्वय गरेर अघि बढिरहेको छु ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २८ जेष्ठ २०७५ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App