८ वैशाख २०८१ शनिबार
अर्थ

रक्सोल हुँदै रेल्वेबाट आयातमा समस्या

रक्सोलस्थित रेलवे स्टेसनमा नेपालका लागि आएका सामान (पानीमा) र मालवाहक रेल ।तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वर्षातसँगै जमेको पानी र हिलोले सीमावर्ती भारतीय सहर रक्सोलस्थित रेल्वे स्टेसनमा नेपालका लागि ल्याइएको करिब ५० र्याक मालसामान समस्यामा परेको छ । त्यहाँ रहेका थोरै ‘सेड’हरु पनि टुटेर जीर्ण भइसकेका छन्।

त्यहाँदेखि नेपालतिर निकास हुने बाटो हिलाम्य छ । यसले आयातित वस्तुको गुणस्तर बिग्रिने र नोक्सान हुने समस्या छदैछ, छिटो–छरितो सामान ओसार्ने ठाउँ र संरचना अभावमा आयातकर्ताले चर्को शुल्क र जरिवाना बेहोर्नु पर्दा आयात लागत बढेको छ।

रेलमार्ग भएर धेरैजसो कच्चा पदार्थ आयातका लागि नेपाली आयातकर्ताले अझै पनि रक्सोलकै भर पर्नुपर्छ । यता नेपाली भूमिममा रक्सोलको विकल्पमा संरचना बनाउन नसक्दा आयातकर्ता आर्थिक नोक्सानी र अनेक कठिनाइ भोग्नु परेको बताउँछन् । रक्सोलस्थित रेल्वेको स्टेसनका सेवाग्राही नेपाली आयातकर्ताको समस्या सेवाप्रदायक भारतीय रेल्वेले महत्व दिएको छैन भने यता नेपालतर्फबाट पनि सरकारी स्तरमा कुनै चाँसो नदेखिएको व्यवसायीको गुनासो छ ।

‘आयातकर्ताको रुपमा रेल्वेका अधिकारीसमक्ष हामी गएर समाधानको आपेक्षा गर्नु एउटा कुरा हो, त्यो आपेक्षाको सम्बोधन गर्न भारतीय निकाय जिम्मेवार हुनैपर्छ भन्ने हाम्रो दाबी लाग्दैन,’ आयातकर्तासँगै उद्योग वाणिज्य महासंघ प्रदेश २ का उपाध्यक्षसमेत रहेका उद्योगी अशोक कुमार बैधले भने, ‘हाम्रो समस्यालाई नेपालको समस्याको रुपमा ग्रहण गरेर सरकारले भारत सरकारसँग पहल गर्दा समस्या सम्बोधन हुन्छ ।’ तर नेपाल सरकारका तर्फबाट त्यसो हुन नसकेको उद्योगी बैधले गुनासो गरे ।रक्सोलमा आउने मुख्य वस्तु क्लिंकर आयातमा त्यहाँ स्थानीय र रेल्वेबीचको विवादका कारण गत पुसदेखि रोक लागेर १३ वटा स्वदेशी उद्योग ‘भेन्टिलेटर’मा पुगेको उनले टिप्पणी गरे ।

क्लिंकर बिहारको मुजफरपुर नजिकको नारायणपुरमा रेलबाट अनलोड गरी ट्रकमा एक सय ४० किलोमिटर ओसारेर ल्याइँदैछ । यसबाट ढुवानी लागत करिब डेढ गुणा बढेको बैधले बताए । जिप्सम, फ्लाई ऐस, स्लेग जस्ता सिमेन्ट उद्योगका कच्चा पदार्थ, कोइला, फलाम, बोराबन्द खाद्यान्न र साल्ट ट्रेडिङले समग्र नेपालका लागि आयात गर्ने नुनलगायत वस्तु अहिले रक्सोलमा नै अनलोड भएर आयात हुने गरेको छ ।

ती वस्तुहरु अहिले हिलोमै ओराल्ने र त्यहाँबाट ढुवानी गर्नुपर्ने भइरहेको आयातकर्ता बताउँछन् । रक्सोल रेल्वे स्टेसनबाट भारतीय रेल्वेले नेपाली आयातकर्ताबाट भारी व्यावसायिक लाभ लिइरहेको छ । समस्तिपुरस्थित क्षेत्रीय मुख्यालय अन्तर्गत पर्ने रक्सोल रेल्वे स्टेसनको मालसामान व्यवस्थापन गरिने यार्डमा सुधार गर्ने रेल्वेको कुनै योजना देखिँदैन ।

रक्सोल आउने मालसामानको १० प्रतिशत अंश अटाउने पनि ‘सेड’ले ढाकिएको ठाउँ त्यहाँ छैन । वीरगन्जसम्म रेल लाइन पुर्याएर सिर्सियामा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइए पनि त्यहाँ ‘डस्टी कार्गो’ भित्र्याउने संरचना नहुँदा त्यस्ता मालवस्तु अहिले रक्सोल भएर नै ल्याउनुपर्ने बाध्यता छ।

फलाम र बोराबन्द सामान ल्याउने व्यवस्था सिर्सिया सुक्खा बन्दरगाहमा गरिए पनि त्यहाँ संरचना अपुग भएपछि नचाहेर पनि फेरि रक्सोलबाट ती सामान मगाउनु आयातकर्ताको बाध्यता भएको छ । ‘वीरगन्ज सिर्सिया सुक्खा बन्दरगाह कै भरमा फलाम आयात छाड्ने हो भने महिनामा १० दिन पनि उद्योग चल्दैन,’ जगदम्बा स्टिलका निर्देशक अनुराग शर्माले भने ।

बाध्य भएर आयातकर्ताले फलाम र बोराबन्द सामान रक्सोल भएर ल्याउछन् र डस्टी कार्गो ल्याउन भने नेपालमा संरचना नै नबनेकाले स्लेग, फ्लाई ऐस, जिप्सम जस्ता सिमेन्ट उद्योगका सहायक कच्चा पदार्थ र कोइला त्यहाँ भएर ल्याउनु पर्ने हुन्छ । यो बाध्यता समाप्त पार्न नेपाल सरकारको कुनै तत्परता छैन भने अर्कोतिर भारतीय रेल्वेले यो अवस्थाको लाभ उठाउँदै नेपाली आयातकर्तासँग दोहनमात्र गरिरहेको आयातकर्ताको गुनासो छ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App