८ वैशाख २०८१ शनिबार
समाज

संयुक्त सैन्य अभ्यासमा महिला सैनिक

काठमाडौं - भारतको उत्तराखण्डस्थित पिथौरागढमा नेपाल र भारतका सैनिकबीच चलिरहेको प्रतिआतंकवाद तथा प्रतिविद्रोह सैन्य अभ्यासमा पहिलोपटक नेपाली महिला सैनिकले भाग लिन अवसर पाएका छन्। अभ्यासमा नेपालका तर्फबाट महिला सैनिकको एउटा सेक्सनसहित तीन सय सैनिकले भाग लिएको सेनाले जनाएको छ। अभ्यासमा अधिकृतको नेतृत्वमा नौजना महिला सैनिकले भाग लिइरहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।

‘सूर्य किरण’ नाम दिइएको उक्त सैन्य अभ्यासको १३ औं शृंखला हाल भारतको पिथौरागढमा भइरहेको छ। वार्षिक रूपमा हुने यस किसिमको सैन्य अभ्यास गत वर्ष नेपालमा भएको थियो। नेपाल र भारतमा पालैपालो हुने यस किसिमको सैनिक अभ्यासमा भारतमा पहिलोपटक नेपाली महिला सैनिक सहभागी भएको सैन्य प्रवक्ता भण्डारीले जानकारी दिए। ‘नेपालमा भएको सैन्य अभ्यासमा महिला सैनिकले भाग लिएका थिए तर भारतमा भएको यस्तो सैन्य अभ्यासमा नेपाली महिला सैनिकले भाग लिएको पहिलोपटक हो,’ उनले भने।

दुई मुलुकका सेनाबीच संयुक्त रूपमा हुने सूर्य किरण सैन्य अभ्यासमा नेपाली महिला सैनिकको सहभागिताले नेपाली सेनामा महिला सैनिकको भूमिका थप सशक्त र प्रभावकारी भएको सन्देश प्रवाहित भएको सेनाको भनाइ छ। नेपालमा महिला सैनिक पनि उत्तिकै सशक्त छन् भन्ने कुरालाई यस किसिमका तालिममा महिला सैनिकको सहभागिताले पुष्टि हुने सेनाले जनाएको छ।

संयुक्त सैन्य अभ्यासमा नेपाल र भारतका गरी करिब ६ सय सैनिकले भाग लिइरहेका छन्। संयुक्त अभ्यासमा दुवै देशका सैनिकले प्रतिआतंकवाद, प्रतिविद्रोह तथा विपद् व्यवस्थापनसम्बन्धी आआफ्ना अनुभव साटासाट गरिरहेका छन्।

दुवै देशका सेनाले संयुक्त रूपमा जंगल र पहाडमा कसरी आतंकवाद, विद्रोह र विपद्को सामना गर्ने भन्ने विषयमा अभ्यास गरिरहेका छन्। अभ्यासमा महŒवपूर्ण लेक्चर, प्रतिविद्रोह, प्रतिआतंकवाद र विपद् व्यवस्थापनसम्बन्धी डेमोस्ट्रेसन गर्ने लगायतका अभ्यास भइरहेको सेनाले जनाएको छ। जेठ १६ देखि सुरु भएको सैन्य अभ्यास २९ जेठसम्म चल्ने सेनाले जनाएको छ।

भारतले दुई मुलुकका सेनाका बीचमा हुने संयुक्त सैन्य अभ्यासलाई उसले नेपालमा सहायता गर्ने मुख्य परियोजनामा पनि समावेश गरेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि विभिन्न दृष्टिकोणले संयुक्त सैन्य अभ्यासलाई थप बलियो बनाउने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App