६ वैशाख २०८१ बिहीबार
अर्थ

दर्ताबिनाका पसललाई अल्टिमेटम मात्रै

काठमाडौं – सरकारले बजार अनुगमनको क्रममा बिनादर्ता सञ्चालित फार्मेसी र औषधि पसललाई सामान्य निर्देशन मात्रै दिने गरेको पाइएको छ । अनुगमन अधिकारीहरुले त्यस्ता मेडिकल तथा औषधि पसलेलाई २४ घन्टे निर्देशन मात्रै दिएर छाड्ने गरेका हुन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार कीर्तिपुर क्षेत्रका मेडिकल तथा औषधि पसलको अनुगमन गरेको थियो । औषधि व्यवस्था र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले अनुगमनका क्रममा कुनै पनि मेडिकल तथा औषधि पसलमा सक्कल प्रमाणपत्र भने भेटेन।

अनुगमन टोलीले बिनादर्ता सञ्चालित र सक्कल प्रमाणपत्र नभेटिएका मेडिकल र औषधि पसललाई २४ घन्टे निर्देशन मात्रै दिएको छ । आपूर्ति विभागका रामचन्द्र रेग्मीको संयोजकत्वमा गएको टोलीले २४ घन्टाभित्र विभागमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएर फर्केको छ । अनुगमनका क्रममा कीर्तिपुरस्थित रिना मेडिकल हलमा व्यवसाय दर्तासँग सम्बन्धित कुनै पनि कागजपत्र भेटिएन । कागजपत्र नभेटिएपछि अनुगमन टोलीले व्यवसाय दर्तासँग सम्बन्धित सक्कल कागजात २४ घन्टाभित्र विभागमा पेस गर्न निर्देशन दिएको छ ।कीर्तिपुरकै सूर्यचन्द्र फार्मेसीमा पनि व्यवसाय सञ्चालन सम्बन्धी कुनै कागजपत्र भेटिएन । सञ्चालकलाई सामान्य सूचना सहित दुवै विभागमा कागजात पेस गर्न निर्देशन दिइएको छ।

उक्त फार्मेसीमा फेला परेको म्याद नाघेको पारमोल सिरप ५० एमएलको ६ बोटल, फोरक्स वेवी फुड २०० ग्रामको एक प्याकेट नस्ट गरिएको छ ।डम्मर फार्मेसीको प्रमुख सञ्चालक र व्यवसायी फरक भेटिँदा पनि सामान्य निर्देशन मात्रै दिइएको छ । डम्मरको नामबाट दोस्रो व्यक्तिले उक्त फार्मेसी सञ्चालन गरेको पाइएको थियो । उक्त फार्मेसीले म्याद नाघेको औषधि बेचेको भेटिएको छ । साथै, बिल बिजक जारी नभएको, मनोदिपक औषधिको रेकर्ड दुरुस्त नभएको भेटिएको छ।

डम्मर फार्मेसीको प्रमुख सञ्चालकलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात सहित २४ घन्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।उक्त फार्मेसीमा फेला परेको म्याद नाघेको इन्फेसिक्स ड्राई सिरप ६० एमएलको पाँच बोटल र फिक्सिम ६० एमएलको तीन बोटल नष्ट गरिएको छ।

यस्तै, कीर्तिपुरकै नविन फर्माको सक्कल प्रमाणपत्र र सञ्चालक भेटिए पनि विवरणबिनै औषधि बिक्री वितरण गर्ने भेटिएको छ ।
उग्रतारा युनिक पोलिक्लिनिक एन्ड डायग्नोस्टिक लामो समयदेखि यस क्षेत्रमा सञ्चालनमा रहे पनि व्यवसाय दर्ता नभएको भेटिएको छ । सक्कल प्रमाणपत्र नभेटिएपछि उक्त पोलिक्लिनिकलाई पनि २४ घन्टे अल्मिेटम दिइएको छ । विभागको टोलीले यसअघि पनि उग्रतारा पोलिक्लिनिकमा अनुगमन गर्दा कागजपत्र भेटिएको थिएन ।कीर्तिपुरकै कृतिश मेडिकल हलमा म्याद नाघेको औषधि भेटिएको छ । उक्त मेडिकलमा म्याद नाघेको औषधि अन्य औषधिसँगै राखिएको भेटिएको हो।

यस विषयमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आफूलाई पूर्ण रुपमा जानकारी नआएका कारण आवश्यक अनुसन्धान गरी कानुन अनुसार कारबाही गर्ने बताए । ‘कानुनी व्यवस्था अनुसार मेडिकल तथा फार्मेसी दर्ताबिना सञ्चालन गरे तीन वर्ष कैद तथा २५ हजार जरिवाना तिर्नुपर्ने हुन्छ । कानुन चलाएको रहेछ भने कारबाही हुन्छ,’ महानिर्देशक ढकालले भने।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अर्को टोलीले १७ वटा खाद्य तथा किराना पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश किराना पसल बिनादर्ता सञ्चालन भइरहेको पाइएको छ ।म्याद नाघेका सामान बेच्न राखिएको पनि भेटिएको छ । मूल्यसूची नभएको, लेबल नभएको सामान बिक्री, व्यवसाय दर्ता तथा नवीकरण नभएको र नापतौल प्रमाणीकरण नभएको जस्ता कैफियत भेटिएका छन् । आपूर्ति विभागका निर्देशक दिपक पोखरेलले पछिल्लो समय सामान्य ढंगबाट अनुगमन भइरहेको जानकारी दिए । ‘अहिले हामीले निर्देशन मात्रै दिइरहेका छौं,’ उनले भने ।

 

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App