coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर ६ को मृत्यु

पहिरोले तानपामा पारेको असर। सडक अबरु अबरुद्धको स्थिति ,नगरपालिकाको भ्याकुले सडकको अवरोध पन्साउदै गरेको अवस्था, तानपाको हिटी बजार क्षेत्रमा अस्थायी शिविरका भेला भएका बिस्थापति परिवार र सडकको अवस्थाको दृश्य। तस्बिर : खगेन्द्र अधिकारी

ताप्लेजुङ- अविरल वर्षापछि आएको पहिरोले ताप्लेजुङमा चार र भोजपुरमा दुई गरी ६ जनाको ज्यान गएको छ। एक जना घाइते छन्। शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङ नगरपालिका–२, निरौला टोलमा तीन र ताप्लेजुङ– ८, धुसेनी, अँधेरीमा दुई जनाको मृत्यु भएको हो।

पहिरोमा पुरिएका निरौला टोलका टीका मगरकी श्रीमती र दुुई छोराको शव शनिबार बिहान फेला परेको थियो। घरमाथि रहेको दुधेलोको रुखसहितको भाग खस्दा पुरिएका टीकाकी श्रीमती २८ वर्षीया विमला, छोराहरू ९ वर्षीय ललित र ७ वर्षीय मनोजको शव बिहानै फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए।

त्यसैगरी, पहिरोले घर बगाउँदा बेपत्ता ताप्लेजुुङ–८ का ५५ वर्षीया दिलमाया पालुङ्वाको शव स्थानीय र सुरक्षाकर्मीको टोलीले शनिबार अपराह्न पुरिएको अवस्थामा फेला पारेको थियो। पहिरोले पुुरेको स्थानमा सात घन्टा खोजी गरेर शव निकालिएको उनले जानकारी दिए।

मृतक दिलकुमारीकी बहिनी कृष्णकुमारीलाई सुरक्षाकर्मी र स्थानीयको टोलीले उद्धार गरी जिल्ला अस्पताल ल्याएको छ। उनको गम्भीर अवस्थामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उता, पूर्वी पहाडी जिल्ला भोजपुरमा शुक्रबार राति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। कुलुङ–९, खमारेमा जगतधन राईको खेतमा आएको पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको ज्यान गएको हो।

जगतधन राईको घरमा बसेर खेतपाती काम गर्ने कुलुङ–६, जिमिगाउँका ५८ वर्षीय भरत राई र उनकी पत्नी ५४ वर्षीया राममणि राईको मृत्यु भएको छ। शुक्रबार राति घरमा सुतिरहेका बेला पहिरोले पुरेकाले उनीहरूको शव बिहान मात्र निकालिएको थियो। पहिरोले घर बगाएको जानकारी आएपछि प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए।

जताततै पहिरो

पहिरोले ताप्लेजुङ नगरपालिका क्षेत्रको तल्लो भागबाट ५४ तथा फूलबारी गाविसमा ६ घर परिवार विस्थापित भएका छन्। ताप्लेजुङ नगरपालिका– ७, कफी हाउसका १० परिवार पनि जोखिममा छन्। माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले यो स्थानका बासिन्दा त्यहाँ बस्नसक्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। फूलबारी गाविसको ३, २ र ६ नं. वडाबाट विस्थापति भएका ६ परिवारलाई सोदु सेन्दाङ सामुदायिक भवनको प्रांगणमा अस्थायी शिविर खडा गरी राखिएको छ।

कफी हाउस क्षेत्रका थप १० परिवार जोखिममा रहेकाले सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जिल्ला रेडक्रस सोसाइटीका सभापति गणेश अधिकारीले जानकारी दिए। विस्थापित भई सुरक्षित स्थानमा सरेकामध्ये साविकको दोखुु गाविसका विभिन्न स्थानका ४२ परिवारका १ सय ९४ जनालाई हिटी बजारस्थित मेची होराइजन इङ्लिस बोर्डिङ स्कुुलको प्रांगणमा तथा खोली पाखाका ७ र ल्याङवाका ५ परिवारका ४० जनालाई  ल्याङवाकै सुरक्षित स्थानमा अस्थायी शिविर खडा गरी राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए।

उनले असुरक्षित भएर घर छाडेका परिवारलाई तत्कालका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी र ताप्लेजुुङ उद्योग वाणिज्य संघलगायत संघ–संस्थाको समन्वयमा खानपिन र आवासको प्रबन्ध गरिएको जानकारी दिए। ‘जोखिममा परेका र विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्कालका लागि खानपिन प्रबन्ध भइसकेको छ,’ उनले भने।

उनले मौसममा पूर्ण सुधार नआएको र पानी पर्ने क्रम जारी रहेकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा सर्न तथा यथार्थ जानकारी विपद् व्यवस्थापन समितिलाई दिन आग्रह गरेका छन्।

पहिरोले मेची राजमार्गको खोक्से खोलादेखि हिटी आसपासको भागको अधिकतर खण्डमा पक्की सडक बगाएको र त्यहाँबाट तोक्मे क्षेत्रसम्मको सडकमा समेत असर गरेकाले यसको व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयलाई आग्रह गरिएको जानकारी दिए। गृह मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालयसमेतमा अवगत गराइसकेको उनले जानकारी दिएका छन्।  

प्रकाशित: १९ भाद्र २०७३ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App