१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँगाउँबाट योजना माग्दै स्थानीय तह

सिन्धुली – सिन्धुलीका स्थानीय तह योजना छनौटमा व्यस्त देखिएका छन्। जिल्लास्थित विभिन्न स्थानीय तहले प्राथमिकताका आधारमा बजेट तर्जुमा गर्नका लागि जुटेका हुन्। वडागत रुपमा आवश्यकता र प्राथमिकताका आधारमा योजना छनौट गर्ने काम भएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ। 

हामीले आवश्यकताका आधारमा योजना ल्याउनुस् भनेर वडा कार्यालयलाईनै भनेका छौ, कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले भने,‘प्राथमिकताका आधारमा छनौट गर्न भनेका छौ।’ उनले उज्यालो नगर बनाउने योजना अनुरुप विजुलीलाई विशेष प्राथमिकता दिएको बताए। यस्तै सडक तथा शिक्षा र कृषि पनि प्रमुख प्राथमिकतामा राखेर वडाबाट योजना माग्ने काम भइरहेको नगरपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७५ र ७६ का लागि स्थानीय तह बजेट तर्जुमा गर्न लागि परेका हुन्। 

जिल्लाको ९ वटै स्थानीय तहहरूले आ–आफ्नो ठाउँमा प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने तयारीमा लागेका हुन्।  स्थानीय तह अनुसार र भुगोल अनुसार योजनाका फरक फरक रहेकाले सोही अनुसार वडाबाट योजनाहरू माग्ने काम भइरहेको जनाएका छन्। विकट र ग्रामीण क्षेत्र मानिएका स्थानीय तहका वडाहरूले विशेष प्राथमिकता सडकलाई राखेका छन्। जनप्रतिनिधिका आफ्नै एक्स्काभेटर भएकाले सोही मेसिन चलाउने तथा आफ्नै व्यवसायका लागि भएपनि सडकलाई बढी बजेट जाने गरेको स्थानीयको आरोप छ।

नगरप्रमुख खत्रीले भने अहिले वडा, टोलबाट योजना छनोट भएर कमलामाई नगरपालिकामा आउने क्रम जारी जनाए। नगरभित्र शैक्षिक गुणस्तर सुधार, कृषिमा आधुनिकिरण गर्नु आवश्यक रहेपनि योजना छनोट भैरहेकाले नगरबासीको माग अनुसार प्राथमिकता निर्धारण गरिने उनको भनाई छ। यस्तै दुधौली नगरपालिका सुनकोसी गाउँपालिका मरिण गाउँपालिका तीनपाटन गाउँपालिका लगायतका स्थानीय तहले धमाधम वडाबाट योजना माग गरिरहेका छन्।

हामीले विशेष गरी वर्षेनी आउने समस्या कमलानदी नियन्त्रणलाई पहिलो प्राथमिकता राख्ने योजना बनाएका छौ, दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले भने,‘नगरबासीको माग अनुसार बजेट विनियोजन गर्ने भए पनि विशेष गरी कमला नदी नियन्त्रण पहिलो प्राथमिकता छ भने विद्युत, शिक्षा र कृषि क्रमश प्राथमिकतामा राखी बालमैत्री नगर बनाउनका लागि विभिन्न काम गर्नका लागि योजना माग भएको छ। 

यस्तै यहाँको सुनकोशी गाउँपालिकाकामा वडास्तरको योजना छनोटको काम भइरहेको छ।  स्थानीयको मागको साथै विशेष गरी शिक्षा, स्वस्थ्य, खानेपानी र सिचाई प्राथमिकतामा राखेर वडाबाटै योजना छनौट गर्न भनिएको गाउँपालिकाले जनाएको छ। यसवर्ष जिल्लाकै गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट रहेको तीनपाटन गाउँपालिकाले गाउँ÷गाउँबाट योजना छनौट गरिरहेको छ। सडक र विजुलीको सहज पहुँच पुर्याउनका लागि गाउँपालिकाले सोही अनुसारको योजना र स्थानीय प्राथमिकताको आधारमा योजनाको माग गर्ने काम भएको जनाएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७५ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App