७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सरकारसँग युद्धविराम गर्न तालिबान सहमत

तालिबान विद्रोही। तस्बिर : बिबिसी

काबुल – इदका लागि यसै महिनाको अन्त्यतिर अफगान सरकारको फौजसँग तीन दिने युद्धविराम गर्ने तालिबानले घोषणा गरेको छ।

अमेरिकी नेतृत्वको गठबन्धनले सन् २००१ मा सत्ताबाट बाहिर पु-याएदेखि तालिबान विद्रोही पहिलो पटक युद्धविराम गर्न सहमत भएको हो। तालिबानको यस्तो घोषणा अफगान सरकारले युद्धविराम गर्ने घोषणा गरेको केही दिनपछि भएको छ। इदको बिदाका बेला सरकारी फौजविरुद्ध कुनै पनि आक्रमण नगर्ने तालिबानले बताएको छ। यद्यपी विदेशी फौजविरुद्ध भने युद्धविराम लागू नहुने तालिबानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अफ्गानिस्तानको कान्दुज प्रान्तमा १९ जना अफगान प्रहरीको तालिबान लडाकुले हत्या गरेको केही घण्टापछि यस्तो घोषणा बाहिरिएको हो।

बिहीबार तालिबानसँग युद्धविराम गर्ने घोषणा गर्दा अफगान राष्ट्रपति असरफ घानीले युद्धविराम तालिबानलाई आफ्नो हिंसात्मक अभियान समीक्षा गर्ने एक अवसर भएको बताएका थिए। ‘यो युद्धविराम तालिबानलाई आफ्नो हिंसात्मक अभियानले जनताको मत नजितिरहेको बरु जनताले दुःख पाइरहेको भन्ने विषय बुझ्नका लागि अवसर हो,’ राष्ट्रपति घानीले बिहीबार सार्वजनिक गरेको अभिव्यक्ति उद्धृत गर्दै बिबिसीले जनाएको थियो।

सरकारले तालिबानसँग मात्रै युद्धविराम हुने तर इस्लामिक स्टेटजस्ता लडाकु समूहसँग भने युद्धविराम नहुने बताएको थियो। गत शनिबार धार्मिक नेताहरुको एक महत्वपूर्ण भेलाले विद्रोही हिंसालाई इस्लामविरोधी भन्दै फतवा जारी गरेको थियो। त्यतिखेर उक्त भेलालाई निशाना गर्दै इस्लामिक स्टेट (आइएस)ले आत्मघाती हमला गरेको थियो। राष्ट्रपति घानीले उनको सरकारले धार्मिक नेताहरुको भेलाको निर्णयलाई समर्थन गरेको बताएका थिए। सरकारले तालिबानसँग सर्तरहित युद्धविरामको घोषणा गर्न धार्मिक नेताहरुको भेला पनि महत्वपूर्ण भएको बताइएको छ।

अफगान सरकार र तालिबान दुवैले गरेको युद्धविरामको घोषणालाई वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयले स्वागत गरेको छ। अफगान सरकारले गर्ने जस्तोसुकै निर्णय आफू र अमेरिकी गठबन्धन दुवैले स्वागत गर्ने बताएको हो।

अफ्गानिस्तानमा रहेका विदेशी सेना हाल घटाएर १५ हजार पु-याइए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अफ्गानिस्तानमा थप हवाइ हमला गर्ने घोषणा गरेका छन्।

तालिबानी आक्रमणमा १९ प्रहरी मारिए
कुन्दुज, जेठ २६ ९एजेन्सी०– अफ्गानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान समूहले शनिबार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा १९ प्रहरीको मृत्यु भएको छ।

तालिबान लडाकुको आक्रमणलाई विफल पार्ने क्रममा भएको झडपमा ती प्रहरीको मृत्यु भएको अफगान अधिकारीले जनाएका छन्।

तालिबान विद्रोहीले मुसलमान धर्मावलम्बीको पर्व इदका अवसरमा तीन दिने युद्धविराम घोषणा गर्नु केही घण्टाअघि गरेको आक्रमणमा १९ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै केही घाइतेसमेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। घटनाको तालिबान समूहले जिम्मेवारी लिइसकेको छ। तालिबानी विद्रोहीले एक दिन पहिले पनि पश्चिमी प्रान्त हेरातमा आक्रमण गर्दा १७ सैनिकको मृत्यु भएको थियो। ‘शनिबार शिविरमा भएको आक्रमणमा १९ प्रहरीले शाहदत प्राप्त गरेका छन् भने कम्तीमा पाँच प्रहरी घाइते भएका छन् ,’ कुन्दुजका प्रान्तीय सरकार प्रमुख नेहमातुल्लाह तैमुरी दिएको जानकारीमा उद्धृत गर्दै एएफपीले जनाएको छ। प्रहरीका प्रान्तीय प्रवक्ता इन्हामुद्दिन रहमनीले प्रहरीतर्फको मृतक संख्या १९ भएको पुष्टि गर्दै घटनामा आठ तालिबान लडाकुको पनि मृत्यु भएको बताएका छन्।

तालिबान विद्रोही समूहले शनिबार गरेको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै मुसलमानको पवित्र पर्व रामादानको २७ औं दिनदेखि इद उल फित्रको पाँचौं दिन (यही जुन १२ देखि १९ सम्म) युद्धविराम लागु हुने घोषणा गरेको अफगान राष्ट्रपति असरफ घानीले ट्विटमार्फत जानकारी गराएका छन्।

प्रकाशित: २७ जेष्ठ २०७५ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App