८ वैशाख २०८१ शनिबार
अर्थ

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

धरान - मदिराजन्य उत्पादनमा अन्तःशुल्क बढाएको मौका छोपेर थोक व्यापारीले पुरानो स्टक सामान पनि धमाधम नयाँ मूल्यमा बेचेको पाइएको छ।

सरकारले बजेट ल्याउने पक्का भएपछि डिलर (अधिकृत बिक्रेता)बाट ठूलो परिणाममा सामान स्टक गरेका थोक व्यापारीले बजेटलगत्तै उत्पादक (उद्योग)ले नयाँ रेट पठाएपछि स्टक सामान नयाँ मूल्यमा खुद्रा बिक्री गरेको पाइएको हो।

सरकारले बजेट ल्याउने तयारी गरेपछि उद्योगले नै अधिकृत बिक्रेता हुँदै थोक बिक्रेतालाई बढी सामान स्टक गर्न सूचित गर्छन्। थोक बिक्रेताले ठूलो परिणाममा खरिद गरी सामान स्टक राख्छन्। बजेटमा करका दर बढे उद्योगीले नयाँ रेट कायम गर्छन्। थोक बिक्रेताले त्यही नयाँ रेटमा स्टक सामान खुद्रा व्यापारीलाई बेचेर बढी नाफा कमाउँछन्। होलसेल व्यापारीको यो कमाउ धन्दामा आन्तरिक राजस्व कार्यालयले पनि छुट दिने गरेको छ।

यसपटक सरकारले मदिराजन्य पदार्थमा अन्तःशुल्क उच्च दरले बढाएपछि थोक व्यापारीको कमाउ धन्दा सार्वजनिक भएको हो। अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा मदिराजन्य पदार्थलाई रक्सी र बियर गरी दुई स्तरमा विभाजन गरी अन्तःशुल्क बढाउने घोषणा गरेका थिए। मदिरा व्यवसायीका अनुसार रक्सीमा २० प्रतिशत र बियरमा ४० प्रतिशत अन्तःशुल्क बढाइएको छ। अहिले धरानका होलसेल व्यापारीले मदिराजन्य (विशेष बियर)को कृत्रिम अभाव खडा गरेर महँगो तिर्न तयार थोक बिक्रेतालाई बेच्ने गरेका छन्। कतिपय उद्योगले बजेटलगत्तै आफ्नो उत्पादनको नयाँ रेट सार्वजनिक गरेका कारण खुद्रा बिक्रेता पुरानो सामान नयाँ रेटमा किन्न बाध्य छन् । ‘बजेट आउनुअघि बजारमा सामान फालाफाल थियो। बजेटपछि पाउनै छाडियो,’ धरानका एक खुद्रा मदिरा व्यापारीले भने, ‘होलसेलरहरुले स्टक राखेर अभाव गराएका छन्, नयाँ रेटमा भएमात्र दिने भन्छन्।’

बजेट आगामी आर्थिक वर्ष ०७५/७६ को भएपनि मदिराजन्य पदार्थमा बजेट भाषणकै दिनदेखि घोषणा गरिएको अन्तःशुल्क लागू हुन्छ । यसको लागि सरकारले हरेक उद्योगमा राजस्वको एकाइ कार्यालय राखेको हुन्छ । बजेटलगत्तैदेखि उद्योगबाट निकासी हुने उत्पादनमा बढेको दरमा अन्तःशुल्क स्टिकर लगाइन्छ । त्यसैले उद्योगले बजेट लागू हुने साउन १ गते नपर्खी बजेटलगत्तै नयाँ रेट कायम गर्छन्। खुद्रा व्यापारीले ठूलो परिणाममा सामान स्टक राख्न नसक्दा होलसेलरकै भर पर्नुपर्छ। होलसेलरले भने उद्योगले तोकेको नयाँ रेटमा पुरानो स्टक बिक्री गरेर अत्यधिक नाफा कमाउँछन्। ‘अस्तिको बजेट भाषणपछि भाउ बढ्छ भन्ने हल्ला थियो । कम्पनीले नयाँ रेट पठायो, पुरानो दरमा सामान लिन खोजेको कहीँ पाइएन,’ खुद्रा व्यापारी मनिता गुरुङले भनिन्, ‘अहिले बियरको भाउ यति बढेर आएको छ कि ग्राहक पनि अचम्म मान्छन्।’

मदिराका डिलर मनोज श्रेष्ठका अनुसार हरेक वर्ष बजेट भाषणको बेला यस्तै हुने गरे पनि यसपालि अन्तःशुल्क अत्याधिक बढाएका कारण समस्या भएको बताउँछन्। होलसेलरहरुले स्टक राख्ने र नयाँ रेटमा बिल काटेर बिक्री गर्ने चलन विगतदेखिकै भएको उनले बताए। ‘यो पहिल्यैदेखि चलेको ट्रेन्ड हो । बजेटपछि भाउ बढ्छ । तर योपटक असाध्यै बढ्यो,’ उनले भने, ‘पुरानो सामान जुन रेटमा किनेको हो, त्यसैमा बेच्दा हुने हो । तर, राजस्व कार्यालयले पनि बजेटपछि पुरानो मूल्यमा बेच्दा कारबाही गर्ने भएकोले नयाँ रेटमा नै होलसेलरले बेच्नुपर्छ । यसले गर्दा उसलाई बढी नाफा हुनु त स्वभाविकै देखिन्छ।’

मदिरा व्यवसायी संघ, धरानका अध्यक्ष नविन तामाङका अनुसार बजेट आएपछि पनि पुरानो सामान दसैं, तिहारमा मात्र सकिन्छ । नयाँ रेटमा बिलिङ नगरे राजस्व छलेको भनेर कारबाही हुने भएकोले कम्पनीको नयाँ रेटमै पुरानो सामान बेच्नुपर्ने बाध्यता भएको उनको दाबी छ। सरकारले अत्यधिक अन्तःशुल्क बढाएकाले भाउ महँगिदा बजारमा समस्या भएको उनले बताए। ‘हिजो २७ सय पर्ने रक्सी अहिले ५२ सय पर्छ। सरकारले बढाएको अन्तःशुल्क जोडेर उद्योगले पनि थप मुनाफा जोड्दा भाउ आकास पुगेको छ,’ उनले भने, ‘उपभोक्ताकोमा पुग्दा दर उच्च हुन्छ।’ संघका अनुसार धरानमा मासिक २५ हजार कार्टुन बियर, २५ सय कार्टुन वाइन, २५ युपीको रक्सी १५ सय कार्टुन, ४० युपीको १२ सय र ५० युपीको करिब नौ हजार कार्टुन खपत हुने गरेको छ। बजेटअघि भ्याटसहित दुई हजार तीन सय ४४ रुपैयाँमा पाइने एक कार्टुन गोर्खा स्ट्रंग बियर अहिले खुद्रा व्यापारीलाई नै दुई हजार आठ सय १९ पर्छ । उपभोक्तालाई तीन हजार हाराहारी पर्छ।

आन्तरिक राजस्व कार्यालय धरानका एक अधिकृतले नाम नखुलाउन आग्रह गर्दै पुरानो स्टक सामान नयाँ मूल्यमा बिक्री गर्दा धेरै मुनाफा हुने भएपनि उसले राज्यलाई बुझाउने कर तिरेर मुनाफा कमाउन पाउने दाबी गरे। नयाँ सामान पनि पुरानो स्टक देखाउँदै राजस्व छली गर्न सक्ने भएकोले बजेटलगत्तै मदिराजन्य पदार्थमा नयाँ दररेटमा नै कारोबार हुनुपर्ने उनको भनाइ थियो । ‘व्यापारीले नाफा कमाउन कै लागि लगानी गरेको हुन्छ। पुरानो स्टक भन्दै कम मूल्यमा बिलिङ गरेर सामान बेच्दा राजस्व छली हुन्छ भनेर बजेटपछि बढेकै मूल्यमा बिलिङ गराउनुपर्छ । त्यसो गर्दा पुरानो स्टक सामान भए धेरै नाफा त अवश्य हुन्छ,’ ती अधिकृतले भने।

अवैध घरेलु रक्सी फस्टाउने
सरकारले मदिरालाई निरुत्साहित गर्ने उद्देश्यले बजेटमा अन्तःशुल्कमा अत्यधिक वृद्धि गर्दा उद्योगहरुले उत्पादन गर्ने मदिराजन्य पदार्थको भाउ ह्वात्तै बढेको छ। मदिरा व्यवसाय अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्था भएपछि मदिरा व्यापार डामाडोल होला कि भन्ने चिन्ता व्यवसायीमा छाएको छ।

खासगरी अत्यधिक मूल्यवृद्धि हुँदा औद्योगिक उत्पादन छोडेर मदिराका सौखिनहरु गुणस्तरहीन घरेलु मदिरातर्फ आकर्षित हुने भन्दै चिन्तित छन् ।

‘सरकारले मदिरा नियन्त्रण गर्न यस्तो कदम चालेको होला तर यसले अवैध घरेलु रक्सीलाई बढावा दिन्छ,’ जिरो पोइन्टस्थित मदिरा व्यावसायी लक्ष्मण श्रेष्ठ भन्छन्, ‘न्यून आय भएकाले उद्योगले उत्पादन गरेको खान सक्दैन र भट्टीमा गएर गुणस्तरहीन, विषाक्त अवैध रक्सी नै खान्छ । यसले त राजस्व पनि गुम्छ।’

प्रकाशित: २७ जेष्ठ २०७५ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App