८ वैशाख २०८१ शनिबार
समाज

स्थानीयको चर्काे विरोधपछि रोकियो रूख कटान

सर्लाहीको जानकीनगर साझेदारी वनमा भइरहेको कटानको निरीक्षण गर्दै टोली। तस्बीर : टंक क्षेत्री/नागरिक

सर्लाही - जिल्लास्थित जानकीनगर साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि भन्दै भइरहेको रूख कटान तत्काललाई रोकिएको छ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका रूखहरू सर्पट कटान गरेर वन क्षेत्र उजाड बनाउन लागिएको भन्दै स्थानीय बासिन्दाले चर्को विरोध गरेपछि तत्काललाई कटान रोकिएको हो।

स्थानीय बासिन्दाबाट चर्काे विरोध भएपछि शनिबार बिहान प्रदेश सांसद, मेयरलगायत जनप्रतिनिधि एवं सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)का केन्द्रीय पदाधिकारी, सञ्चारकर्मीलगायत संलग्न टोलीले कटान क्षेत्रको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा वन क्षेत्रमै रहेका जिल्ला वन अधिकृत नरेश ठाकुरसँग रूख कटानबारे प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती लगायतले जानकारी लिएका थिए।

स्थानीय बासिन्दा एवं नगर प्रमुख सहितका जनप्रतिनिधिबाट रूख कटानको चर्काे विरोध भइरहेकाले कटान प्रक्रियाबारे बृहद् कार्यक्रम राखेर जिल्ला वन कार्यालयले स्थानीय बासिन्दालाई बुझाएपछि मात्र कटान अगाडि बढाउने सहमति भएको हो।

त्यस क्रममा स्थानीय बासिन्दा एवं नगर प्रमुख सहितका जनप्रतिनिधिबाट रूख कटानको चर्काे विरोध भइरहेकाले कटान प्रक्रियाबारे बृहद् कार्यक्रम राखेर जिल्ला वन कार्यालयले स्थानीय बासिन्दालाई बुझाएपछि मात्र कटान अगाडि बढाउने सहमति भएको हो।

‘पहिला स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई वैज्ञानिक वन व्यवस्थापनबारे बुझाउनोस्’, प्रदेश सांसद् उप्रेतीले जिल्ला वन अधिृकत ठाकुरलाई भने, ‘अनि मात्र रूख कटान अगाडि बढाउनोस्।’

जिल्ला वन अधिकृत ठाकुरले यसमा सहमति जनाउँदै स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई विस्तृतमा बुझाउने गरी कार्यक्रम गरेपछि मात्र कटान अगाडि बढाउने बताएका छन्। ‘अब पहिला नै काटिसकिएका रूख सुरक्षित घाटगद्दी गरिनेछ,’ उनले भने, ‘अब नयाँ रूख काटिँदैन।’

निरीक्षण टोलीमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन मन्सुर, फेकोफनका केन्द्रीय महासचिव भारती पाठकसहित सचिवालय सदस्यहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो।

जानकीनगर साझेदारी वन उपभोक्ता समूह मूल व्यवस्थापन समितिका संयोजक रामविश्वास यादवले समूहको कार्ययोजनाअनुसार सम्बन्धित निकायको स्वीकृतीमा कटान सुरु गरिएको दाबी गरे। साझेदारी वनको १ हजार २ सय ९४ दशमलव २७ हेक्टर क्षेत्रफलअन्तर्गत छुट्टयाइएका चार भागमध्ये हरेक भागमा चार÷चार हेक्टरका दरले वैज्ञानिक वन व्यवस्थापनका लागि कटान सुरु गरिएको जिल्ला वन कार्यालयले जनाएको छ। ‘हरेक वर्ष प्रत्येक भागबाट चार÷चार ४ हेक्टका दरले व्यवस्थापन गर्दै जानेछौं,’ जिल्ला वन अधिकृत ठाकुरको भनाइ छ, ‘८० वर्षसम्म यो प्रक्रिया जारी रहन्छ र ८१ औं वर्षमा यसपटक कटान भएका १६ हेक्टरमा सालका राम्रा रूख तयार हुनेछन्।’

भारतीय सीमा क्षेत्रसम्मको भूभाग समेट्ने गरी तीन गाउँपालिका तथा छ नगरपालिकाका ४९ हजार ७ सय ४३ घरधुरी उपभोक्ता रहेका जानकीनगर साझेदारी वनको कार्ययोजना २०७४ मंसिर २८ गते स्वीकृत भएको थियो।

प्रकाशित: २७ जेष्ठ २०७५ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App