६ वैशाख २०८१ बिहीबार
राजनीति

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्ट पार्टीका नेताहरूको क्रियाकलाप सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको बताएका छन्। प्राध्यापक पिताम्बर शर्मा दाहालद्वारा लिखित ‘मेरो रिमरिमे सम्झना’ को शनिबार राजधानीमा विमोचन गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनपछि सत्तामा पुगेका कम्युनिस्ट नेताहरूमा देखिएको असीमित महत्वाकांक्षा र भोगको आशक्तिले मुलुकमा नयाँ संकट आउने संकेत देखिएको दाबी गरेका हुन्।

कम्युनिस्टका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भयो भन्ने अवस्था नरहेको दाबी गर्दै पौडेलले भने, ‘दायाँ र बायाँ दुवैतिरबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ। यो सुरक्षित छ भनेर ढुक्क हुने अवस्था छैन।’ संविधानसभाबाट जारी संविधान कार्यान्वयन गर्नुको साटो सरकार शासकीय स्वरूप परिवर्तनको विषय उठाएर मुलुकलाई अस्थिरतामा धकेल्न लागिपरेको आरोप पौडेलले लगाए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने धोको पूरा गर्न फेरि ७० वर्षपछि टुंगो लागेको शासन व्यवस्था परिवर्तनको कुरा गरेर अस्थिरता निम्त्याउन खोजेको पौडेलको आरोप थियो। ‘व्यक्तिको महTत्वाकांक्षाले मुलुकमा नयाँ संकट निम्त्याउन सक्छ,’ पौडेलले भने, ‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार दुईतिहाइ जुटाउन लाग्नु बाघ कराउनु र बाख्रा हराउनु एकैपटक भएको छ। त्यसले मुलुकको हित गर्दैन।’ फेरि कार्यकारी राष्ट्रपतिको कुरा गरेर नेपाललाई प्रयोगको थलो नबनाउन आग्रह गर्दै पौडेलले भने, ‘संसदीय शासन प्रणाली नै सबैभन्दा सन्तुलित व्यवस्था हो।’

शासकीय स्वरूप परिर्वतनको कुरा गरेर मुलुकलाई अस्थिरतामा धकेल्ने पक्षमा कांग्रेस नरहेको बताउँदै पौडेलले संविधान कार्यान्वयनमा इमानदार भएर लाग्न सबैलाई आग्रह गरे। ‘अब संविधानमाथि प्रश्न उठाउने होइन कार्यान्वयनमा लाग्नुपर्छ,’ उनले भने, ‘अहिलेकै व्यवस्थाले नेपालको प्रगति, विकास, सुरक्षा र एकता सम्भव छ।’

बिपी कोइरालाको विचार र सिद्धान्तअनुसार नै कांगे्रस अघि बढेको दाबी गर्दै पौडेलले भने, ‘२००७ सालमै बिपीले संविधानसभाबाट संविधान लेख्ने सपना देख्नुभएको थियो। त्यो सपना हाम्रो पुस्ताले पूरा गरेको छ।’

कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि संविधान कार्यान्वयनको एउटा चक्र पूरा नहुँदै नेपाल कम्युनिस्ट पार्टीका नेताहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरे मुलुकलाई अस्थिरतातिर धकेल्न खोजेको आरोप लगाए। ‘जनताको बहुदलीय जनवादमा बहुदल हराएर लेनिनको जनवादी शासन व्यवस्ताप्रति उन्मुख हुने र अर्को संविधान कार्यान्वयनको एक चक्कर पूरा नहुँदै कार्यकारी राष्ट्रपतिको कुराले प्रजातन्त्रको नकावमा तानाशाही व्यवस्थातिर उन्मुख हुने त होइन भन्ने आशंका देखिएको छ,’ उनले भने।

कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले मुलुकले शाक्तिशाली नेता र शासक भन्दा जनताप्रति उत्तरदायि शासक खोजेको बताए।

पद्य तथा गद्य शैलीमा लेखिएको सो पुस्तकमा दाहालको आत्मकथा तथा २०१७ शालमा तत्कालीन राजा महेन्द्रले शासन हातमा लिएपछि नेपाली कांग्रेसले भोग्नुपरेको कष्टलाई सरल भाषामा लेखिएको प्राध्यापक मोहन तिमिल्सिनाले बताए। पुस्तकले सिंगो नेपालको इतिहाससँगै नेपाली कांग्रेसको इतिहास समेटेको तिमिल्सिनाले बताए। पुस्तकमा दाहालले ओखलढुंगादेखि काठमाडौंसम्मको यात्रामा भोगेका आरोहअवरोहलाई समेटेको उनले बताए।

कार्यक्रममा दाहालका बाबु आमाको नामबाट स्थापित भानुभक्त अयोध्यादेवी पुरस्कारबाट गायिका उमा गुरुङ तथा साहित्यकार दिल्लीप्रसाद मुल्तिउनलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्वमन्त्री अच्युतराज रेग्मी, पूर्वमन्त्री होमनाथ दाहाल, नेवि संघका संस्थापक देवेन्द्र नेपाली, गितकार यादव खरेल, साहित्यकार हेमराज ज्ञवाली, प्राध्यापक तिमिल्सिनालगायत उपस्थिति थियो।

प्रकाशित: २७ जेष्ठ २०७५ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App