coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एमकेका साझेदार खोज्दै प्रहरी

काठमाडौं - सुन तस्करीको मुख्य लगानीकर्ताको आरोपमा मुद्दा खेपिरहेका मोहनकुमार अग्रवाल (एमके) को घरमा छापा मारेलगत्तै उनका व्यापारिक साझेदारको खोजी सुरु भएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन टोलीले उनको घरबाट शुक्रबार बरामद गरेको विभिन्न कागजातका आधारमा व्यापारिक साझेदारको खोजी सुरु भएको हो। अग्रवालको घरमा छापा मार्दा भटिएका महत्वपूर्ण विवरणले तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको छानबिन टोलीका एक सदस्यले बताएका छन्।

‘कम्प्युटर र कागजपत्र बरामद भएको छ, जसबाट तस्करीका अन्य व्यक्तिहरुको संलग्नताका विषयमा अनुसन्धान गर्ने बाटो खुलेको छ’, टोलीका एक सदस्यले भने। उनको घरबाट ३० लाख रुपैयाँभन्दा बढी नगद, केही थान सुनका बिस्कुट बोक्ने ज्याकेट, सुनका गहना र एउटा गाडी बरामद भएको थियो। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित टोलीका अनुसार ३८ सय केजी सुन तस्करीमा अग्रवाल मुख्य लगानीकर्ता हुन्। सरकारले अनुसन्धान टोली गठन गरेलगत्तै उनी फरार भएका थिए । उनको घरमा दुई महिनादेखि ताला लागेको थियो। घरमा तीन महिनायता प्रहरीले निगरानी गर्दै आएको थियो । स्रोतका अनुसार उनका व्यापारिक साझेदारमा केही उच्च कर्मचारीका आफन्तसमेत रहेको भन्दै अनुसन्धान सुरु भएको छ।

छानबिन टोलीका अनुसार विमानस्थलबाट तस्करी हुने सुनमा सबैभन्दा बढी लगानी अग्रवालकै हुने गरेको थियो भने २०७० सालमा बरामद भएको ३५ किलो सुनमा पनि उनको लगानी देखिएको थियो । उनका साझेदार कोको थिए भन्ने जानकारस् उनको बैंकिङ कारोबार र कम्प्युटरमा रहेका विवरणबाट खुल्न सक्ने अनुसन्धान टोलीको विश्वास छ।

स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमै केही नयाँ व्यक्तिहरुको संलग्नता खुलिसकेको छ। ३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान टोलीले अग्रवाल, भुजुङ गुरुङ र छिरिङ वाङ्गेल घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरिसकेको छ। अग्रवाल, गुरुङ र घले तस्करीको सुनमा लगानी गर्ने प्रमुख व्यक्ति रहेको टोलीको निष्कर्ष छ। अग्रवालको २०६९ सालदेखि भारतीय सुन व्यापारीसँग सहकार्य र सम्पर्क रहँदै आएको अनुसन्धान टोलीले जनाएको छ। उनीहरुकै योजनामा नेपाल आएको सुन यहाँबाट रोशन अग्रवाल तथा सलमान भनिने भारतीय सुन व्यापारी र उनका सहयोगीले भारततर्फ लैजाने गरेका थिए । दुबईमा सलिम भनिने पाकिस्तानी र हरि भनिने हरिशरण खड्काले बिक्री गरेको सुनमा अग्रवाल, गुरुङ र घले तथा अन्य दुई भारतीय व्यापारीको संयुक्त लगानी रहने गरेको अनुसन्धान टोलीको दाबी छ।

खड्का गत वर्ष पुस २१ गत सिआइबीले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणका मुख्य आरोपित हुन्। अग्रवालको घरबाट ठूलो परिमाणमा चाँदीका ढिक्का, सिक्का, बिस्कुट बरामद भएको छ। बरामद चाँदीको एउटै ढिक्का डेढ केजीसम्मको रहेको टोलीले जनाएको छ। टोलीले छिमेकीलाई समेत राखेर घरबाट बरामद भएको सामानको मुचुल्का गरेको थियो।

पक्राउ नपरेपछि घरमा छापा
केही समयअघिसम्म एमके अग्रवालकी पत्नी अनुसन्धान टोलीको सम्पर्कमा थिइन। उनले पति बिरामी भएकाले भारतमा उपचार गराइहरकाले निको भएपछि टोलीसमक्ष हाजिर हुने आश्वासन दिएकी थिइन। तर अग्रवालकी पत्नी पनि सम्पर्कविहीन भएपछि अनुसन्धान टोलीका सदस्यहरु उनलाई खोज्न भारत पुगेको थियो। अग्रवालले उपचार गराइरहेको भनिएको अस्पतालमा नभेटिएपछि केही दिन भारत बसेर अनुसन्धान टोलीका सदस्य नेपाल फिर्ता भएका थिए। अनुसन्धान टोलीको म्याद यही जेठ मसान्तसम्म भएकाले पनि उनी पक्राउ पर्ने अवस्था कमजोर देखिएपछि घरमा छापा मारिएको हो। अबको केही दिनमा अनुसन्धान टोलीले प्रतिवेदन बुझाउनुपर्ने भएकाले पनि घरबाट बरामद सामग्रीहरुलाई समेटेर उनलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइने स्रोतले जनाएको छ।

केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले अनुसन्धान नसकिए अनुसन्धान टोलीको म्याद थप्न सकिने संकेत गरेका छन्। तर गृहमन्त्रीले भनेअनुसार म्याद थप्न कठिन भएकाले अग्रवालको घरमा छापा मारिएको स्रोतले जनाएको छ। सुनसरी जिल्ला धरान नगरपालिका वडा नं.३ स्थायी घर भएका अग्रवाल काठमाडौं कालिकास्थाननजिक सिल्भरसिटीमा बस्दै आएका थिए । समिति स्रोतका अनुसार गुरुङले नै एमके, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको सुन दिँदै आएका थिए।

२०६९ सालपछि चूडामणि उप्रेती ‘गोरे’, छिरिङ वांगेल घले, एमकेको छुट्टै समूह बनेको थियो। सो समूहमा गोपालकुमार श्रेष्ठ, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका मालिक राजेन्द्र शाक्य पनि सुन तस्करीमा संलग्न भएका थिए। सुन तस्करीका लागि एमके अग्रवालले भारतीय व्यापारीको सम्पर्कमा नेपाली रकमको व्यवस्था गर्ने, सो रकम बैंकक र दुबईमा हुन्डीमार्फत पठाउने तथा संकलन गर्न लगाउँदै आएका थिए।

प्रकाशित: २७ जेष्ठ २०७५ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App