८ वैशाख २०८१ शनिबार
राजनीति

‘दाहाल पाँच वर्षभित्र कार्यकारी राष्ट्रपति’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आगामी ५ वर्षभित्र देशको कार्यकारी राष्ट्रपति बन्ने भएका छन्। दाहालले केही दिनअघि पोखरा पुगेर प्रत्यक्ष निर्वाचित कार्यकारी लागु गर्ने विषयमा आफ्नो धारणा राखेका थिए। उनले दलहरुबीच सहमति भइसकेको र निकट भविष्यमा संविधान संशोधन गरेर यसलाई लागु गरिने बताएका थिए। यो भनाईले नेपाली राजनीतिमा तरंग नै ल्याएका बेला शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेकपाका नेता देवेन्द्र पौडेलले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष दाहाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा गरेका छन्। नेकपाका स्थायी समिति सदस्य पौडेल दाहालनिकट नेता हुन्।

दाहाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्न तयार भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि यो प्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रुपमा उहाँ नै सशक्त उम्मेद्धवार हो।’

नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा आफूहरुले संविधान बनाउँदा नै फरक मत राखेको स्मरण गराउँदै भने, ‘यो विषय मरिसकेको छैन, संविधान जारी गर्दै गर्दापनि यो विषयमा हाम्रो पार्टीले फरक मत राखेको हो, लोकतन्त्रमा छलफल नै गर्न नहुने भन्ने हुँदैन, अहिले यो विषयबारे चर्चा भएको छ, तर हाम्रो पार्टी नेकपाभित्र यसले कुनै आकार लिएको छैन्।’ 

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आगामी पाँच वर्षसम्मको लागि भएको उल्लेख गर्दै भने, ‘एकता हुँदाखेरी नै हामीबीच सरकार आलोपालो चलाउने सहमति भएको हो, ओलीले अढाई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी प्रचण्डले चलाउने, यही पाँच वर्षको अवधिभित्रै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था लागु भए प्रचण्ड राष्ट्रपति बन्नुहुन्छ।’

‘सभामुख र उपसभामुखबारे निकास खोज्दैछौं’

नेता पौडेलले पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेको भन्दै संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारे। ‘यो विषयमा कानूनविद्हरुसँग छलफल गर्छौं, नयाँ परिस्थिति अनुसार प्रतिपक्षसँगपनि छलफल नयाँ सहमतिका साथ अघि बढ्छौं’, उनले भने।

नेता पौडेलले अभियोग लाग्दैमा कोही पनि अपराधी नहुने तर्क गर्दै सहमतिका साथ पारित भएको प्रतिनिधिसभा सञ्चालन नियामावलीले राजनीतिक संस्कारको विकास गरेको स्पष्ट पारे। जनताका प्रतिनिधिले भोलि गलत गरे भने छुट दिने भन्ने कुरा नहुने उनको तर्क छ। 

प्रकाशित: २६ जेष्ठ २०७५ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App