coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बढ्दो जर्सी मोह

विश्व फुटबलको महाकुम्भ विश्वकप सुरु हुन केही दिनमात्रै बाँकी छ । विश्वकप नजिकिँदै गर्दा त्यसको रौनक पनि बढेको छ । करिब एक महिना संसारका ३२ देशका राष्ट्रिय टोली मैदानमा हुनेछन् ।

विश्वकप अवधिभर सिंगो विश्वको नजर उत्साहका साथ त्यही अल्झिरहने छ । २१ औं संस्करणको विश्वकप आगामी बिहीबार नेपाली समय अनुसार ८ः४५ मा रुसको राजधानी मस्कोस्थित लुजेनिस्की रंगशालामा सुरु हुनेछ । उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दैछ।

असार ३१ सम्म चल्ने विश्व फुटबलको महाकुम्भमा नेपाल भौतिकरूपमा सहभागी नभए पनि मानसिक रूपले भने यसको रौनकबाट टाढा रहने छैन ।कुनै बेला रेडियोमा कमेन्ट्री सुनेकै भरमा विश्वप्रशिद्ध फुटबल खेलाडीहरूको नाम चिनेका धेरै नेपालीले सन् १९८० को दशकदेखि टेलिभिजनको सिधा प्रसारणबाट खेल हेर्न पाए । त्यसपछि नेपालमा फुटबल क्रेज बढ्यो । विश्वकपको पूर्वसन्ध्यामा फुटबल जर्सी राजधानीको ‘हट फेसन’ बनेको छ।

आफूलाई मनपर्ने टिमको समर्थनमा रंगीविरंगी जर्सी लगाएका फुटबलप्रेमी बजारमा भेटिन्छन् । यस्तो प्रतीत हुन्छ– मानौ सिंगो राजधानीको सडक फुटबल मैदानमा परिणत भएको छ । र, प्रतिष्पर्धी ३२ देशकै खेलाडी राजधानीमा घुमिरहेका छन्।केही दिनयता कुमारीपाटीस्थित आरजे स्पोटर्समा जर्सी किन्न आउने ग्राहकको भीड लाग्ने गरेको छ । ग्राहकको चापले पसल सञ्चालक रमेश रूपाखेतीलाई भ्याइनभ्याइ छ । ‘यो सिजनल व्यापार हो,’ उनले भने, ‘विश्वकपको आगमनसँगै जर्सी मोह ह्वात्तै बढ्छ ।’ उनले जर्सीको कारोवार गर्न थालेको वर्षाै भइसक्यो । उनका अनुसार पछिल्लो एक महिनामा नेपालमा विभिन्न देशका पाँच लाखभन्दा बढी जर्सी व्यापार भइसकेको छ । चार वर्षअघिको तुलनामा यो दोब्बर बढी हो।

कुनै बेला रेडियोमा कमेन्ट्री सुनेकै भरमा विश्वप्रशिद्ध फुटबल खेलाडीहरूको नाम चिनेका धेरै नेपालीले सन् १९८० को दशकदेखि टेलिभिजनको सिधा प्रसारणबाट खेल हेर्न पाए ।

खेलकुद सामग्री तथा पोशाकका पसल धेरै खुलेकाले र अनलाइनबाट पनि जर्सीको कारोवार भएकाले यसपटक तीव्र प्रतिष्पर्धा भएको उनले बताए । ‘यसअघि कमै मात्र खेलकुद पोसाक पसलहरू थिए,’ रूपाखेतीले भने, ‘त्यसैले व्यापार राम्र्रै हुन्थ्यो । तर, यसपटक जर्सी बिक्री गर्न तीव्र प्रतिस्पर्धा छ । फ्येयर प्रतिस्पर्धा हुनु राम्रो पक्ष हो । मेरो पसलमा ग्राहकहरू आइरहेकै छन् ।’रूपाखेतीका अनुसार विश्वकपको पूर्वसन्ध्यासम्म १५ करोड रूपैयाँभन्दा बढीको जर्सी कारोबार भइसकेको छ । उनले आफूले न्युनतम सात सय ५० रूपैयाँदेखि एक हजार दुई सय ५० रूपैयाँसम्मको जर्सी बिक्री गर्ने गरेको बताए । उनका अनुसार ९० प्रतिशत चीन र १० प्रतिशत थाइल्यान्डबाट जर्सी आयात हुने गरेको छ।

उनका अनुसार अघिल्लो विश्वकपसम्म जर्सी किन्ने र लगाउने पुरुष मात्र हुन्थे । यसपालि महिला र बालबालिका पनि उत्तिकै छन् । पूरै परिवारले एउटै टिमको जर्सी किन्ने चलन बढेको रूपाखेती बताउँछन् । ‘पहिले बालबालिकाको जर्सी कमै बिक्री हुन्थ्यो,’ उनले भने, ‘यसपटक बालबालिकाको जर्सीको पनि सन्तोषजनक बिक्री भइरहेको छ ।’जस्मिन फिटनेसको सञ्चालक निरोज लामा चार वर्षीया छोरीलाई जर्सी किन्न आरजे स्पोटर्समा पुगेका थिए । ‘छोरीले कर गरेर जर्सी किन्न आएको हुँ,’ उनले भने । उनले छोरीलाई ब्राजिलको जर्सी किनेको बताए ।

जर्सी कारोबार बढ्नुको कारण फुटबल क्रेज मात्रै होइन । यसमा सामाजिक सञ्जालले भूमिका खेलेको छ । ‘आधाभन्दा बढीले त फेसबुक र इन्स्ट्राग्राममा पोस्ट गर्न जर्सी किनेका छन्,’ धुम्बाराहीस्थित इलाइट स्पोटर्स पसलकी संचालिका रविना शाक्य भन्छिन् ।
बिहीबार उनको पसलमा केही युवायुवती आफूलाई मनपर्ने देशका जर्सी छान्दै थिए । कोही जर्सी लगाएर सेल्फी खिँच्दै थिए त कोही ऐना हेर्दै । ती युवाहरू अर्जेन्टिना, ब्राजिल, बेल्जियम, इङ्ल्यान्ड र फ्रान्सको जर्सी रोज्दै थिए । ‘लियोनल मेसी मेरो मनपर्ने खेलाडी हुन्,’ इलाइट स्पोर्टसमा जर्सी रोज्दै गरेकी एक युवतीले भनिन्, ‘त्यसैले अर्जेन्टिनाको जर्सी रोजेकी हुँ।’

जर्सी मोह बढ्नुको अर्काे कारण हो– अनलाइनबाट सहज उपलब्ध हुनु । विभिन्न अनलाइन सपले जर्सी अर्डर गर्नेलाई होम डेलिभरीको सुविधा दिइरहेका छन् ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २ सय ११ राष्ट्रमध्ये ६ महादेशका २ सय १० देश सहभागी छनोट चरणबाट छानिएका उत्कृष्ट ३२ टोली उपाधिका लागि रुसमा प्रतिस्पर्धा गर्दैछन् ।

सन् १९७२ मा फिफाको औपचारिक सदस्यता लिएको नेपालले पनि रुस विश्वकपको छनोटमा भाग लिएको थियो । सन् १९८६ यताका ८ संस्करणमध्ये सन् १९९४ र सन् २००६ बाहेक सबै विश्वकपको छनोटमा सहभागी नेपालको छनोट पहिलो चरणमा सकिएको थियो । छनोटको पहिलो लेगमा भारतलाई २–० नतिजा सुम्पिएको नेपालले दोस्रो लेग गोलरहित बराबरी खेले पनि समग्रमा २–० ले पराजित हुँदै छनोट चरणबाटै बाहिरिएको थियो।

ब्राजिल भर्सेस अर्जेन्टिना
नेपालीले सन् १९८० दशकदेखि विश्वकप फुटबल हेर्न थालेका हुन् । त्यसमा पनि धेरैले पहिलो चोटी हेरेको विश्वकप सन् १९८६ को हो, जुन वर्ष अर्जेन्टिना विश्व विजेता बनेको थियो । त्यसको चार वर्षपछि सन् १९९० मा आएर नेपाल टेलिभिजनले नै विश्वकपका केही खेलहरू प्रत्यक्ष प्रसारण गर्याे । आजको युवा पुस्ताको ठूलो हिस्साले पहिलोचोटि विश्वकप खेलको सिधा प्रसारण हेरेको त्यही वर्ष हो । नेपालीको फुटबल क्रेज त्यही इतिहाससँग जोडिएको छ।

जतिबेला नेपालमा सर्वसाधारणले टेलिभिजनसम्म पहुँच पाए, विश्व फुटबल मञ्चमा ब्राजिल र अर्जेन्टिनाको दबदबा थियो । अर्जेन्टिनामा म्याराडोनाले आफ्नो ड्रिब्लिङ कौशल र सही ठाउँमा सही ढंगले पास दिने कलाका कारण फुटबलका ‘जादुगर’को उपमा पाएका थिए । उनको यही कौशलले अर्जेन्टिनालाई सन् १९८६ को उपाधि दिलाएको थियो । त्यही वर्ष म्याराडोनाले हातले गोल गरेको क्षण आज पनि चर्चाको विषय बन्छ । उता ब्राजिलका पेलेलाई त संसारले नै फुटबलका ‘भगवान’को दर्जा दिइरहेकै छ।

सन् १९८६ को नतिजा सुनेर वा देखेर अर्जेन्टिनाबाट प्रभावित बनेका नेपाली खेलप्रेमीका लागि सन् १९९० को नतिजाले भने नराम्रो झट्का दियो । त्यो वर्ष पहिलो खेलमै क्यामरुनसँग पराजित अर्जेन्टिनाले फाइनल फेरि जर्मनीलाई नतिजा सुम्पियो ।यसले एकाएक ब्राजिल र अर्जेन्टिना सँगसँगै जर्मनीको मोह ह्वात्तै बढ्यो । यी तीन टिमप्रतिको मोहले आजसम्म निरन्तरता पाउँदै आएको छ।

रूपाखेतीका अनुसार विगतको विश्वकपमा अर्जेन्टिना र ब्राजिलको जर्सी किन्नेको संख्या बढी भए पनि यसपटक भने विश्व विजेता जर्मनीको जर्सी किन्नेको संख्या ह्वात्तै बढेको बताए । त्यसपछि दोस्रो नम्बरमा ब्राजिल छ । नेपाली समर्थकको नजरमा अर्जेन्टिना यसपाली तेस्रो नम्बरमा छ । त्यस्तै, इङल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र बेल्जियमका समर्थक पनि उल्लेख्य संख्यामा छन् । चौथो बढी जर्सी बिक्ने इङल्यान्ड छ ।‘लिभरपुलका स्ट्राइकर मोहम्मद सालाह भएकाले होला, यसपटक इजिप्टको जर्सी किन्न आउने ग्राहकको संख्या समेत बढेको छ,’ रूपाखेतीले भने, ‘आयोजक रुसको जर्सी खोज्ने समर्थकको पनि कमी छैन ।

तर, नेपालमा यी दुवै देशका जर्सी उपलब्ध छैन ।’विश्वकप हेरेरमात्र टिम छान्ने चलन पनि फेरिएको छ । खेलाडी विशेषका कारण टिम छान्नेहरू बढेका छन् । अहिले नेपालमा युरोपका घरेलु लिग लोकप्रिय छन् । नेपालीले बढी पछ्याउने इङलिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र इटालियन सिरी ‘ए’ हुन् । त्यस्तै, पेरिस सेन्ट जर्मनका ब्राजिली स्ट्राइकर नेइमारका कारण फ्रान्सको लिग वान समेत नेपालमा रुचाइन्छ । क्रिस्टियानो रोनाल्डोका कारण पोर्चुगल र रोमेलु लुकाकु तथा केभिन डि ब्रुयनाका कारण बेल्जियमलाई मन पराउने समर्थक बढेको उनको अनुभव छ।

प्रकाशित: २६ जेष्ठ २०७५ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App