कुरान मियाँको रमजान (भिडियो)

शनिबार, २६ जेठ २०७५, १० : २८ उपेन्द्र लामिछाने

38


भिडियो : सुजन श्रेष्ठ

काठमाडौको घन्टाघरनजिकै मुस्लिम समुदायको सदियौं पुरानो मस्जिद छ। मुस्लिम समुदायले अहिले रमजान मनाइरहेको छ । यो समयमा घन्टाघरको जामे मस्जिदमा बेग्लै रौनक छ।

रमजान जेठ ४ गते शुक्रबारबाट सुरु भएपछि मुस्लिम समुदायको दैनिकी फेरिएको छ। रमजानको रौनक मुस्लिम समुदायमा मात्र नभई गैरमुस्लिममा पनि छ। यो अद्वितीय संगमले घन्टाघर क्षेत्रमा जातीय सद्भावको ‘इन्द्रधनुष’ देखिन्छ । यहि ‘इन्द्रधनुष’को किरणमा झुल्किए– ३५ वर्षीय कुरान मियाँ।

रमजानको रौनक मुस्लिम समुदायमा मात्र नभई गैरमुस्लिममा पनि छ। यो अद्वितीय संगमले घन्टाघर क्षेत्रमा जातीय सद्भावको ‘इन्द्रधनुष’ देखिन्छ । यहि ‘इन्द्रधनुष’को किरणमा झुल्किए– ३५ वर्षीय कुरान मियाँ।

बाजुरामा जन्मिएका कुरान मियाँको मामाघर अछाम हो। उनी चितवन टाँडीस्थित मदरसाका शिक्षक छन् । उनी बिहीबार साँझ राजधानीको घन्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्दै थिए।

‘जो जहाँ पुगे पनि रमजानको प्रार्थनाको समय सकभर छुटाउँदैनौं,’ उनले भने, ‘अहिले म राजधानी आएको छु, यतैको मस्जिदमा आफ्नो कर्म गर्दैछु।’ इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान जेठ ४ गते (शुक्रबार)बाट सुरु भएसँगै उनको दैनिकी फेरिएको छ।

रमजान सुरु भएयता उनी हरेक बिहान २ बजेतिर उठछन्, नित्यकर्म गर्छन् । खाना खान्छन् । ४ बजे पूजा–प्रार्थना गर्छन्। केही समय आराम गर्छन्। केही समयपछि नमाज पढ्छन् । ‘यो मेरो मात्र होइन, संसारभरका मुस्लिमहरूको रमजानको दैनिकी हो,’ उनले भने, ‘हरेक मुस्लिम दैनिक पाँच पटक प्रार्थनामा सहभागी हुन्छन्।

बिहान ३ बजेतिर भोजन गरेपछि दिनभर केही खान नहुने उनीहरूको नियम छ । बिहानको खाना ‘सेरी’ खाएपछि दिनभर निराहर व्रत बस्ने चलनलाई रोजा भनिने उनी सुनाउँछन् । रोजा साँझ निश्चित समय पूरा भएपछि तोडिने गरिन्छ, जसलाई ‘रोजा अफ्तार’ भनिन्छ । ‘रमजान महिनामा बालबालिका, वृद्ध, सुत्केरी र बिरामीलाई रोजा बस्न अनिवार्य छैन, ’ उनी भन्छन्, ‘तर, हरेक मुस्लिम समुदायका सदस्यले रोजा बस्नैपर्ने प्रचलन छ।

‘मेरो बुबा अनपढ हुनुहुन्थ्यो, उहाँले कुरान पढ्न सक्नुभएन। तर, मेरो नामचाहिँ कुरान राख्नुभयो।’

अफिताल र तिलु मियाँका छोरा कुरान नामका कारणले पनि चर्चित छन् । उनको यही नाम जुर्नुमा पनि बेग्लै कारण छ । अफिताल मियाँले निरक्षरताका कारण कुरान वाचन गर्न नसकेपछि छोराको नाम कुरान राखिदिएका हुन् । कुरानले भने अहिले पुत्र सुलेमानलाई कुरान वाचन गर्न सिकाइरहेका छन्।

‘मेरो बुबा अनपढ हुनुहुन्थ्यो, उहाँले कुरान पढ्न सक्नुभएन,’ उनले भने, ‘तर, मेरो नामचाहिँ कुरान राख्नुभयो ।’ उनले आफ्ना तीन सन्तानमध्ये दुईलाई आधुनिक शिक्षा र एकलाई मदरसा शिक्षा दिँदै गरेको सुनाए । ‘परम्परा र आधुनिक दुवै ज्ञान चाहिने देखियो,’ उनले भने, ‘त्यसैले तीन सन्तानमध्ये एकलाई मदरसा र बाँकीलाई आधुनिक शिक्षा पढाउँदैछु।’

पहाडी समुदायको माझमा रहेका मुस्लिम समुदायका उनी नेपाली समुदायमा धार्मिक सद्भाव सधै राम्रो भएको धारणा राख्छन् । आफ्नो जिल्लामा २७–२८ घर मुस्लिम रहेको उनले सुनाए । बाजुरामा रहँदा हिन्दू दाजुभाइले दुध ल्याएर दिनुहुन्थ्यो,’ उनले भने, ‘हामी खिर बनाएर उहाँहरूलाई खुवाउथ्यौं।’

उनका अनुसार मामाघरमा पनि मुस्लिम समुदायको एक गाउँ छ । ‘घर वा मामाघर जता भए पनि इदमा आफ्ना हिन्दू साथीहरूलाई आमन्त्रण गर्छाैं,’ उनले भने, ‘उहाँहरू पनि आफ्नो पर्वमा हामीलाई निमन्त्रणा गर्नुहुन्छ ।’ पहाड र तराई जता गए पनि सद्भाव उस्तै रहेको उनले सुनाए।

उनले भनेजस्तै पछिल्लो समय नयाँ पुस्ता नेपालको विविधतामा रमाउन थालेको छ । उनीहरू एक–अर्काको धर्म, संस्कृतिलाई सम्मान गर्ने तथा सहभागिता जनाएर सद्भाव बाँडिरहेका छन् । एक–अर्काको धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दा आत्मियता झांगिने र समाज सकारात्मक दिशातर्फ अघि बढ्ने धेरैको विश्वास छ। ‘एक–अर्काको संस्कृतिमा रमाउँदा मनमा शान्ति मिल्छ,’  कोटेश्वर, महादेवमन्दिर छेउबाट आएकी अनु सिलवालले  भनिन्, ‘पछिल्लो समय एक–अर्काको धर्म तथा संस्कृतिमा रमाउने क्रम बढेको छ।’

‘बाजुरामा रहँदा रमजानको समयमा हिन्दू दाजुभाइले दुध ल्याएर दिनुहुन्थ्यो, हामी खिर बनाएर उहाँहरूलाई खुवाउथ्यौं।’

उनको जस्तै धारणा छ, क्षेत्रपाटी, ढल्कोका ६८ वर्षीय महम्मद मुसा भाइको पनि । सानै उमेरदेखि चस्मा व्यवसाय संचालन गर्दै आएका उनी इन्सानको नजरिया राम्रो भए सबै राम्रो देखिने सुनाउँछन् । ‘दुनिया सुन्दर देखिन चस्मा हैन, नजरिया राम्रो हुनुपर्छ,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सद्भाव विगतको तुलनामा बढेको छ ।’ एक–अर्काको धर्मलाई सम्मान गरेकाले दुवै समुदाय खुसी रहन सकेको उनको भनाइ छ । उनीसँगै रहेका हाजी मंजुर हुसेन पनि उस्तै धारणा राख्छन् । ‘समाज धेरै फेरिएको छ,’ उनले भने, ‘एक–अर्काप्रतिको सद्भाव भने सधैं उस्तै रहेको छ।’

रौतहट, लक्ष्मीपुरबाट आएका २४ वर्षीय मोहम्मद कलामको १७ वर्षको उमेरमा दुर्घटनामा परेर देव्रे खुट्टा गुमेको छ । एकै खुुट्टाको भरमा उभिएर प्रार्थना गर्दै गरेका उनले यसो गर्दा कठिन नहुने सुनाए । ‘खुट्टा गल्दैन,’ उनले भने, ‘बरु मन खुसीले फुरुङ हुन्छ ।’ रमजानलाई बरकतको महिना अर्थात् खुसीको महिना भन्दै उनी यसले सबैलाई खुसी दिने विश्वास व्यक्त गरे।

कामले रोक्दैन प्रार्थना
गौशालामा बस्दै आएका ५२ वर्षीय अकबर शाह निर्माण व्यवसायी हुन् । तर, रमजानको अवसरमा उनले काम र धर्म दुवैलाई समय दिँदै आएका छन् । ‘मैले काम पनि छाडेको छैन,’ स्मार्टफोन भुइँमा राखेर कुरान पढ्दै गरेका उनले भने, ‘परम्परालाई पनि सँगै लगेको छु ।’ धर्म र कर्म दुवैलाई मिलाए असल समाज निर्माण हुने उनको विश्वास छ।

भारत, मोजफ्फरपुरबाट आएका ५५ वर्षीय मोहम्मद जाहिर नेपालमा सामाजिक सद्भाव राम्रो भएको सुनाउँछन् । ‘म तीन दशकदेखि कामको सिलसिलामा नेपालका विभिन्न भागमा पुगेको छु,’ उनले भने, ‘यहाँ धेरै राम्रो धार्मिक सद्भाव भेटाए।’

साना नानीहरू पनि रोजामा


इदको रोजामा साना बालबालिकालाई अनिवार्य नगरिए पनि कतिपय खुसीले यसमा सहभागिता जनाउने गरेका छन् । ठूला मान्छे सरह नै व्रतमा सामेल भएका उनीहरूको पेटमा भोक भए पनि अनुहारमा भने खुसी झल्कन्थ्यो । ‘भोक त लागेको छ नि,’ कक्षा ४ मा अध्ययनरत १३ वर्षीय अलाद्धिन अन्सारीले भने, ‘तर, बेलुका प्राथना गरेपछि खानेकुरा खान्छौं ।’ उनीसँगै रहेका कक्षा ३ मा अध्यनरत १० वर्षीय मेहबुक अन्सारीले पनि आफ्नो खुसीले व्रत बसेको भन्दै अब त बानी परेको सुनाए । ‘सुरुका केही दिन बढी भोक लागेको थियो,’ उनले भने, ‘अहिले भोक खप्ने बानी परेको छ।’

नेपाल मुस्लिम एसोसियसनका अध्यक्ष सलिम खान रोजा इस्लामको चौथो आधारस्तम्भ रहेको बताउँछन्।  इस्लाममा अनिवार्य उपासनामध्ये रोजा महत्वपूर्ण रहेको उनले बताए । ‘अल्लाहको खुसीका लागि वैध मनोकांक्षालाई आफ्ना वशमा नियन्त्रित गर्नु र हृदयमा अल्लाहको भय लिएर नराम्रा क्रियाकलाप नगर्नु तथा आशा तथा प्रेम जोगाई अल्लाहलाई याद गर्नु रोेजाको वास्तविकता हो,’ उनले भने।

उनले थपे, ‘हरेक धर्मग्रन्थमा रोजा उल्लेख भएको पाइन्छ । तर, रोजाको आदेश, रोजाको संख्या (दिन) र रोजा राख्ने तरिका तथा समय भने धर्मग्रन्थ अनुसार फरक–फरक छ।’

के हो इद  ?   
इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद एक महिना लामो रमजान व्रतपछि मनाइन्छ । आकाशमा चन्द्रमा देखिएपछि मात्र इदको मिति तय हुने भएकाले ठाउँअनुसार फरक–फरक दिन यो पर्व मनाइने अध्यक्ष खान बताउँछन्।

राजधानीमा रहेका मस्जिदमा इद नमाजमा हजारौंको संख्यामा उपस्थित हुने र करिब ४० मिनेट अल्लाह (भगवान्) को तारिफ, इद नवाज तथा खुदवा अर्थात् कुरान पढेपछि एकआपसमा अंकमाल गरेर खुसी साटिने खान बताउँछन् । जेठ ४ गतेबाट एक महिनासम्म रमजान व्रत बसेका इस्लाम धर्मालम्बीले एक महिनापछि इदकै दिन व्रत तोडेर खुसी साट्छन् । इदमा दुस्मनलाई समेत मित्र बनाएर खुसी साट्ने प्रचलन रहेको इस्लाम धर्मालम्बी बताउँछन्।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...

फेसन नाइटका लागि १४ मोडल

फेसन नाइटका लागि १४ मोडल

आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन्। ...

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

कवि गोविन्द नेपालले आफ्नो तेस्रो कविता संग्रह तर्कको साम्राज्य पाठकमाझ ल्याएका छन्। ...