८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले महंगी बढाएको आरोप

काठमाडौं – साना तीन वामपन्थी दलले केपी ओली नेतृत्वको सरकारले महंगी नियन्त्रण नगर्दा जनता मारमा परेको आरोप लगाएका छन्। मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यस्तो आरोप लगाएका हुन्।

‘पटकपटक इन्धनको मूल्यमात्र बढाइएको छैन। दैनिक जीवनमा अत्यावश्यक खाद्यान्न, तेल, तरकारी आदिको मूल्यवृद्धिले जनता गुजारा गर्नै नसक्ने अवस्थामा पुगेका छन्’, तीन दलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कालाबजारियाहरुको बिगबिगी छ, जनता लुटिएरहेका छन्।’ जनता मारमा पर्दा पनि ओली सरकार कानमा तेल हालेर बसेको र कालाबजारियासँग मिलेर कमिसन बटुलिरहेको ती दलको आरोप छ। शुक्रवार एक विज्ञप्ति जारी गर्दै अगाडी भनेका छन, ‘सरकार चलाउने पार्टीका कथित ठुला नेताहरुनै भ्रष्टाचारमा संलग्न छन भन्ने कुरा छापाहरुमा सार्वजनिक भइरहेछन्, राज्य संयन्त्र मौन छ।’

अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय पक्षलाई दिने तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा भारतीय सैनिकलाई आउन दिएर ओली सरकारले राष्ट्रघात गरेको आरोप ती दलको छ। ‘ओली सरकारले अरुण तेस्रो बेचेर राष्ट्रघात गरेको छ, भारतीय फौजलाई नेपालमा निर्वाध प्रवेश गराएर नेपाली स्वाधीनताको मानमर्दन गरेको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘भारतीय निर्देशनमा बोआओ जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपाललाई अनुपस्थित गराएर लम्पसारवादको नग्न प्रदर्शन गरेको छ।’ ओली सरकारले दलका कार्यकर्तालाई बिनापूर्जी पक्राउ गर्ने, थुन्ने, जनताको संवैधानिक अधिकार अतिक्रमण गर्नेजस्ता कार्य गर्दै राज्य आतंक मच्याइरहेको ती दलको आरोप छ। सरकारका गलत कार्यविरुद्ध जेठ ३१ गतेदेखि संघर्षमा उत्रिने निर्णय लिएको जानकारी पनि तीन दलले गराएका छन्।

प्रकाशित: २६ जेष्ठ २०७५ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App