८ वैशाख २०८१ शनिबार
समाज

यसरी जोडिँदै छ गोरखा–तिब्बत

उत्तरी गोरखा जोड्ने सडकको ट्रयाक। तस्बिर : नरहरि/नागरिक

माछाखोला (गोरखा) – पैदल हिँडेर आउजाउ र खच्चडको भरमा उपभोग्य सामग्री ढुवानी गरेर गुजारा चलाउन बाध्य उत्तरी गोरखाका सर्वसाधारणको सडक सपना पूरा हुने भएको छ। नेपाली सेनाले बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि १६ किलोमिटर ट्र्याक खोलिसकेको छ। उक्त सडकको माछाखोलासम्म उत्तरी गोरखाका जनताले गाडीमा ढुवानी र आउजाउ पनि गर्न थालिसकेका छन्।

बेनीघाटदेखि तिब्बतको सिमाना लार्केसम्मको एक सय ८३ किलोमिटरमध्ये सेनाले एक सय १८ किलोमिटर सडक खोल्नेछ। बाँकी खण्ड भने सडक विभागले निर्माण गरेको छ। ‘४५ किलोमिटरको सर्भे भइसकेको छ,’ निर्माणमा खटिएका नेपाली सेनाका इन्जिनियर, मेजर निशान्त क्षेत्रीले भने, ‘१६ किलोमिटर ट्र्याक खुलेको छ, १४ किलोमिटरसम्म गाडी चल्छ।’

अघिल्लो आर्थिक वर्षको बजेट सकिएर काम रोकिएको थियो। ‘चालू वर्ष १० करोड विनियोजन भएको छ, यसमा अझै थप हुन्छ,’ मेजर क्षेत्रीले भने, ‘अहिले काम भइरहेको छ, अब पहिलेकै गतिमा काम हुन्छ।’ करिब दुई सय सैनिक सडक निर्माणमा खटिएका छन्। हावाडाँडा र खोर्लाबेंसीमा क्याम्प बनाएर सैनिकहरू बसेका छन्।

सेनाले सडक खोलेसँगै धार्चे गाउँपालिकाको सबै ठाउँ मुख्य सडकले जोडिने छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा भने अझै सडक पुगेको छैन। गाउँपालिकाभित्रका झन्डै दुई हजार पाँच सय मानिस जीविका चलाउन हिँडेर, खच्चडमा ढुवानी गरेर त अन्तिम घडीमा महँगो पैसा तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य छन्।

सडक विभागले ठेक्का लगाएर लार्केसम्म सडक पु-याउन असम्भव देखेपछि लामो समय उत्तरी गोरखामा सडक अघि बढेन। अन्नतः गत वर्षदेखि नेपाली सेनाले भीर खोपेर, जोखिमले सडक खन्न थालेको छ। भूबनोट चट्टानले बनेको हुनाले सडक निर्माण त्यति सहज भने छैन।

वर्षौंसम्म उत्तरी गोरखाका सर्वसाधारण पैदल हिँडेर सदरमुकाम धाए। अहिले पनि यो क्रम रोकिएको छैन। लार्केसम्म उक्त सडक जोडिएपछि धार्चे र चुमनुब्री क्षेत्रका स्थानीय सडक आइपुग्नेमा आशावादी छन्। माछाखोलासम्म बूढीगण्डकी नदीको किनार हुँदै बाइपास सडकबाट नेपाली सेनाले ढुवानी गरेको छ। नौलीखोलानजिकै रहेको पहरोबाट खसेका ढुंगाको कारण नयाँ ट्र्याक सञ्चालनमा अवरोध पुगेको छ। माछाखोलादेखि खोर्लासम्मको सडक केही ठाउँमा ट्र्याक मात्रै खोलिएकाले सवारीसाधन गुड्ने अवस्था छैन। मनास्लु क्षेत्र जोड्ने उक्त सडक सेनाले दुई लेनको बनाउनेछ। सडक तयार हुँदा आठ मिटरको बन्नेछ।

अधिकांश ठाउँमा पहरो, भीर र कडा चट्टान रहेको, तल्लो भेगमा बूढीगण्डकी नदी पर्ने भएकाले विस्फोटबिना ट्र्याक खोल्न सम्भव छैन। ‘दिनहुँ विस्फोट गराएर पहरो फोड्नुपरेको छ,’ सेनाका इन्जिनियर क्षेत्रीले भने, ‘अहिले विस्फोटक पदार्थ छैन, केही दिनमा आउँछ।’

अहिले ट्र-याक खोलिएको सडकले उत्तरी गोरखाका सर्वसाधारण नागरिकको पैदल हिँड्ने समय आधा छोट्याएको छ। पहिले चार घन्टा लाग्ने खोर्लादेखि हावाडाँडासम्मको यात्रा अहिले एक घण्टा ३० मिनेटमा सहजै आउजाउ गर्न सकिने माछाखोलाका सर्कबहादुर गुरुङ बताउँछन्।

साँघुरो बाटो, ठाउँठाउँमा खच्चड भेटिने, हिँड्न पालो पखिर्नुपर्ने, एक्लै हिँड्न डर लाग्ने गोरेटो बाटोमा अहिले निकै सहज भएको उनले सुनाए। उनले भने, ‘ढुवानी सजिलो मात्र होइन, सस्तो पनि परेको छ।’ पहिले सोतीबाट माछाखोलासम्म खच्चडमा समान ल्याउन प्रतिकिलो १० रुपैयाँ तिर्नुपथ्र्यो, अहिले चारदेखि पाँच रुपैयाँमा माछाखोलासम्म गाडीबाट सामग्री ढुवानी गरेको स्थानीय व्यापारीसमेत रहेका गुरुङले बताए।

सडक निर्माणपछि उत्तरी गोरखाको मनास्लु पदमार्ग जाने पर्यटकलाई पनि सजिलो भएको छ। सेनाले लार्के भञ्ज्याङसम्म सडक जोड्ने र नियमित सवारी आउजाउ हुने हो भने उत्तरी गोरखाका सर्वसाधारणको दैनिकी निकै सहज हुने चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ बताउँछन्।

प्रकाशित: २६ जेष्ठ २०७५ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App