८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश पाँचको नीति तथा कार्यक्रम : पाँच बर्षमा प्रदेशका सबै युवालाई रोजगारी

बुटवल—प्रदेश ५ को सरकारले शुक्रबार  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख उमाकान्त झाले १२ वटै जिल्लाको सन्तुलित बिकास गरी पाँच नम्बर प्रदेशलाइ नमुना  बनाउने बताए।

‘समृद्ध प्रदेश खुसी जनता’को लक्ष्य पछ्याउदै उच्चदरको आर्थिक बृद्धि हासिल गर्ने र पाँच बर्ष भित्र प्रदेशका युवालाई रोजगारीको सुनिश्चित गर्ने कुरालाइ नीति तथा कार्यक्रमले जोड दिएको छ। शहकारी र निजी क्षेत्रको साझेदारीमा उद्यमशीलताको माध्यमबाट रोजगारी सृजना गर्ने भनिएको छ।

 सरकारका कामलाई छरीतो र जनउत्तरदायी बनाउँदै सुशासन र पार्दर्शीता कायम गर्न ‘मालिक होइन सेवक हौं’ भन्ने मान्यतालाई मार्ग दर्शनको रुपमा ग्रहण गर्ने भनिएको छ। रहरले हाँसेर काम गर्ने वातावरण तयार गर्दै अनुगमन मुल्याङ्कनलाई प्रभावकारी बनाउने उल्लेख छ। पूर्वाधार संरचनाको गुणस्तरीय काम सम्पन्न गर्न प्रभावकारी नियम बनाइने छ । समय अगावै निर्माण सक्ने ठेकेदारलाइ पुरस्कृत र समयमा नसक्नेलाइ प्रदेशका कुनै पनि निर्माण तथा सरकारी काममा संलग्न नगराइने नीति लिइएको छ।

श्रमीकलाई पारीश्रमिकको ग्यारेन्टी गर्ने र परिचय पत्र दिइ बैकिङ्ग प्रणाली मार्फत  भुक्तानी व्यवस्था गर्ने उल्लेख छ। मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत सीमान्तकृत समुदायलाई विकासको मुल प्रवाहमा ल्याउने चालु बर्षको योजनालाई निरन्तरता दिइएको छ।

सडक,सिचाइ, खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,जलश्रोत र उद्योगका माध्यमबाट आर्थिक सम्बृद्धि हासील गर्न आकर्षक नारा सहितका योजना अगाडी सारीएको छ।

खानेपानीका लागि एक घर एक धारा र फोहोर व्यवस्थापनका लागि फोहोरलाई मोहोरमा बदल्न स्थानीय तहलाई सहयोग गर्ने नीति लिइएको छ। सार्वजनिक नीजि साझेदारीमा प्रशोधन कारखाना स्थानपना गर्ने भनिएको छ। शिक्षामा एक बर्ष भित्रै साक्षर प्रदेश बनाउने लक्ष्य लिइएको छ । सरकारल सामुदायिक बिद्यालयमा कक्षा १ देखिनै अग्रेजीमा पठन पाठन र ४ देखि अनिबार्य कम्युटर शिक्षा लागु गर्ने भनिएको छ । धार्मीक प्रकृतिका बिद्यालयहरुलाई मुल प्रवाहमा ल्याइने, विश्वविद्यालय र महाविद्यालय स्थापनाको सम्भाव्ता अध्ययन तथा उच्च शिक्षामा सार्वजनिक, सामुदायिक र निजी साझेदारीलाइ प्रोत्साहन गर्ने नीति लिइएको छ।

८५ बर्ष पुगेका जेष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सुविधा र न्युन आय भएका महिलालाई २ वटा बच्चा सम्मका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराउने भनिएको छ। पुर्वपश्चिम राजमार्गमा ट्रमा सेन्टर,घुम्ती अस्पताल र सिकलसेलको निशुल्क उपचारको व्यवस्था गर्ने उल्लेख छ। सार्वजनिक स्थल,होटल रेष्टुरामा धुम्रपान निषेध गरीने नीति लिइएको छ।

नेपालगञ्ज–कोहलपुर,घोराही–तुलसीपुर, र बुटवल–भैरहवालाइ समेटेर महानगर बनाउने,  भैरहवा–बुटवल,नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुरमा बिद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गरीने छ।

पर्यटन मैत्री जनशक्ति र प्रचार प्रसारलाइ जोड दिदै पर्यटकीय क्षेत्रमा मोनोरेल, क्यानोयिंग, ट्रेकिगं,साँस्कृतिक संग्रालय,गार्डेन सिटी, हिल स्टेशन,केवलकार जस्ता महत्वाकाँक्षि योजना राखीएको छ । रुरु, स्वर्गद्धारी,र धारापानीलाइ एकिकृत धार्मीक साँस्कृतिक पर्यटकीय केन्द्र बनाउने उल्लेख छ।

प्रकाशित: २५ जेष्ठ २०७५ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App