४ वैशाख २०८१ मंगलबार
राजनीति

शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गरिने

काठमाडौं – युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ।

विधान तथा संगठन मस्यौदा समितिको बैठकमा दुवै संगठनको एकीकरण भएपछि निर्माण हुने नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र शक्ति सन्तुलनको सिद्धान्तमा आधारित लोकतान्त्रिक संगठन बनाउने समझदारी भएको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टीले माक्र्सवाद र लेलिनवादलाई वैचारिक दृष्टिकोणका रुपमा अवलम्बन गर्ने भएपछि संगठनको सैद्धान्तिक नीति पनि त्यसैमा आधारित हुनेछ। एकताका लागि यसअघि पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो।

विधान र संगठन कस्तो निर्माण गर्ने त्यसको अध्ययनका लागि बिहीबार गठन गरिएको मस्यौदा समितिले कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार गर्नेछ।

मुलुकमा युवा वर्गमा देखिएका चुनौती तथा सम्भावनाका आधारमा उनीहरुलाई कसरी उत्पादनसँग जोड्ने, युवा सशक्तीकरणलगायत विषयमा समेत बैठकमा छलफल भएको छ।

युवा संघका महासचिव शाहीले कार्यदलको बैठकले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी र वाइसिएलको केन्द्रीय सचिवालय बैठक बस्ने र भोलिपल्ट सोही कमिटीको संयुक्त बैठक बस्ने निर्णय गरिएकोे बताए। दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकिकृत गरिसक्ने जनाइएको छ।  (रासस)

प्रकाशित: २५ जेष्ठ २०७५ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App