८ वैशाख २०८१ शनिबार
कला

पुस्तक मेलामा आख्यानका पाठक बढी

कलाकार निरु खड्का साझा प्रकाशनको स्टलमा पुस्तक नियाल्दै । तस्बिरः नागरिक

काठमाडौं – हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘ठ्यासकुमारी’को भूमिकामा अभिनय गर्ने कलाकार निरु खड्का पुस्तककी पारखी हुन् । राजधानीमा वर्षैपिच्छे हुने पुस्तक मेलामा उनी पुग्छिन् र आफूलाई मनपरेको पुस्तक किन्छिन्।

शनिबारसम्म चल्ने राजधानीमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेला’मा निरु साझा पुस्तकको स्टलमा भेटिइन्।सयौं पुस्तकको घेरामा रहेकी निरु आफूलाई मनपर्ने पुस्तक खोज्नमै व्यस्त थिइन् । ‘म प्रायः प्रेरणादायी पुस्तक किन्न रुचाउँछु । यसपटकको मेलामा पनि मैले त्यही फ्लेबरका पुस्तक किनें,’ ‘पाठशाला’, ‘कुञ्जिनी’ लगायतका पुस्तक देखाउँदै निरुले भनिन्, ‘यस्तो पुस्तकले मलाई काम गर्ने जाँगर दिन्छ । दुःख र पीडामा रहेको बेला यस्ता पुस्तकले उर्जा दिन्छन् ।’

मासिक रूपमा तीनदेखि चारवटा पुस्तकसम्म पढ्ने निरु साहित्यिक पुस्तकले मान्छेलाई आनन्दित बनाए पनि प्रेरक पुस्तकले काम गर्ने जोश दिने बताउँछिन् । पुस्तककै किन्नकै लागि आफूले मासिक २ देखि ५ हजार रुपैंयाँसम्म खर्च गर्ने गरेको उनले बताइन् ।काठमाडौं कुलेश्वरका श्रवणलाल शाक्य पचास वर्षको उकालो काटे पनि उनको पुस्तक पढ्ने शोख भने हराएको छैन । सांग्रलिा बुक्सको स्टलमा भेटिएका श्रवणलाल साहित्यिक पुस्तकलाई झोलामा राखेर बाहिर निस्कँदै थिए ।

‘म प्रायः गद्य र पद्य पुस्तक पढ्न रुचाउँछु,’ उनले नागरिकसँग भने, ‘म जागिरबाट रिटायर्ड भएपछि पुस्तक पढ्नतिर ध्यान दिन थालें । रिटायर्ड भएको पाँच वर्ष भयो । म वार्षिक ५० को हाराहारीमा पुस्तक पढ्छु ।’निरु र श्रवणलाल आख्यानसँगै जीवनोपयोगी पुस्तक पढ्ने पाठकका उदाहरण मात्र हुन् । प्रदर्शनीको स्टलमा बिक्री भएका पुस्तकको मात्रा हेर्ने हो भने अधिकांश पाठकले आख्यानलाई नै प्राथमिकतामा राखेको प्रदर्शनीमा सहभागी पुस्तक बिक्रेताहरूको अनुभव छ।

अधिकांश पाठकले आख्यानलाई नै प्राथमिकतामा राखेको छन् भने प्रेरक तथा प्रेरणदयी जीवन दर्शन र जीवनीका पुस्तक पनि बिक्री भएका छन् ।

सांग्रिला बुक्सका युवराज घिमिरे आफ्नो स्टलबाट ‘योगमाया’ र ‘त्यो समय’ सहित अन्य साहित्यिक फ्लेबरका पुस्तक बढीमात्रामा बिक्री भइरहेको बताउँछन् । ‘हाम्रो स्टलबाट दैनिक ३ देखि ४ सयको हाराहारीमा पुस्तक बिक्री भइरहेका छन् । यीमध्ये अधिकांश आख्यानका पुस्तक नै छन्,’ घिमिरेले भने, ‘अघिल्लो वर्षको मेलामा भन्दा यो मेलामा आख्यानका पुस्तक किन्ने पाठक बढी भेटिए । युवा उमेर पूरा गरिसकेका पाठकले पनि आख्यानका पुस्तकमा चासो देखाएका छन्।’

सांग्रिला नजिकै रहेको पाँच पोखरी पब्लिकेसनका राम  श्रेष्ठलाई पनि पुस्तक बिक्री गर्न फुसर्द छैन । उनको स्टलबाट पनि साहित्यिक कृतिहरु बढी नै बिक्री भइरहेका छन् । ‘हाम्रो स्टलमा आउने अधिकांश पाठकले उपन्यासमा चासो देखाएका छन् । उनीहरुको ध्यान नै नेपालीसँगै अंग्रेजी भाषाका फिक्सनमा पाइएको छ,’ श्रेष्ठले भने, ‘अघिल्लो वर्षको भन्दा यो वर्ष पुस्तक राम्रो बिक्री भइरहेको छ । हाम्रोमा दैनिक रुपमा ६० देखि सयको हाराहारीमा पुस्तक बिक्री भइरहेका छन् । जसमा आख्यानको प्रतिशत बढी छ,’ उनको स्टलमा झन्डै ३५ पुस्तक प्रकाशन गृहका पुस्तक बिक्रीमा राखिएका छन्।

सरकारी स्वामित्वका नेपाल प्रज्ञा प्रतिष्ठान र साझा पुस्तक प्रकाशनको स्टलमा पनि साहित्यिक पुस्तक बिक्रीकै मात्रा बढी छ । प्रतिष्ठानका कर्मचारी सुधिर ढुंगेल कथा र दर्शनका पुस्तक बढी बिक्री भइरहेको बताउँछन् । ‘विद्यार्थी तथा विद्वान वर्गले यस्ता पुस्तक लगिरहनुभएको छ ।

हाम्रो स्टलमा नेपाली साहित्यसँगै विश्वसाहित्यका पुस्तक उनि बिक्रीका लागि रहेकाले विशेषतः साहित्यिक अनुसन्धानमा सक्रिय युवापुस्ताले पुस्तक किनिरहनुभएको छ,’ ढुंगेलले भने, ‘कालजयी र आगामी पुस्तासम्म प्रभाव पार्ने किसिमका पुस्तकमा पाठकले ध्यान दिएका छन् ।’ उनका अनुसार प्रतिष्ठानको स्टलबाट हजार बढी पुस्तक विक्री भइरहेका छन् ।साझा प्रकाशनको स्टलमा पनि साहित्यिक पुस्तकको बिक्रीको चाप बढी छ । साझाका विमल केसीका अनुसार पाठकले लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’सँगै अन्य स्रष्टाका उपन्यासमा बढी चासो देखाएका छन् । ‘वीपी कोइरालाका  कृति पढ्ने पाठकको संख्या पनि उत्तिकै पाइएको छ,’ विमलले भने।

मेला आयोजक ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिसका सह–निर्देशक केशव खत्रीले साहित्यमा आबद्ध पुराना स्रष्टाका कृतिहरु पनि उपन्यास, कथा र आत्मसंस्मरणमा केन्द्रित रहेकाले पनि पाठकको आख्यानप्रति रुचि बढ्दै गएको बताए । ‘आख्यान  पढ्दा पाठकले रिफ्रेसमेन्टको अनुभव गर्छन् । किनकि यस्ता पुस्तक आफैमा रसिला हुन्छन्,’ खत्रीले भने, ‘पछिल्लो वर्ष पुस्तक मेलामा आख्यानमा पाठकको असाध्यै ध्यान गएको देखिएको छ ।’ मेलामा देश तथा विदेशका झन्डै ६० भन्दा बढी पुस्तक प्रकाशन गृहको सहभागिता छ ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App