coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मनपरी हर्न बजाउँछन् चालक

पेप्सिकोलाबाट चावहिलका लागि छुटेको नेपाल यातायातको बा५ख १२७५ नम्बरको बसले बुधबार कोटेश्वरदेखि तीनकुनेसम्म आइपुग्दा आठ पटक हर्न बजायो ।

त्यहाँभन्दा पछि आइरहेको सोही रुटकै बा२ख १२९१ नम्बरको बसले उछिन्न थालेपछि चालकले हर्न घन्काउँदै बस हुइँकाउन थाले । पछिल्लो बसमा पनि चर्को हर्न बजिरहेको थियो । तर, तीनकुने चोकमा खटिएका ट्राफिकले त्यसको वास्ता गरेनन् । तीनकुनेमा यात्रु चढाएर अघिपछि हुँदै गुडेका बस शान्तिनगरमा रोकिए । तीव्र गति र लेन मिचेको भन्दै ट्राफिक प्रहरीले बा५ख १२७५ नम्बरको बस चालकलाई चिट थमाए । पछिल्लो बस भने अघि बढ्यो ।

यो प्रतिनिधि उदाहरण मात्रै हो, सवारी साधनको अत्याधिक चाप रहने उपत्यकाका सबै रुटमा पछिल्लो समय चर्काे हर्न सुनिन थालेको छ । तर, यसको नियन्त्रण गर्न ट्राफिक प्रहरी मुकदर्शक छन् । सरकारले एक वर्षअघि उपत्यकामा ‘हर्न’ बजाउन निषेध गरेको थियो।

मनपरी हर्न बजाउनेलाई कार्बाही नहुँदा सवारी चालकले नियम मिच्ने गरेको यात्रुहरू बताउँछन् । ‘यातायात क्षेत्रलाई सुशासनयुक्त र सहज बनाउन सरकारले ल्याएका धेरैजसो नियम उल्टिने गरेका छन्,’ कौशलटार बस्ने नरेन्द्र चुँदालीले भने, ‘योभन्दा पहिले पनि उल्टो सिट हटाउने, सार्वजनिक सवारीमा डस्बिन राख्ने, बीच सडकबाट सडक पार गर्न नपाउने, चर्को भाडा असुल्न नपाउने जस्ता नियम ल्याइएको थियो । तर, सरकारकै कमजोरीले यी सबै नियम सेलाएर गए ।’ उनले यातायात क्षेत्रमा सिन्डिकेट तोडिए पनि व्यावसायीहरूको दादागिरी र यात्रुहरूलाई गर्ने व्यवहारमा परिवर्तन नआएको बताए ।

सवारी साधनको अत्याधिक चाप रहने उपत्यकाका सबै रुटमा पछिल्लो समय चर्काे हर्न सुनिन थालेको छ । तर, यसको नियन्त्रण गर्न ट्राफिक प्रहरी मुकदर्शक छन् ।

अर्का यात्रु नवीना बस्नेतले सरकारले अनुगमन नगर्दा नियम लागू हुन नसकेको बताइन् । ‘केही समय हर्न बज्न छाडेको थियो, अहिले फेरि चर्को हर्न बज्न थालेको छ,’ उनले भनिन्, ‘सिन्डिकेट हट्यो भनेपछि यात्रुले दुःख पाउनु परेका छ, हर्न बजाउन पाइँदैन भनेर गरेको घोषणा पनि प्रभावकारी छैन, यातायातका सबै नियम लागू गरेको भए यात्रुहरूले सहजता पाउथे नि ।’ उनले चालकहरूकै लापर्वाहीले हर्न निषेध क्षेत्रमा हर्न बज्न थालेको बताइन्।

मुख्य सडकमा मात्रै होइन, उपत्यकाका भित्रि सडकहरूमा चर्को हर्न सुनिन्छ । ट्राफिक प्रहरी नभएको स्थानमा सवारी चालकले हर्न बजाउने गरेको फेरि सवारी साधनहरूले हर्न बजाउन सुरु गरेका छन् । स्कुल, अस्पताल र सिंहदरबारको छेउछाउ पनि चर्को हर्न बजेको सुनिन्छ ।

सवारी साधनबाट निस्कने धुवाँ र हर्नले स्वास्थ्य मात्रै नभएर वातावरणमा पनि प्रतिकूल असर पारेको वातावरणविद् भूषण तुलाधरले जानकारी दिए । उनले भने, ‘हाम्रा सहरमा चर्को आवाज आउने मेसिन, सवारी र अन्य उद्योगहरू छन्, यसले वातावरणमा ध्वनि प्रदूषण फैलाएको छ, त्यसैले सरकारले यसको विकल्प खोज्नतिर लाग्नुपर्छ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हर्न बजाउनेलाई पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रूपैयाँ जरिवाना हुन्छ । मनपरी हर्न बजाउनेमा मोटरसाइकल पहिलो नम्बरमा रहेको महाशाखाले जनाएको छ । महाशाखा सहप्रवक्ता इन्सपेक्टर दामोदर सिलवालले हर्न निषेध गरेयता २३ हजार ६ सय ५८ सवारीसाधन कार्वाहीमा परेको बताए । ‘हर्न बजाउनेलाई कारबाही गर्ने छुट्टै ट्राफिक छैन, ड्युटीमा खटिएको ट्राफिकले नै हर्न बजाउनेलाई कारबाही गर्छ,’ उनले भने, ‘यसलाई थप कडाई गर्न उपत्यकामा परिचालित १३ सय ट्राफिकलाई नै महाशाखाले आग्रह गरेको छ ।’ उनका अनुसार अति घुम्ती र जोखिम ठाउँमा मात्रै हर्न बजाउन पाइन्छ ।

ललितपुरका ट्राफिक प्रहरी प्रखुम सीताराम हाछेंथुले आफूहरूले हर्न निषेध क्षेत्रमा सक्दो कडाइ गरेको बताए । उनले भने, ‘हर्न बजाएको भेटिए चालकलाई जरिवानासहित कारबाही गरेका छौं,’ उनले भने, ‘केही दिनअघि दुई घन्टा अनुगमन गर्दा ३८ सवारी कारवाहीमा परेका थिए ।’

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App