coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अलेक्जेन्डर पुस्किनको सम्झनामा नाटक

रुसी साहित्यकार अलेक्जेन्डर पुस्किनको सम्झनामा नाटक मञ्चन गरिएको छ । रुसी सास्कृतिक केन्द्र र शैली थिएटरले पुस्किनको कथामा आधारित ‘माझी’ र ‘सुनौलो माछा’ नाटक मञ्चन गरेका हुन् ।

का पुस्किन दुई सय १९ वर्षअघि रूसमा जन्मिएका थिए । उनको जन्मोत्सव तथा सम्झनामा नाटक मञ्चनअघि पुस्किनसँग सम्बन्धित विभिन्न वृत्तचित्र र पुस्तकहरू प्रदर्शनी गरिएको थियो ।

उनको सम्झनामा मञ्चन गरिएका नाटकले अनावश्यक लोभले जीवनलाई संकटतर्फ लैजान्छ भन्ने भाव बोकेको छ । नाटकमा माझी, उनकी श्रीमती र सुनौलो माछा मुख्य पात्र हुन् । माझीले समुद्रमा माछा मारेर कसरी जीवन निर्वाह गर्छ र उसलाई कस्ता कठिनाइ आउँछन् भन्ने भाव नाटकमा छ।

माछा मार्ने क्रममा माझीले एकदिन सुनौलो माछा फेला पार्छ । माछाले मान्छेजस्तै बोलेर आफूलाई छाड्न आग्रह गर्छ । र, आफूलाई छोडिदिए माझीले भनेको काम पूरा गर्ने वाचा गर्छ । दयालु स्वभावको माझीले माछालाई छाडिदिन्छ । माझीले उक्त कुरा आफ्नी श्रीमतीलाई सुनाउँछ । उसकी श्रीमतीले माछासँग घरमा आवश्यक कुरा माग्न श्रीमानलाई सुझाउँछ ।

सुनौलो माछाले माझीको आवश्यकता पूरा गरेपछि माझीकी श्रीमतीमा तृष्णा जाग्छ । श्रीमतीले दरबारसँगै आफूलाई रानी बनाइदिन माछासँग आग्रह गर्छिन् । माछाले पनि उनले चाहेको कुरा पूरा गरिदिन्छ । त्यसपछि उनकी श्रीमतीले माछालाई नै आफ्नो नोकर बन्ने चाहना माछालाई राख्छिन् । त्यसपछि उनीहरूले पहिले पाएका सबै सेवा, सुविधा गुमाउँछन् ।

आर्यन न्यौपानेले निर्देशन गरेको नाटकमा सशांक बोहोरा, स्नेहा पौडेल, स्रस्था घिमिरे, सुभम् ज्ञवाली, रोबिन तामाङ, सुवास सुवेदी, सदीन लुइँटेल, शिरिर अर्याल, देवेन्द्र बब्लु, दीपिका राई अभिनय गरेका थिए । नाटकपछि आयोजित कार्यक्रममा जंगम चौहान, डा. गीता त्रिपाठी, मोमिला, फूलमान वल, आन्तोंन मास्लोवलगायतले नेपाली र रुसी कविता सुनाएका थिए । नाटक अंग्रेजी भाषामा मञ्चन गरिएको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App