७ वैशाख २०८१ शुक्रबार
अन्य

चर्याका एक्ला गुरु

चन्द्रमान मुनिकार चर्या नृत्यमा परिचित नाम हो । चार दशकदेखि उनी नृत्य क्षेत्रको सबैभन्दा बढी जटिल र लामो मानिने चर्या नृत्य सिकाउँदै आएका छन् । मुलुकभित्र चर्या सिकाउने उनी एक्ला गुरु हुन् ।‘चर्या नाच सिक्ने र सिकाउनेहरु कम भएका बेला म यो नृत्यमा लागेको हुँ’, मुनिकार भन्छन्, ‘यो नृत्यले धार्मिक आस्था जगाउने काम गर्छ, नेपाल मण्डलमा जति पनि देवी देवता छन् उनीहरुको व्याख्या विश्लेषण र चरित्र अनुसार नृत्य देखाइन्छ, भावना र मुद्राको पनि बढी प्रयोग गरिन्छ।’

चर्यामा वर्ण, भेषभुषा र देवी देवताका रुप र चरित्रमाथि नृत्य गरिन्छ । यो नृत्य सदियौंदेखि चल्दै आएको छ । अरु नृत्य रमाइलो र मनोरञ्जनका लागि मात्रै पनि गरिन्छ । तर, चर्या नृत्य चाहिँ धार्मिक, सामाजिक, साँस्कृतिक आस्था जगाउन र सदभाव कायम राख्न देखाउने गरिन्छ ।सजिलो छैन चर्या सिक्न । मुनिकारले १० वर्षको उमेरदेखि सिक्न थालेका हुन् । उनलाई पनि सुरुका दिनमा निकै कठिन भयो । धर्म र नियममा बाँधिएर नृत्यमा रमाउनुपथ्र्यो । यो नृत्यमा ध्यान र योगाको आवश्यता पर्छ।

बुद्ध धर्ममा चर्यालाई बौद्धयानको रुपमा पनि चिनिन्छ । नृत्यको माध्यमबाट बौद्धधर्ममा पुरानो धार्मिक र सामाजिक पक्ष खोजिन्छ । उपत्यका तथा बाहिर चर्या नाचको खासै चर्चा भएको पाइँदैन । ‘बुद्धमार्ग खोज्ने एउटा बाटो हो चर्या’, उनी भन्छन्, ‘अहिले यो नाच सिक्नेहरु धेरै छन्, तर मेरो पालामा यसतर्फ आकषर्क घटेको थियो ।’उनका अनुसार यो नृत्यको ताल, रस, मात्रा र राग पनि फरक हुन्छ । चर्यालाई बज्रयानी बौद्ध धर्मको तान्त्रिक विधाको कला प्रस्तुत गर्ने माध्यम पनि मानिन्छ । यसमा ध्यान र योगा भावमा डुब्नुपर्छ।

उनले चर्या नृत्य सिक्नकै लागि गुरुहरुका घर पुछ्नु, भाँडा माझ्नु र लुगा धुनु परेको थियो । तर, आज उनी घरमै ‘बज्रकला कुञ्ज’ खोलेर नेपाली र विदेशीलाई सित्तैंमा चर्या सिकाउँदै आएका छन् ।

चर्याभित्र दुइटा नृत्य पर्छन् एउटा बाह्य र अर्का गुह्य नृत्य (गोप्य र सार्वजनिक) पर्छ । गोप्य नृत्य सिक्न र प्रस्तुत गर्न बज्रयान बौद्ध धर्मको विशेष ज्ञान लिनुपर्छ । विहानै उठेर नुहाउने, तपस्या गर्ने र अन्य पूजाआजा पनि गर्नुपर्छ । सार्वजनिक नृत्य बाहिर देखाउने, गर्न हुने र सिक्ने हुन्छ । यसमा जाति, धर्म, रंग भेद भन्ने हुँदैन ।यो नृत्य साधना, तपस्या र ध्यानमा ६ वर्षदेखि १२ वर्षसम्म लाग्छ । चर्या नृत्य सिक्दासिक्दै बीचमा छाड्न हुन्न भन्ने मान्यता छ । ‘आधा सिकेर छाडियो भने त्यसले दिमागमा समेत असर पार्छ,’ उनले भने, ‘यो पूर्ण रुपमा सिकिसकेपछि नृत्य क्षेत्रको सबैभन्दा बलियो भइन्छ।’

त्यसो त उनी आफूले पनि त्यति सजिकै सिकेका थिएनन्, चर्या नृत्य । चर्या सिक्नकै लागि उनी गुरुहरुको घर पुछ्न, भाँडा माझ्न र लुगा धुन पुग्थे । आफ्नो रहर पूरा गर्न पाँच जना गुरुहरुबाट दशवर्ष नृत्य सिकेका थिए । आफूलाई नाच सिकाएका सबै गुरुहरु अहिले जिवित नरहेको मुनिकार बताउँछन् ।‘मैले धेरै दुःखले यो नृत्य सिकेको थिएँ,’ उनले भने, ‘त्यतिबेला सिकाउने गुरुहरु धेरै हुनुहुन्थ्यो, अहिले चर्या सिकाउने कोही छैन, त्यसैले मलाई पीर लागेको छ।’

आफूले सिकेपछि अरुलाई पनि सिकाउन थाले । उनी नेपालीलाई त सिकाउँछन् नै, बेलाबेलामा विदेशी पनि सिक्न आइपुग्छन् ।
२०४० सालमा एसएलसी दिएपछि उनी चर्यातिरै लागे । एसएलसीपछिको विदाको समय चर्या नृत्यमै उनले भरपूर उपयोग गरे । चर्या सिक्नु उनको सानैदेखिको रहर थियो तर उनले जति सहज ठानेका थिए, चर्या नृत्य सिक्न त्यति सहज थिएन । विहानै उठेर नुहाउनुपर्ने, धार्मिक कार्यमा गरिरहनुपर्ने, साधना र योगाभ्यास गरिरहनुपर्नेजस्ता जटिल पक्रिया पार गर्दै उनी चर्यामा अघि बढे ।
चर्यालाई चिनाउन उनी ‘साँस्कृतिक सम्पदा सिविर’ खडा गरेर अघि बढेका पनि छन् ।

उनको घरमै पनि ‘बज्रकला कुञ्ज’ नाम दिएर सित्तैंमा नेपाली र विदेशीलाई चर्या नाच सिकाउँदै आएका छन् । उक्त शिविर र कुञ्जमा चर्या सिक्ने ३ सयसम्म विद्यार्थी आउने गर्छन् । नृत्य, कलाकार, कलेजका विद्यार्थीहरु पनि यो नृत्यमा रुची राख्छन् ।पछिल्ला चलचित्रहरुमा पनि यो नाच बढी प्रयोग हुने गरेको छ । मुनिकारको अन्तिम इच्छा चर्या एकेडेमी खोल्नु हो । यसका लागि उनलाई सरकारले सहयोग गर्नु पर्छ ।  
 

प्रकाशित: २५ जेष्ठ २०७५ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App