पहिरोग्रस्त क्षेत्रमा रातभर जाममा

शनिबार, १८ भदौ २०७३, १४ : ०३ रमेशकुमार पौडेल

काठमाडौंदेखि स्वभाविक गतिमा गुडेको हाम्रो गाडी मुग्लिन बजार कट्ने बित्तिकै पोखरा र काठमाडौं जाने दोबाटो नजिक रोकियो। रोकिनुको कारण थियो–नारायणगढ मुग्लिन सडक खण्डको सदाबाहर जाम। आज त सानो तिनो होइन ठूलै जाम छ भन्ने गाइ गुईं हल्ला चल्यो। रातको नौ बजेको थियो, अब यो रातको समयमा जाम छिचोल्दै बाटो काट्नु कष्टकर हुने पक्का थियो।

हाम्रो गाडी रोकिएको आधा घण्टा हुँदा नहुँदै उता काठमाडौं तिरबाट आएका गाडीका लामले मुग्लिन बजार नाघ्यो। यता नारायणगढ तर्फबाट एउटा पनि गाडी आउँदैन। जाम ठूलै नै रहेछ भन्ने कुरामा अब कुनै शंका रहेन। लगभग एक घण्टापछि विपरित दिशाबाट गाडीको प्रकाश आयो। मालबहाक ट्रकहरु पार हुन थाले।

जामको विषयमा सोध्ने भन्दै म गाडीबाट निस्किए। गाडीबाट ओर्लेर पल्लो साइडमा जाना साथ एउटा यात्रु बस आएर रोकियो। स–साना बच्चा काखमा लिएका तीनजना युवती ओर्लिए। नारायणगढबाट कति बेला बस चढ्नु भएको हो भन्ने मेरो प्रश्नमा उनीहरुले भने, ‘दुई बजे चढेको।’ रातको १० बज्दै थियो। ती युवती १७ सय फाँट जानु पर्ने रहेछ। त्यो गाडी त्यता नजाने। अब कुन गाडीमा जाने भन्ने पिरलो थपियो उनीहरुमा। उनीहरुलाई जस्तै पिर चिन्ता मलाई पनि थपियो। त्यहीबीचमा एउटा सानो निजी कार पनि आयो।

कारवाला चार बजे नारायणगढबाट हिँडेको भन्दै थिए।  लगत्तै एउटा एम्बुलेन्स आयो। त्यसका चालकले चार घण्टा जाममा परेको खबर सुनाए। यात्रु बस, निजी गाडी र अत्यावश्यक सेवाको एम्बुलेन्स चालकका कुराकानी सुनेपछि यो जाम चानचुने होइन भन्ने पुष्टि भयो। अब जाने कि मुग्लिनमै बस्ने भन्ने दोमन पनि नभएको होइन, तर बाटो काटेकै फाइदा हुने ठानेर आउने अफ्ठेरा भोग्ने निर्णय गरें। उताबाट गाडीहरु आउन सुरु गरेका थिए अब यताबाट हामी चढेको गाडी पनि चाडै नै चल्लान भन्ने आशा पलायो।

नारायणगढ–मुग्लिन सडक खण्डमा दुख पाउनेको बारेमा समाचार धेरै लेखियो। नयाँ कारमाथि ढुंगा बज्रिएर कच्याक कुचुक्कै भएको घटनादेखि रातमा आँखा अगाडि पहिरो खस्दा डराउँदै बसेका यात्रुसम्मका अनुभवलाई समाचार बनाइयो। तर यात्रा गर्दा बढीमा दिउँसो तीन घण्टा समय लागेको बाहेक अरु अनुभव मसँग थिएन।

तर यो बिहीबारको रात मेरा लागि फरक रह्यो। फोटो जर्नालिष्ट क्लबले आयोजना गरेको पाँचौं राष्ट्रिय फोटो प्रतियोगिताको एउटा विधाको विजेता भएका कारण भदौ १६ गते बिहीबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा सरिक भएको थियो। काठमाडौं खासै नजाने हुनाले गएको बेलामा केही दिन बस्ने बिचार थियो।

तर पुरस्कार वितरण कार्यक्रम सकिँदा नसकिँदै घरबाट फोन आयो। केही काम शुक्रबार बिहानै गर्नु पर्ने भएका कारण आजै हिँड्न अनुरोध भयो। कार्यक्रम सकिना साथ म हिँडी हाँले। तर बढीमा मध्यरातसम्म घर पुगिन्छ कि भन्ने आशा अब निरासामा परिणत हुँदै थियो। मुग्लिनमा रोकिएको त्यस्तै सवा घण्टापछि हाम्रो गाडी पनि स्टार्ट भयो। गाडी गुड्यो मन रमायो। जब गाडी चल्न थाल्यो जाम त्यति ठूलो हैन की भन्ने भान हुन थाल्यो। किन कि उताबाट पनि गाडी आएकै थिए।

मोडहरुमा मात्रै यताबाट गएको हाम्रो गाडी एकाध मिनेट रोकिँदै अगाडि बढ्दै थियो। लगभग अढाई किलो मिटर गुडेपछि विपरित दिशाबाट आउने गाडीका बत्तीको लस्कर देखियो। उज्यालो निकै पर परसम्म थियो। रोकिएका गाडीले बालेका बत्तीको यो उज्यालोले संकेत गर्यो जाम चानचुने छ भन्ने सोचेर मख्ख नपर्नु। किन कि त्यो उज्यालोको लाइन कम्तिमा पनि चार किलो मिटरको थियो होला१ नारायणगढ मुग्लिन सडक विस्तार गरेर दुई लेनको बनाउनका लागि पहाड काटेका कारण कालिखोला क्षेत्र पहिरोको उच्च जोखिममा छ। हामी कालिखोला नजिक नजिक पुग्यौं। लाग्यो ठूलै पहिरो गएको हुनुपर्छ।

कालिखोला भन्दा केही वर मुग्लिनमा जसरी नै फेरि रोकियो हाम्रो गाडी। यो बेला जामको पिरलोमाथि अर्को भयङ्कर चिन्ता थपियो। उज्यालो गाडीको बत्तीको मात्रै आएको थिएन आकास पनि उस्तै चम्कन थाल्यो। गर्जन पनि ठूलो नै आउन थाल्यो। अघिसम्म आकासबाट पानी पर्ने कल्पना गरिएको थिएन। पानी परेपछि त पहिरो खस्ने सम्भावना ह्वात्तै बढ्छ। कहाँबाट कत्रो पहिरो खस्छ केही ठेगान हुँदैन यो बाटोमा। पहिरोले यातायात मात्रै रोकिने थिएन कुनै यात्रुबस वा अन्य गाडीमा आएर बज्रने खतरा पनि उत्तिकै थियो।

यस्ता कुरा सम्झेपछि मनमा छटपटि बढ्यो । नारायणगढ तिर ठूलै पानी परेको र मिल्छ भने मुग्लिनमै बस्न सुझाव दिँदै घरबाट फोन आयो। मैले गाडी मुग्लिनबाट अगाडि बढेर वरै आएको बताएँ । तर पानीको विषयमा भने ढाँटे। पानी पर्ने अवस्था छ भनेको भए घरका मान्छेहरु निकै आत्तिनै सम्भावना थियो।

विस २०५९ सालको साउनमा झरी पर्दा यो बाटो तहस नहस भएको थियो। रोएिका यात्रु दुई दिन लगाएर हिँडेरै नारायागढ मुग्लिन वारपार गरेका थिए। अहिले झन डोजरले ताछेर छिया छिया बनाएको पहाड सर्लक्कै खस्न के बेर१ मनले राम्रोभन्दा धेरै नराम्रो सोच्न थाल्यो। तर त्यो बेलासम्म एउटा सानो राहतको कुरा के थियो भने हाम्रो गाडी रोकिएको ठाउँको पहाड बाटो विस्तारका लागि ताछिएका थिएनन्। अन्यत्र जस्तो सर्लाक सुर्लक्क पहाड खस्ने खतरा त्यहाँ कमै थियो। हेर्दा हेर्दै बिजुली र गर्जनसँगै पानीका छिटा पनि परे। पानी परेपछि मन अरु आत्तियो। फरक दिशाबाट आउँदै गरेका गाडी हेर्न थालें। ठूला ट्रकहरु सडकको छेवैबाट जान्थे। तल त्रिशुली बगेको थियो। चक्का एक इन्च मात्रै दायाँ बाँया भए सिधै त्रिशुलीमा। केही दिनअघि गौरबाट पोखरा जान लागेको बस यसरी चिप्लिँदा २२ यात्रुको ज्यान गएको थियो ।

पानी झन ठूलो पर्न थालेपछि गाडीमा आएर बसे सवै। चाँडो कुद्ने र जाममा धेरै बस्न नपर्ने विषेशताका कारण नारयणगढ मुग्लिन सडकमा माइक्रोबसको यात्रा गर्छन् धेरैले। हामी पनि माइक्रोमा नै चढेका थियौं। तर अहिले त्यो माइक्रोसँग छिटो अगाडि बढ्ने कुनै उपाए थिएन। पानी पर्न थालेपछि हाम्रो गाडी पनि स्टार्ट भयो। उताका गाडी रोकेर अब यताका पास हुने पालो आएछ। अब गाडी अगाडि बढ्नु भनेको पहिरोको अति सम्भावित जोखिम क्षेत्र कालीखोला टोपे खोला क्षेत्रमा पुग्नु थियो। जहाँ पानी परेका बेलामा मात्रै होइन सुख्खा पहिरो पनि खसेर बाटो खोल्न १४ घण्टासम्म लागेको थियो।

 त्यसैले गाडी चल्दा पनि कुनै खुसी लागेन। पानीको गति बढे पनि हाम्रो गाडीको गति सुस्त नै थियो। लगभग एक किलो मिटर गुडेपछि रोकियो । अस्ती बस खसेको ठाउँभन्दा केही पर आएर रोकियो हाम्रो गाडी। पानी परेको पर्यै छ। त्यसैले गाडीबाट झर्ने कुरा भएन। तर उताका गाडी भने लगालग आएका छन्। त्यसैले कालीखोला टोपे खोलामा पहिरो गएको रहेन छ कि भन्ने लाग्यो। गाडीबाट ओर्लन नपाएपछि यात्रु गफमा मस्त भए। गाडी रोकिएको अलि बेर भएको थियो एकजना भने निकै आक्रोशित भए। ‘उताबाट एकोहोरो गाडी आएको छ यताबाट जानै नदिने यस्तो पनि हुन्छ। लगेर गाडी बाटोमा तेर्साउ’ उनी चालकलाई भन्दै थिए।

 तर सदावहार जामका अनुभवी माइक्रोचालक उनलाई सम्झएर बस्न भन्दै थिए। ती मान्दै मानेनन्। उनी देश र सरकार मन्त्रीलाई गाली गर्न थाले। एक पटक फोन गरेर कसैसँग सोध्दै थिए– ‘म बिरामी मान्छे जाममा परेको तीन घण्टा हुन थाल्यो। प्रधानमन्त्री, गृह मन्त्रीको नम्बर छैन, छ भने त थर्काउनु पर्यो चोरहरुलाई१’ सायद ती विदेश बसेर नेपाल फर्केका हुनुपर्छ। उनी खत्तम देशका खत्तम नेता भन्दै बर्बराउन थाले। केही बेरपछि उनी अरु यात्रु तिर पनि खनिए। ‘यसरी तपाइँहरु गाडीभित्रै चुप लागेर बस्ने, हिँड्नु आउनुस मसँग’ उनी ढोका खोल्न लागे। अब यस्तो बेलामा बाहिर गएर पानीमा रुझ्नु बाहेक केही फाइदा थिएन। सवैले सम्झाएर उनलाई शान्त बनाइयो।

उनी शान्त भए लगत्तै हामी तर्फका गाडीपनि चल्न थाले। बसले कालीखोलाको पुल तर्यो। पुलभन्दा केही पर एकजना ट्राफिक रेनकोट लगाएर खटेका रहेछन्। ट्राफिकका रुपमा राज्य देखिए त्यहाँ। ठूलै पहिरो गएको होला र गाडी रोएिको होला भनेको बाटोमा ठूलो ट्रक बिग्रेर बसेका कारण ओहोर दोहोरमा समस्या भएर गाडीको लाम लागेको रहेछ।

ती प्रहरी पालो मिलाउँदै घरी उताका घरी उताका गाडी पठाउँदा रहेछन्। देशको सामथ्र्यले सक्ने काम यत्ति नै त हो भन्दै सवै यात्रुले मनै मनले ती ट्राफिक दाइलाई धन्यवाद दिँदै बाटो लाग्यौं। अब बस कालीखोला टोपे खोला जस्ता जब्बर पहिरो ग्रस्त क्षेत्रमा छ। यहाँबाट जलबिरे नकट्दासम्म पहिरोको उच्च जोखिम छ भनेर पटक पटक समाचार लेख्ने म नै आज त्यही छु त्यो पनि झमझम पानी परेको मध्यरातमा। यो ठाउँमा बस रोकिएरु ओहो के के हुने हो मनले अनेक सोच्यो । बस नरोकियोस भन्ने कामना पूरा भयो, रफ्तार कम भए पनि कतै नरोकिइ बसले जलबिरे काट्यो। बल्ल लामो स्वास फेरियो। किन कि जलबिरे उता पहिरोको उच्च जोखिम यताको जस्तो खासै छैन।

गाडी जलबिरेबाट सरसर अगाडी बढ्न थाल्यो। गति पनि तेज भयो। जामका लक्षण मेटिदै गए। पानी झमझम परेको छ। सीमलताल पुग्ने बेलामा बल्ल गाडीको लाम देखा पर्न थाल्यो। हाम्रो गाडीको पनि  गति न्युन भयो। सिमल ताल हुँदै घुमाउने कटेर केही अगाडि बढेपछि जाम सुरु भइ हाल्यो। जलबिरे कटेपछि नारायणगढ तर्फबाट कुनै गाडी आएका थिएनन्। अगाडि जाम परेको हुन सक्ने अन्दाज अहिले पक्का भयो।
   हाम्रो गाडी केही बेर रोकियो। त्यसपछि यँहा त नबस्ने अगाडि जाने भो भन्दै चालकले गाडी कुदाए । चार पाँच किलो मिटर कुदेपछि पुलमाथि लगेर गाडी रोके । तल खोला उर्लेको छ दाहिने तर्फ त्रिशुलीको बेग उस्तै छ। माथिबाट अलि अलि भए पनि पानी परेकै छ। कालीखोला टोपे खोला क्षेत्रको पहिरोको खतरा पो टरेको हो यता पनि पहिरो नजाला, पुल न भत्किएला भन्ने ग्यारेन्टि केही थिएन । चालक सुरक्षित ठाउँ खोज्न लागे। अगाडि बढेको बढ्यै निकै पर गएर एक ठाउँ अलि कति ग्याप देखेर गाडी हुले। विपरित दिशाबाट गाडी नआएको घण्टौं भएका कारण अगाडी बढ्न सहज भएको थियो। जहाँ गाडी रोकिएको थियो। त्यहाँ पहाड काटिएको थियो । एकजना टर्च बालेर आउँदै थिए।
टर्च बोक्ने उनलाई माथि उज्यालो देखाउनु त भनियो। ओ हो टुप्पामा दुईवटा रुख ठिङ्ग उभिएका। के थाहा पानी बग्न थालेपछि रुख पनि तल आउन सक्थे। त्यस्तो ठाउँमा बस्न उपयुक्त छैन भन्दै अगाडि बढियो। निकै पर गएपछि खाली ठाउँ देखेर चालकले गाडी साइड लगाए। हामीले यसो गर्न लागेको लगभग दुई घण्टा भयो उताबाट एउटा गाडी अझसम्म आएको छैन। केही बेरपछि एउटा मोटरसाइकल र स्कुटर आए। रोकेर सोधेको दासढुंगामा पहिरो गएर कार पुरेको र अहिले कार पनि निकालेका कारण १०÷१५ मिनेटमै बाटो खुल्ने बताउँदै उनीहरु गए। हामी दासढुंगा नजिक नजिक थियौं।

गाडीका धेरै यात्रु र चालक निदाए। पानी केही कम भयो। तर म निदाउन सकिन बाहिर निस्किए। मोटरसाइकलवाला गएको एक घण्टा हुन लाग्यो उताबाट गाडीको केही संकेत आउँदैन। हाम्रा पछाडि कम्तिमा गाडीको लाइन पाँच किलो मिटर पुग्यो होला तर यति गाडी भएको ठाउँ सुनसान, खाली त्रिशुली सुस्ताको मात्रै सुनिन्छ। चितवन जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा जति बेला पनि फोन गरे उठ्छ भन्ने सुनेको हुँदा राति साढे एक बजे मोबाइलबाट ५२४२४१ नम्बर डायल गरे।

लामो समय घण्टी गयो र अन्तिममा तपाइले सम्पर्क गर्नु भएको नम्बर उठेन भन्ने सन्देश आयो। फेरि १०० मा डायल गरे यो पटक पनि उस्तै भयो। मुग्लिन प्रहरीमा डायल गरे त्यो फोन पनि उठेन। जुुगेडी प्रहरी चौकीको नम्बर थिएन तर त्यही फोन गर्नुको विकल्प रहेन। नेपाल टेलिकमको सोधपुछ शाखामा फोन गरेको बरु त्यहाँको फोन भने उठायो तर जुगेडी प्रहरी चौकिको फोन नम्बर भने छैन भन्यो । त्यसपछि गाडीमा आएर बसे । पहिरो पो खस्ने हो कि भन्ने त्रास मनमा उस्तै थियो । राति तीन बजे तिर बल्ल विपरित दिशाबाट गाडीको उज्यालो आयो । गाडीको कल्याङ मल्याङ सुनियो।

हाम्रो गाडी स्टार्ट भयो। उताबाट प्रहरी चढेको बाइक अगाडि लागाएर गाडी आएका रहेछन्। धन्न यस्तो रातमा प्रहरीको केही समूह सडकमै रहेछन्। उताको गाडीको लाइन कटेको केही बेरपछि हाम्रो गाडी पनि अगाडी बढ्यो। दासढुंगा आएपछि हेरियो यहाँ त ठूलो पहिरो गएको संकेत केही थिएन। लगभग तीन बजे हिँडेको हाम्रो गाडी नारायणगढ आउँदा पाँच बजेको थियो। मुग्लिन आएको आठ घण्टापछि नारायणगढ छिचोलियो। मुग्लिनमा रोकिँदा भयङ्कर पहिरो गएको होला भनेर सोचे पनि पुरै बाटो हिँडेपछि दासढुंगामा सानो पहिरो खसेको बाहेक अन्यत्र पहिरोको समस्या नै रहेनछ ।  तै पनि यति लामो समय जाम किन तरु

सानो पहिरो गएपछि लामो समयसम्म जामको समस्या कायमै रहने अवस्थाको सिकार हामी भएका रहेछौं। बुधबार राति कतै कतै गएका साना साना पहिराले निम्त्याएको जामको समस्या २४ घण्टा बिते पनि कायमै थियो। जाम भएपछि गाडी कसरी पास गराउने भन्ने व्यवस्थापकीय चुस्तता अपनाउन सकेको देखिएन। रातको समयमा जाम हुना साथ गाडी रोकेर निदाउने चाहलकले गर्दा पनि छिटो छिटो गाडी सर्न गाह्रो हुँदो रहेछ। हामी दासढुंगा कटेर आउँदा जुगेडी र रामनगर क्षेत्रमा रोकिएका बस र ट्रकका चालकहरु निदाएका थिए । जब कि उनीहरु अगाडी बढे कुनै समस्या थिएन । मुग्लिन देखिको जाम रामनगरसम्म कायमै थियो ।

पहिरो गएपछि त्यसलाई हटाएरै मात्रै पनि समस्याको सामधान नहुने देखियो । चालकहरुको ब्यवहारले पनि जाम बढाउनेसमस्या थपेको रहेछ । एक पटक पहिरो गएपछि दुई तीन दिनसम्म त्यसको असर कायम रहने समस्या यो मात्रै होइन सधै नै यस्तै रहेछ । जुन सुकै बेला पहिरो गएर ठुलो दुर्घटना हुन सक्ने क्षेत्रको हालत यस्तो रहेछ ।

रातका समयमा यस्तो जामले थप त्रास बढाउँछ । प्रहरीको फोन समेत उठ्ने भए अलि राहत हुन्थ्यो कि रु बिरामीदेखि बालक वृद्धासम्म यात्रामा हुन्छन् । सवैले मन दह्रो बनाउन सक्दैनन् । जाममा बसेका बेलामा पानीसमेतखान नपाउने ठाउँ छ । यस्तो ठाउँमा ठुलो पहिरो नगए पनि सात आठ घण्टा जाममा पर्नु सानो समस्या होइन ।

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad