८ वैशाख २०८१ शनिबार
अर्थ

विमानस्थलकाे काममा ढिलाइ

खोटाङ– सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क विमानस्थल कालोपेत्रको काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । म्याद गुज्रिनै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थलको कटिङ, फिलिङ, ग्याबिन, मेसिनरी, सब–बेस लगायत काम मात्र सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए।

०७५ असार मसान्तभित्र सम्पन्न गर्नेगरी रौता कन्स्ट्रक्सनले ०७३ बाट प्रारम्भिक चरणको काम सुरु गरेको विमानस्थलको हाल बेस राख्ने काम भइरहेको छ ।’ बेस राख्ने काम केही दिनमा सकिन्छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘बेस राख्ने काम सकिएपछि अस्फाल्ट कंक्रिटको काम हुन्छ ।’ वर्षाको पानीले असर नपुर्याए सरासर काम हुने श्रेष्ठको भनाइ छ । विमानस्थलको काम ढिला गरेकामा जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनी रौता कन्स्ट्रक्सनको नाम कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

विमानस्थल कालोपत्रेका काम सुस्त भएपछि २०७४ माघ ८ गते प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा कार्यतालिका नै बनाइएको थियो । सो कार्य तालिकाअनुसार ठेकेदारले जेठ मसान्तभित्रमा अस्फाल्ट कंक्रिटका काम सम्पन्न गर्नेगरी लिखित प्रतिबद्धता गरेका थिए । हाल रोलरले धावनमार्गमा बेस थिच्ने काम भइरहेको भए पनि ढिलासुस्तीका कारण बाँकी रहेको समयभित्र विमानस्थल कालोपत्रेका काम पूरा हुने सम्भावना कम देखिएको स्थानीय बताउँछन्।

दुई वर्षमै पूरा गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार लागतमा विमानस्थल कालोपत्रेको काम थालिएको हो । तर, विमानस्थल कालोपेत्रको काममा ठेकेदारको चरम ढिलासुस्ती भएको गुनासो छ । ‘ठेकेदारले जसरी पनि असार मसान्तभित्र काम सक्नुपर्ने हुन्छ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘म्याद थप्ने र गुणस्तरका बिषयमा कुनै सम्झौता हुन सक्दैन ।’

खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम ढिलाइ भएपछि खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारण आक्रोसित छन् । कालोपत्रेका काम सुरु गरिएसँगै थामखर्कमा २०७३ चैत १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थलका स्टेसन इन्चार्ज नरेन्द्र उदासले बताए । रौता कन्स्ट्रक्सनले कालोपत्रेको काम ठेकेदार महेश रेग्मीको जिम्मामा छाडेको हो । २०७२ मा डिटेल सर्भे गरिएको विमानस्थल कालोपत्रेका लागि आव ०७२÷७३ मा साँढे पाँच करोड बजेट छुट्ट्याइएको थियो।

दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्षित गरेर २०५६ देखि उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षा लागेसँगै अवरुद्ध हुने गरेको छ । थामखर्क विमानस्थलबाट जिल्लाका दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका २० वडासहित छिमेकी जिल्ला भोजपुरका केही स्थानका सर्वसाधारणसमेत लाभान्वित हुँदै आएको छ । सडक यातायात सुविधा नपुगेको त्यस क्षेत्रमा थामखर्क विमानस्थल एकमात्र यातायातको विकल्प रहेको छ । बाह्रै महिना उडान नहुने भएका कारण स्थानीय बिरामी पर्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App