७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजपालाई असारसम्म महाधिवेशन गर्न निर्देशन

काठमाडौं – पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा पनि महाधिवेशन गर्न अलमल गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले अगामी असार २९ सम्म महाधिवेशन गर्न निर्देशन दिएको छ।

आयोगले बिहीबार राजपालाई चिठी पठाएर पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गरी त्यसको जानकारी आयोगमा पठाउन निर्देशन गरेको हो। राजपा निर्वाचन आयोगमा गत असार ३० गते दर्ता भएको थियो। आयोगमा दर्ता भएको मितिले एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने आयोगले जनाएको छ। राजपाले आयोगमा पार्टी दर्ता गर्दा एक वर्षभित्र महाधिवेशन गर्ने जानकारी गराएको थियो। राजपा आयोगमा असार ३० गते पार्टी दर्ता भए पनि राजापका नेताहरूले गत वर्ष वैशाख ७ गते राजपा गठन गरेको घोषणा गरेका थिए। तत्कालीन तराइ मधेस लोकतान्त्रि पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण भई राजपा गठन गरिएको थियो।

आयोगमा दर्ता गर्दा राजपाले एक वर्षभित्र महाधिवेशन गर्ने जनाएको थियो ।

आयोगका प्रशासन अधिकृत घनचन्द्र तिमिल्सनाले राजपा निर्वाचन आयोगमा दर्ता भएको मितिले एक वर्षभित्र महाधिवेशन गर्न राजपालई चिठी पठाएर निर्देशन गरिएको बताए। उनले भने, ‘राजपा आयोगमा दर्ता गर्दा राजपाले एक वर्षभित्र महाधिवेशन गर्ने जनाएको थिया । सो प्रतिबद्धताअनुसार असार २९ गते महाधिवेशन गर्न हामीले राजपालई चिठी पठाएर निर्देशन गरको हौँ।’ कथमकदाचित एक वर्षभित्र महाधिवेशन गर्न नसके पार्टी विधानअनुसार आवस्यक कारण देखाई महाधिवेशन गर्न ६ महिना म्याद गर्न सकिने प्रावधान रहेको पनि उनले बताए। राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले भने निर्वाचन आयोगको चिठीबारे औपचारिक जानकारी नभएको बताए।

एक वर्षभित्र महाधिवेशन गर्न राजपाले गरेको अलमलको बारेमा राजपका दोस्रो तहका नेता नै अलमलमा परेका छन्। महाधिवेशनबारे पार्टी भित्रै कुनै तयारी नभएको उनीहरूको भनाइ छ। राजपामा हाल भएका ६ वटा अध्यक्षलाई महाधिवेशनपछि कसरी व्यवस्थापन गर्ने समस्या देखिएको छ। महाधिवेशनपछि पनि पार्टीमा एउटा अध्यक्ष राख्ने कि ६ वटा अध्यक्ष राख्ने भन्ने भन्ने विषयमा टुंगो लगाउन पार्टीमा छलफलसमेत भएको छैन। राजपाले महाधिवेशनका विषयमा मात्र अलमल गरेको छैन, प्रतिनिधिसभाको चुनाव भएको करिब ७ महिना हुन लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन।

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App