६ वैशाख २०८१ बिहीबार
अर्थ

टेलिकमको अप्टिकल फाइबर ३७५ किलोमिटर

काठमाडौं – नेपाल टेलिकमले हालसम्म तीन ७५ किलोमिटर अप्टिकल फाइबर नेटवर्क जडान गरिसकेको जनाएको छ । कम्पनीले २०७५ असार मसान्तसम्म चार सय किलोमिटर एडिएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

आर्थिक वर्ष २०७५- ७६ को पहिलो त्रैमासमा थप चार सय ५० किलोमिटर जडान गरी हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ ।हालसम्म सम्पन्न नेटवर्कमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर छन् । त्यसैगरी, तामाकोसी पुल–खिम्ती–मन्थली–सिन्धुली ११५.८० किलोमिटरमध्ये ९० किलोमिटर सम्पन्न भएको छ ।

बेनी–जोमसोम ११३.४४ किलोमिटरमध्ये ९५ किलोमिटरमा जडान भएको छ ।बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगन्ज र कोहलपुर–लम्की जोड्ने १६३.२ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क सञ्चालनको तयारी छ । त्यस्तै केरखा–कोरोबारी र गौरादह–कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ । स्याफ्रुबेसी–रसुवागढी १५ किलोमिटरमध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ भइरहेको छ।

अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकाम र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरु आवद्ध हुनेछन् । ती पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायत जिल्ला हुन् । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बिटिएस र १९ रिपिटरमा अप्टिकल फाइबर जोडिने छ।

हालसम्म नेपाल टेलिकमले ५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ । चालु आयोजना सम्पन्न हुँदा ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे सुरु भइसकेको छ । यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्ध रुपमा कार्य सम्पन्न गर्ने योजना टेलिकमको छ।

कम्पनीले यसअघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बागलुङ, उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम, सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, लमजुङ र रसुवा जिल्लाका सदरमुकामलाई अप्टिकल फाइबर नेटवर्कबाट जोडिसकेको छ । अप्टिकल फाइबर नेटवर्क विस्तार भएपछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुनेछ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले यो योजनालाई अगाडि बढाइरहेको  छ ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App