६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित

मकवानपुर– प्रदेश नम्बर ३ को आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १८ गते प्रस्तुत भएको नीति तथा कार्यक्रम विहीबार बसेको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)ले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए भने विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)भने तटस्थ बसेका थिए। आफ्नो संशोधन प्रस्ताव सरकारले सम्बोधन गर्ने भएपछि नीति तथा कार्यक्रमबारे मौन बस्ने निर्णय गरेको विवेकशील साझाका संसदीय दलका नेता रमेश पौड्यालले बताए।

हाल १ सय ९ प्रदेश साँसद रहेको प्रदेश नम्बर ३ मा सत्तापक्ष नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का ८०, प्रमुख विपक्षी नेपाली कांग्रेसका २१, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपा र राप्रपा(प्रजातान्त्रिक) का १–१ र एक स्वतन्त्र साँसद छन्।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उठेका प्रश्नहरुको प्रदेशसभामा जवाफ दिदै नीति तथा कार्यक्रम समृद्धिमा केन्द्रित भएको दावी गरे। उनले सरकारले प्रदेशको समृद्धिलाई प्रमुखता दिएको तर्क गर्दै विपक्षीले अनावश्यक विरोध गरेको जिकिर गरे।

‘विपक्षीले विरोधका लागि विरोध गरे पनि नीति तथा कार्यक्रमको सबै क्षेत्रबाट स्वागत भइरहेको छ,’ उनले भने, ‘मलाई अमेरिका, युरोप लगायतका देशबाट अन्य प्रदेशको भन्दा नीति तथा कार्यक्रम उत्कृष्ट छ भनेर म्यासेज आइरहेको छ।’

काठमाडौंका उच्च बुद्धिजीविहरुले पनि नीति तथा कार्यक्रम निक्कै उत्कृष्ट भनेर स्वागत गरेको भन्दै उनले प्रतिपक्षीहरुले आलोचना गर्नै पर्ने भएर मात्र आलोचना गरेको तर्क गरे।

नीति तथा कार्यक्रममा धेरै सकारात्मक विषयहरु समावेश रहेको भन्दै उनले नीति तथा कार्यक्रम कार्यान्वयन भएमा चार वर्षभित्र प्रदेश समृद्धिको दिशामा अघि बढ्ने बताए।

प्रदेशसभामा जवाफ दिने क्रममा करिब २५ मिनेट खर्चिएका मुख्यमन्त्री पौडेलले विपक्षीहरुले नीति तथा कार्यक्रम पढ्दै नपढी आलोचना गरेको भन्दै रोष प्रकट गरे। ‘पढ्दै नपढी आलोचना गर्नु भएको छ, बुझ्दै नबुझेको हो वा बुझ पचाएको हो,’ उनले भने, ‘महिला, बालबालिका लगायतको क्षेत्रमा उठेका सबै विषयहरु नीति तथा कार्यक्रममा अटाएका छन्, एक पटक पढ्नुस्, मैले यसको जवाफ दिनै पर्दैन।’

प्रदेश सरकारले २०८५ बैशाख १ गतेदेखि विभिन्न सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी निषेध गर्ने नीतिको विपक्षी साँसदहरुले चर्को आलोचना गरे पनि उनले सरकार पछी नहट्ने बताए। मुख्यमन्त्री पौडेलले सवारीका कारण बढ्दो प्रदुषण र चाप नियन्त्रण गर्न यस्ता सवारीमा प्रतिबन्ध क्रमशः लगाइने स्पष्ट पारे।

प्रदेश ३ को नीति तथा कार्यक्रममा प्रदेश निर्माण कम्पनी स्थापना गर्ने नीति लिइने उल्लेख गरिएकोमा विपक्षी दलका साँसदहरुले चर्को आलोचना गरे। तर मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले ठूला विकास निर्माणका लागि साझा निर्माण कम्पनीको रुपमा अघि बढाउने र रेमिट्यान्स रकमलाई शेयरको रुपमा लगानी गर्न प्रोत्साहित गरिने बताए।

प्रदेश सरकारले एक सय मेघावाट विद्युत मात्रै उत्पादनको लक्ष्य लिएको भन्दै विशेषगरि विपक्षी साँसदहरुले असन्तुष्टि जनाएका थिए। नीति तथा कार्यक्रममा गुठी जग्गाको विषयमा शब्द गल्ती भएको स्विकार्दै मुख्यमन्त्री पौडेलले सबै गुठीको जग्गालाई रैकरमा परिणत नगरिने बताए।

यता, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले विपक्षीको उत्कृष्ट सुझावलाई पनि सरकारले वेवास्ता गरेको आरोप लगाए। ‘हामीले सरकारको राम्रा कामको समर्थन गर्दै आएका थियौ, तर धेरै राम्रो सुझाव दिँदा पनि सरकारले समेटेन,’ उनले भने, ‘सरकारले कार्यान्वयन गर्ने बेला यी विषयहरुको गम्भीरता बुझ्ने छ, जनताले मुल्याङ्कन गर्नेछन्।’ गरिब र सर्वहाराको भन्ने पार्टीको सरकारले गरिब र जनताकै विषय उठान गर्दा समेत नीति तथा कार्यक्रममा नसमेट्दामा दुःख लागेको उनको भनाई छ।

सत्तापक्ष नेकपाका (तत्कालिन नेकपा एमालेका मुख्य सचेतक) रामेश्वर फुँयालले उत्कृष्ट रहेको नीति तथा कार्यक्रममा प्रतिपक्षका मुख्य विषयहरु समेटिएको दावी गरे। ‘विपक्षीले उठाएका केही बिषयहरु संघीय सरकारको क्षेत्राधिकारका हुन्,’ उनले भने ‘त्यसैले प्रदेश सरकारले सम्बोधन गर्न नसक्ने भएकाले समेट्न सकेन।’

प्रकाशित: २४ जेष्ठ २०७५ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App