coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

काठमाडौं– उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको बताएका छन्। ‘मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उनले भने, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार हो। समग्र मुलुकको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ।’

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको ‘साकोस शिखर गोष्ठी–२०७५’ लाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले मुलुकको अर्थतन्त्रमा सहकारीको योगदानको प्रसंशा गर्दै अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताए। 

‘हरेक क्षेत्रमा देखिएको नीतिगत समस्यालाई अपडेट गरि समृद्ध मुलुक निमार्णमा सबै क्षेत्र एकताबद्ध भएर लाग्नु पर्दछ’, उनले भने, ‘नीतिगत समस्याको संसोध र नयाँ ऐन, नीति नियम निमार्णमा सरकार तयार छ।’ उनले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भ मध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ भएको स्पष्ट पारे। 

त्यस्तै कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले सहकारीहरुको पुँजी सहि तबरले सञ्चालन गर्न नसकिएको बताए। ‘सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ’, उनले भने, ‘उत्पादन मूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरु केही छन् भने कानूनी अवरोध फकाउन सरकार तयार छ।’ कानुनी अवरोधलाई हटाई समृद्ध मुलुक निमार्णका लागि सहकारीको पुँजी परिचालन गरी हातेमालो गरी अघि बढ्न सरकार तयार रहेको उनको भनाई थियो। 
‘सहकारीहरु उत्पादन मै केन्द्रित हुनु आवश्यक छ। यदी सहकारी उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरु सहकारी रहँदैनन्’, उनले भने, ‘लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ।’

त्यसैगरी कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताए। 

उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्ने तर्फ सहकारीलाई लाग्न उनले सुझाव दिए। ‘सरकारको नीति तथा कार्यक्रमको पालन गर्ने काम पनि सहकारीले गर्न सक्छ। जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ’, सचिव मैनालीले भने। सहकारीले नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय काम गर्न सक्ने उनको भनाई थियो।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष केशवप्रसाद बडालले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लगानी गरी काम गर्न तयार रहेको र कानूनी  अवरोधले  काम गर्न नसकेको बताए। ‘हरेक क्षेत्रमा सहकारीले उदाहरणीय काम गर्न सक्षम छ’, अध्यक्ष बडालले भने, ‘मुलुकको विकास र समृद्धिका लागि सहकारीलाई विविध क्षेत्रमा काम गर्ने वातावरण हुने हो भने सहकारीले नमूना काम गरेर देखाउने छ।’ केही सहकारीमा विकृति देखिएको र उक्त विकृतीलाई हल गर्दै सहकारी अभियान अघि बढ्नुपर्ने बताए। 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डिबी बन्नेतले सहकारीमा कर समस्या देखिएको र बजेटमा करका विषय सम्बोधन नगरेको दुःख व्यक्त गरे। कर समस्याको समाधान गर्न कार्य दल गठन भएको र कार्यदलमार्फत सम्बोधन हुने आशाबादी रहेको बताए। साकोस शिखर गोष्ठी अर्थपूर्ण र उपलब्धीमुलक हुने बताए।

विभिन्न कार्यपत्र प्रस्तुत 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा तेस्रो साकोस शिखर गोष्ठी राजधानीको सोल्टी होटलमा सुरु भएको छ। 

‘समावेशी आर्थिक विकास ः साकोस एकरुपताका लागि कानुनी संहिताको पुनर्सरचना’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठी  शुक्रबारसम्म चल्नेछ। गोष्ठीमा विभिन्न जिल्ला र एशियाका विभिन्न मुलुकका सहकारीका अग्रज सहित करिब ६ सय जनाको सहभागिता रहेको छ।

बिहीबार ‘साकोस अभियानको उपलब्धि, एकरुपता प्रणाली र कार्यदिशा’, ‘साकोस संचालनमा स्तरीकरण, ब्राण्ड निर्माण र व्यवस्थापन’, ‘वित्तिय सहकारीहरुमा जोखिम सुपरिवेक्षण, आन्तरीक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास’, ‘समावेशी आर्थिक विकास, वित्तिय शिक्षा पहुँच अभिवृद्धि र अवसरहरु’ र ‘विद्यमान नयाँ सहकारी ऐन, सहकारीको प्रवद्र्धन नियमन र क्षमता विकासमा तहगत व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत भएका थिए। 

त्यस्तै गोष्ठीको दोस्रो दिन ‘वित्तिय सहकारीमा स्थिरीकरण कोष, सुरक्षित अभियानको परिकल्पना’, ‘प्रविधि र पहुँच, सहकारीकालागि भरपर्दो विद्युतिय वित्त’, ‘समग्र विकासमा सहकार्य र योगदान, दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’, ‘साकोस एकिकरण, अवसर र अभियानको आवश्यकता’, ‘सहकारी मार्फत उत्पादन, बजारिकरण र  प्रतिस्पर्धी स्थानको अवधारणा सम्भावना र चुनौती’ र ‘सहकारीहरुमा प्रभावकारी मानवश्रोत व्यवस्थापन, सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रतुती र छलफल हुनेछ। नेफ्स्कूनले हरेक तीन/तीन वर्षमा साकोस शिखर गोष्ठी गर्दै आएको छ।

प्रकाशित: २४ जेष्ठ २०७५ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App