८ वैशाख २०८१ शनिबार
समाज

रसुवागढी नाकामा एक साताभित्रै एकिकृत भन्सारको निर्माण कार्य सुरु हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी।    तस्बिर/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माणका लागि बाटो खुलेको छ। 

१७ महिनाअघि सर्वोच्च अदालतमा परेको रिट निवेदन बिहीबार खारेज भएसँगै एकिकृत भन्सार निर्माणका लागि बाटो खुलेको हो। न्यायाधिस चोलेन्द्र शम्शेर जबरा र डम्बर बहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको हो। 

मुद्दाको फैसला भएकाले एकिकृत भन्सारको निर्माण कार्य एक साताभित्रै सुरु हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाले जनाएको छ। ‘मुद्दाको कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन्, डिभिजन प्रमुख धिर फडेराले भने, अबको एक सातामा निर्माण कार्य सुरु हुन्छ।’

डिभिजन मार्फत श्यामसुन्दर रबिना जेबीले भवनको निर्माण गर्न लागेको हो। एकिकृत भवन ३ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ। निर्माणमा अवरोध नआएमा तोकिएको समयमा नै निर्माण सम्पन्न हुने डिभिजन प्रमुख फडेराले बताए। 

एकिकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन तथा एकिकृत जाँच चौकी रहने छ। भवन निर्माण पश्चात चेकजाँच गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए। 

भवन निर्माणका लागि ५४ करोड ५ लाख ५५ हजार ८ सय १९ रुपयाँ खर्च हुने छ। आफुले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुष १९ गते सर्वोच्च अदालतमा रिट हालेको थियो।  त्यसैगरी, रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राख्नका लागि तयारी सुरु भएको छ। सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिन लागिएको हो। 

रसुवागढी नाका नजिकै निर्माण गरिएको प्रिफेब्रिकेटेड भवनबाट एक हप्ताभित्र सेवा सुरु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कोइरलाले बताए। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। 

चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

प्रकाशित: २४ जेष्ठ २०७५ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App