बाँके – आयोजक नेपालगन्ज–११ लाई ४–२ ले पराजित गर्दै साबिक विजेता लाली रूपन्देही–११ टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
खजुरास्थित न्यु डाँफे स्पोटर्स क्लबको मैदानमा रूपन्देहीका लागि फोना, सेला, ग्लोवरी जोन र जनक कार्कीले गोल गरेका थिए । आयोजकका तर्फबाट कर्ण लिम्बु र विभूषण केसीले गोल गरे।
घरेलु टोलीविरुद्ध रूपन्देहीले सुरुआतदेखि बिना दबाब खेलेको थियो । वर्षाले भिजेको मैदानमा फोनाले १५औं मिनेटमा गोल गर्दै रूपन्देहीलाई अग्रता दिलाएका थिए । फोनाको गोलबाट उत्साही भएको रूपन्देहीले खेलमा क्रमशः दबाब बढाउँदै लगेको थियो । २१औं मिनेटमा सेलाले गोल गरेपछि रूपन्देही २–० ले अगाडि बढेको थियो।
लगत्तै २२औं मिनेटमा ग्लोवरीले गोल गर्दै पाहुना टोलीलाई खेलमा थप बलियो बनाए । उत्कृष्ट प्रदर्शन गरेका ग्लोवरी खेलको म्यान अफ दी म्याचबाट पुरस्कृत भए । उनलाई केएल दुगडका जनरल म्यानेजर प्रदीपकुमार छाजेरले कलर्स मोबाइल प्रदान गरे । ग्लोरीलाई फाउल हानेपछि पाएको पेनाल्टीमा रूपन्देहीका लागि जनक कार्कीले चौथो गोल गरेका थिए।
जित हासिल गरेको रूपन्देहीले शनिबार फाइनलमा सुदूरपश्चिम ११ र सिएमजी क्लब संकटाबीचको विजेतासँग प्रतिस्र्धा गर्नेछ । आयोजक नेपालगन्जले पहिलो खेलमा विभागीय टोली एपिएफलाई २–० ले पराजित गरेको थियो । पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपालगन्जले घरेलु मैदानमा उत्कृष्ट प्रर्दशन गर्ने प्रयास गरेको थियो । तर रूपन्देहीको चुनौतीलाई पनि पन्छाउन सकेन।
हारपछि नेपालगन्जका प्रशिक्षक युवराज शाहीले खेलाडीको समन्वय नमिल्दा हार भएको बताए । तर प्रतियोगिताले नेपालगन्जलाई आगामी संस्करणका लागि उत्साह प्रदान गरेको बताए । उनले भने, ‘हामीले आज सोचेजस्तो खेल्न सकेनौं । हारबाट हामीले सिकेर अगाडि बढ्नुपर्छ ।’ बुधबार आयोजकले कर्ण लिम्बुलाई खेलाएको थियो । तर कर्णले पूरा समय भने खेल्ने सकेनन्।
रूपन्देहीका प्रशिक्षक पुकार गहतराजले फाइनल जित्नका लागि टोली तयार भएको बताए । उनले भने, ‘सुरुको खेलमा भनेजस्तो प्रदर्शन हुँदैन । तर गोल गरेपछि खेल्न सहज भएको थियो । सुरुआतमै अग्रता लिएर पनि दोस्रो हाफमा हामीले दबाब महसुस गरेका थियौँ । तर त्यो धेरै समय थिएन ।’ प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा प्रतियोगिताको पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११ र सिएमजी क्लब संकटाले खेल्नेछन्।
प्रकाशित: २४ जेष्ठ २०७५ ०४:२२ बिहीबार