६ वैशाख २०८१ बिहीबार
अर्थ

पश्चिम सेती अझै विचाराधीन

काठमाडौं- बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना चाइनाको थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन वा सरकार आफैंले बनाउने भन्ने विषय अझै बिचाराधीन रहेको छ ।उक्त आयोजनाबाट थ्री गर्जेजले हात झिक्यो भन्ने समचार बाहिर आएपछि लगानी बोर्डले यस्तो खुलासा गरेको हो ।

लगानी बोर्डले पश्चिम सेती आयोजनाका सम्बन्धमा एक समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाइसकेको र उक्त प्रतिवेदन बिचाराधीन अवस्थामा रहेको बोर्डले प्रस्ट पारेको छ । आर्थिक वर्ष २०७५-०७६ को बजेटमा स्वदेशी स्रोत परिचालन गरी उक्त आयोजना निर्माण सुरु गर्ने उल्लेख छ।

‘गत फागुन २५ मा सम्पन्न बोर्डको २९औं बैठकले यस सम्बन्मा सुझाव दिन समिति गठन गरेकोमा समितिले आफ्नो प्रतिवेदन लगानी बोर्डसमक्ष पेस गरिसकेको छ,’ बोर्डका सहसचिव एवं प्रवक्ता उत्तमभक्त वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रतिवेदन हालसम्म बोर्डमा विचाराधीन रहेको र सो सम्बन्धमा कुनै निर्णय भइनसकेको बेहोरा जानकारी गराउदँछु ।’

प्रदेश ७ मा रहेको उक्त आयोजना सम्बन्धमा हालै सार्वजनिक भएको बजेट बक्तव्यसँग जोडेर सञ्चार माध्यममा आएका समचारप्रति बोर्डको ध्यानाकर्षण भएको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । उक्त आयोजना विकासकर्ता कम्पनी थ्री गर्जेजले आयोजना आर्थिक रुपमा सम्भाव्य बनाउने विषयमा थप स्पष्ट हुन पत्राचार गरेको पनि बोर्डले खुलासा गरेको छ।

यसैबीच, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुन्यिङले पनि आयोजनाबाट हात नझिकिएको बताएकी छिन् । भारतीय समचारपत्र द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गर्दै लेखेको समचारमा नेपाल सरकारसँग आयोजनाको आर्थिक सम्भाव्यता लगायत सम्बन्धमा कुराकानी भइरहेको उल्लेख छ ।

‘पश्चिम सेती आयोजनाबाट हामीलाई हटाइएको समाचारमा कुनै सत्यता छैन,’ प्रवक्ता चुन्यिङको भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘यो आयोजना व्यापारिक हिसाबले हाम्रा लागि महत्वपूर्णमध्ये एक हो ।’यसअघि नै नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच उक्त आयोजना निर्माण गर्न संयुक्त लगानी सम्झौता (जेभिए) मा काठमाडौंमा हस्ताक्षर भएको थियो ।

जेभिएमा हस्ताक्षरस“गै २० वर्षभन्दा बढीदेखि चर्चामा रहेको आयोजना निर्माणतर्फ अगाडि बढ्ने अपेक्षा गरिएको थियो ।
लगानी बोर्डले जेभिए अनुमोदन गरेपछि आयोजना निर्माणका लागि पश्चिम सेती जलविद्युत् कम्पनी खोल्ने सहमति भएको थियो । कम्पनीमा प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको क्रमशः २५ र ७५ प्रतिशत सेयर रहने छ । कम्पनीले स्थानीयबासीलाई १० प्रतिशत सेयर दिनेछ ।

प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकम जुट्न नसके चिनिया“ एक्जिम बैंकबाट सहुलित ब्याजमा ऋण लिन चाइना थ्री गर्जेजले सहयोग गर्ने समझदारी छ । आयोजनाको अनुमानित लागत एक खर्ब ६० अर्ब रुपैयाँ छ ।

आयोजनाको लगानी २५ प्रतिशत इक्विटी र ७५ प्रतिशत ऋणबाट जुटाउने प्रस्ताव गरिएको छ । बोर्डले आयोजनामा विदेशी लगानी स्वीकृत गरिसकेको छ । नेपालभित्रै विद्युत् खपत हुने गरी सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न लागिएको हो।आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच १७ फागुन ०६८ मा समझदारी भएको थियो । अस्ट्रेलियन कम्पनी स्मेकले उक्त आयोजना १५ वर्ष ओगटेको थियो ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App