८ वैशाख २०८१ शनिबार
अन्य

अलकाको दुर्लभ अनुभव

गीता त्रिपाठी

२०६८, भदौ ३० को अपराह्न। पाटन कृष्णमन्दिर परिसरको अलौकिक स्थान। गलामा एउटा परिचयपत्रजस्तो केही झुन्डिएको, एउटी अधबैँसे महिला कुनै योगीजस्तो चिन्तन प्रतिबिम्बित मुद्रामा सत्तलको एकछेउमा बसिरहेकी छन्। उनको छेवैमा शान्त अनुभूतिका एक प्रेमी अनुहार तिनै महिलातिर अभिमुख भएर कुराकानीमा संलग्न छन्। यो दृश्यलाई सामान्य ठानेर अघि बढिरहेकी मलाई एउटा परिचित आवाजले बेस्सरी झस्काउँछ, 'तपाईंले अलका सरावगीलाई भेट्नु भयो गीता बहिनी?' हजुर! यो जोक हो कि? मभन्दा पश्चिमतिर करिब दुई मिटरको दूरीमा प्रतिज्ञा गौतम र सिमु श्रेष्ठसँगै उभिएका प्रकाश सायमी दाजुलाई अविश्वासका आँखाले नियाल्छु, उनको भनाइ सत्य भएको पाएर म अकस्मात् चकित हुन पुग्छु!

अलका सरावगी! म झन्डैझन्डै चिच्याउँछु, तर उनको सामुन्ने पुगेर रोकिएकी म चिच्याहटलाई जबर्जस्ती गलाभित्रै दबाइदिन्छु। अनौठो आनन्द लाग्छ, मैलै त्यो खुसीको क्षणमा यी सब आवेगहरूलाई सजिलै निल्न सकेँ। मेरो स्वभावको विशिष्टता पनि यही हो भनेर ढुक्क भइदिन्छु म। अलकासँग परिचयात्मक संवाद र उनको भोलि हुने कार्यक्रमका बारेमा सामान्य कुराकानी मात्र हुन्छ।

नाटकीय भेट भएको थियो यसरी हिन्दी साहित्यकी प्रखर लेखिका अलकासँग एक साँझ पाटन दरबार स्क्वायरको मनोरम परिवेशको बाहिरी सत्तलमा। सोच्दै थिएँ, डढेलोजस्तो गरी फैलिनुपर्ने हो उनी आउने खबर तर उनी चुपचाप आइपुगेकी थिइन्। किन पनि मेरो अपेक्षा यति माथि भैदियो भने नेपाली गनेचुनेका लेखकबीच त्यसबखत उनको कलिकथा :  वाया बाइपासको चर्चा कम चुलिएको थिएन। मैले यसरी नै उनको किताब खोजेकी हुँ। हल्लामात्र थिएन उनको किताबको कथा। खास थियो त्यो लेखाइ। हेटौँडाबाट उदय अधिकारीले पठाइदिएपछि पढेकी थिएँ। अकस्मात् एउटा ससानो साहित्यिक पर्वमा उनी निम्त्याइन्छिन् र यसरी आइहाल्छिन् पनि! यो नसोचेको घटना थियो मेरा लागि। यहाँ हुने केही साहित्यिक पर्वमा लेखाइभन्दा ग्ल्यामर हाबी भइरहेको हामीलाई थाहा छ। यस्तो बेला सादा पोशाककी एउटी सरल लेखिका, बिना कुनै तामझाम यसरी सत्तलबाहिरको खास परिसरको आनन्द लिँदै नेपाली कलाको पारखी भइरहेको देख्दा मेरो मन आवेगिनु अस्वाभाविकचाहिँ मलाई लाग्दैन अहिले सोच्दा पनि। 

 दिन डुब्दै थियो, कृष्ण मन्दिरको सबैभन्दा अग्लो गजुरमा अलिअलि टल्किएको घाम बाँकी थियो। दिनभरजस्तो साहित्यिक कुराकानी र कविता वाचनको सेसन चलेको थियो। पर्यटकले भरिने यो ऐतिहासिक पटांगिनीमा आज लेखकहरूको बाक्लो जमघट थियो। त्यस पहिलो दिन अलकाको कुनै प्रस्तुति थिएन। उनी भोलि हुने 'टकसो'मा भाग लिन आइपुगेकी थिइन्। तर, पहिलो दिनको कुनै सेसनमा पनि उनलाई मैले सहभागी भएको भेटिनँ। सायद उनी उनका आख्यानका अनेक चौबाटाहरू, पात्र र घटनाहरू यही एउटै चोकमा हेर्न पाएर मग्न भएकी हुँदी हुन्। अलकाको लेखकीय परिवेश निकै चाँैडा छ र विचारको पनि विस्तारित धरातल छ। उनले बनाउने पात्रहरू पुरुष धेरै छन्। हाम्रोमा नारीले नारी चरित्रलाई नै न्याय गर्न सक्छिन् र पुरुषले पुरुषलाई नै भनिएको सुनिरहँदा उनले आफ्ना तिनै वटा चर्चित उपन्यासमा पुरुष चरित्रलाई गज्जबले चित्रण गरेको देख्छु। त्यसैले पनि कलकत्ताको भीडमा उनको लेखनको परिवेश बन्यो, तर यसपटक त्यसलाई नेपालको पाटन दरबार स्क्वायरको चोकमा अनुभव गर्नैमा तल्लीनजस्ती लाग्थिन् उनी।

 अलकाको टकसो थियो, भोलिपल्ट। उदय अधिकारी सहजकर्ता। हेटौँडादेखि यही क्षणलाई सार्थक बनाउन बेगिएका उदय! उहाँ नै किन भन्नेहरूका लागि उदयको अध्येता व्यक्तित्वले आफै जवाफ दिइरहेको थियो। म अघिल्लो दिन नै अलकालाई भेटेपछि उनको अर्को उपन्यास पाउने ठेगाना बोकेर दौडिरहेकी थिएँ रत्नपार्क वरिपरि, तर साँझ अधिकांश पसल बन्द भइसकेका थिए। उनको दोस्रो उपन्यास– 'एक ब्रेक के वाद'! बहुतै कष्टका साथ हात लागेको थियो। म अत्यन्त उत्साहित भएकी थिएँ। मेरो हातमा यो उपन्यास थियो। बिहान साढे १० बजे आरम्भ हुने कार्यक्रमका लागि म आधा घन्टाअघि नै उपस्थित भइसकेकी थिएँ। केहीबेर अलकासँग कुराकानी गर्ने अवसर मिल्यो। इम्ब्रोइड गरिएको सादा हलुका रङको कुर्था र पाइन्टमा अत्यन्त भद्र लेखिका आफ्ना पति महेश सरावगीसँगै आइसकेकी थिइन्। मेरो हातमा आफ्नो उपन्यास देखेपछि उनको उत्सुकता दोब्बर भएको थियो। हल सानो थियो, कुनै साजसज्जा र बैभवबिनाको तर ऐतिहासिक थियो यो ठाउँ। विद्याको मन्दिर अर्थात् आदर्श कन्या विद्या मन्दिरको पहिलो तल्ला। हिजो उनी जुन सत्तलमा बसेकी थिइन्, त्यसकै उत्तरतिरको ढुंगेधाराको सामुन्ने थियो यो माध्यमिककालीनजस्तो लाग्ने कन्या मन्दिर। सिद्धिनरसिंह मल्लको सालिकले पहरा दिएको यो ज्ञानभूमिमा आज सरस्वतीकी साक्षात् स्वरूपाजस्तै थिइन् अलका!

हलमा भर्‍याङका खुट्किलाहरू उक्लँदा–ओर्लंदा लगभग काँपेकै हुन्थे। पातलो उपस्थितिबीच केही क्षण सहभागी स्रोताका निम्ति पर्खाइ अनिवार्य भयो। सँगै उभिएका हामी एकअर्कालाई पछ्याउँदै सँगसँगैजस्तो गरी बस्यौँ कुर्सीमा। उनले मेरो कवितासंग्रह 'नृशंस पर्खालहरू' प्रेमले च्यापेकी थिइन्। मेरो हातमा हार्ड कभर गरिएको उनको सुन्दर उपन्यास थियो। कभरको रङ र चित्रले नै उपन्यासमा व्यक्त कर्पोरेट कल्चरका बेथितिहरूको सर्वत्र अनुभूति दिइरहेको आभास हुन्थ्यो। उनीसँग कलकत्ताबारे कुरा गर्नका लागि मसँग व्यक्तिगत अनुभव पनि प्रशस्त थिए, तर केहीबेर हामीले एकअर्काका लेखनकै बारेमा जानकारी लियौं। अनि उनले महेशलाई मेरो नजिक बोलाइन् र औपचारिक परिचय गराइन् बल्ल। म यो अन्तरालको कारण बुझ्थेँ, उनी केही गम्भीर र अन्तर्मुखी स्वभावकी छन् भन्ने मैले अनुभव गरिसकेकी थिएँ। उनले तबमात्र महेशसँग मेरो परिचय गराइन्, जब उनलाई केही सहज अनुभव भयो मसँगको कुराकानी।

 अब समय अलि कम थियो। उद्घोषकले सबैलाई चनाखो बनाउन थालेकी थिइन्। मैले अलकासँग विद्यासागर कलेज, सन् २०६० र मेरो बुवाको १८ वर्षको कलकत्ता बसाइको कथा थोरै फुकाएँ। हुग्ली नदी र हाउडा पुलको कथा सकेर मेकेन्जी लायड कम्पनीको कथा वाचन सुरु नगर्दै उद्घोषकले ध्यान तानिन्। अलकाको अचम्मित हेराइ तब मतिर थियो, जब उद्घोषकले तपाईं अलका सरावगी हो भनेर मलाई सोधिरहेकी थिइन्। मैले अत्यन्त छिटो प्रतिक्रिया दिएछु, उद्घोषकले यति छिटो आफूलाई सच्याइन् कि अलकालाई कुनै खालीपनको महसुस गर्नुपरेन। स्टेजतिर निम्त्याइँदै गरिएको त्यही हतारोमै उनले मेरो हातमा रहेको उनको उपन्यासको भित्री पृष्ठमा प्रेमपूर्वक केही शब्दभाव कोरिन् र हस्ताक्षरसहित मिति लेख्न भ्याइन्। म उनको अनुहार आत्मीयताको एउटा पृष्ठजस्तो नियालिरहेथेँ, त्यसपछि उनी मञ्चासीन भइन्, हामी दर्शक उनका लेखकीय धरातलको आलोकमा उनले भोगेका अँध्यारा यथार्थहरू सुन्न लालायित भयौँ।

उदय अधिकारी प्रश्नको सहज घान थप्दै जानुहुन्थ्यो, अलका तिनलाई विस्तारै मिसाउँथिन् र आफ्नै अनुभवको ओखलले उत्तरका चेप्टा, फराकिला र कतिकति पटक टुक्रिएका आकारहरूसमेत हामीतिर सारिदिन्थिन्। हामीलाई हरेक टुक्रामा नारी लेखनको उपल्लो जगत् फेला परेझैँ भएको थियो। उनी अत्यन्त सरल भाषामा बोलिरहेकी थिइन्। मुख्य अंग्रेजी र आवश्यकतामा केही हिन्दी भाषाको प्रयोग गर्दै उनी दर्शकतिर सघन दृष्टि फिजाउँथिन्। हाम्रा केही प्रसिद्ध लेखिका त्यहीँ हुनुहुन्थ्यो, माया ठकुरी, भारिरथी श्रेष्ठ, सुधा त्रिपाठीलगायत। तर, अन्तर्क्रिया धेरै हुन पाएन। उनले पात्र र परिवेश छनोटका बारेमा केही निजी दृष्टिकोण पनि राखिन्। अंग्रेजले बनाएको भारतीय शिक्षाको पृष्ठभूमिलाई भरपूर प्राप्त गरेकी ज्ञानी लेखिकाभित्र बौद्धिक खुराक टिलपिल थियो र पनि उनी धेरै संयमित भएर बोलिरहेकी थिइन्। भारत विभाजनपछिको एउटा भयावह कथाको पोको विस्तारै फुकाउन थाल्नुभयो उदय, उनको पहिलो उपन्यास कलि–कथा :  वाया बाइपासभित्र तत्कालीन समय अर्थात् सन् १९४० देखि १९४७ सम्मको जीवन्त तस्बिर छ। जहाँ मुख्य पात्र किशोरबाबुका भोगाइका तहहरू वर्तुलाकारमा उभ्याइएको रोचक शैलीले कहिले मुख्य बाटो हराएको डर र पुनः खोजीखोजी भेटिएको आनन्दसमेत दिन्छ। भूूत, वर्तमान र भविष्यका तीन युगमा बाँडिएको कथानकले गोलाकार पथमा हिँडाएको दृश्यको एक अंश पनि उभ्याउन निकै समय लाग्थ्यो, त्यो संकेतित मात्र हुन पायो त्यो एक प्रहरमा।

कार्यक्रम ११ बजे सकियो। तोकिएको समय रोकिएको कहाँ छ र! अलका सबैलाई नमस्कार गर्दै विदा हुने क्रममा कलकत्ताको मेकेन्जी कम्पनीसम्बन्धी अधुरो कुरा अघि बढाउन चाहिरहेकी थिइन्, तर महेश तल ओर्लिसक्नुभएछ। उदयले हाम्रो वार्तालाई तस्बिरमा उतारिदिनुभएछ। र, यसरी एउटा भारतीय सफल लेखिकाको नेपाल आगमन क्षणिक सपनाजस्तो भएर सकियो। धेरैलाई त त्यो सपनाको पत्तो पनि भएन। नेपाली मिडियाले उनलाई खासै महत्व दिएको देखिएन। सुटुक्क आउनु, सालीन कुराकानीमा सम्मिलित भएर चुपचाप फर्किनुमा अलकाको नेपालको राजधानी काठमाडौँको त्यो पटकको साहित्यिक यात्रा टुंगियो।

उनले हस्ताक्षर गरेको उपन्यास एक बे्रक के बाद मैले केही बसाइमै पढिसकेँ। उनी गएपछि मैले उनको सामीप्यलाई यही उपन्यासमार्फत् जोगाउन चाहेकी थिएँ। त्यसैले आफ्नो अध्ययन र जागिरका कष्टकर क्षणमा पनि मैले समय छुट्याएकी थिएँ। पढ्दै जाँदा उनले एउटा पूरै खण्डमा उनका पात्रहरू गुरु र भट्टलाई नेपाल भ्रमणको सन्दर्भ दिएको पाएर म छक्क परेकी थिएँ। अलका नेपालको राजधानी सहरका केही स्थानसँग सुपरिचित छिन् भन्ने मैले उपन्यासमा चित्रण गरेको दरबारमार्ग, पशुपतिनाथ परिसरका आधारमा अनुमान गरेँ। त्यतिमात्र होइन, उनले यो अध्यायको भ्रमणलाई पोखरा र गण्डकीको किनारसम्म पुर्‍याएर शाश्वत प्रेमको आत्मिक स्पर्श दिएर समाप्त गरेकी छन्। विचित्र किसिमको समाज र संस्कृतिको जानकारी प्रस्तुत छ पृष्ठ ९४ देखि १११ सम्मका १८ पृष्ठमा, जहाँ उनले नेपालको राजनीति, अर्थव्यवस्था र सहरी जीवनशैलीलाई केही छुने आँट गरेकी छन्। रुक्मिणी जोशी विवाहित नारी पात्रसँग बेपर्वाह प्रेमी बनेर घरीघरी नेपाल पसेको भारतीय पात्र गुरुका माध्यमबाट, भट्टको मनोविज्ञानबाट उनले प्रेमको खुलापनलाई आकलन गर्ने कोसिस गरेको भए पनि यसले एउटा प्रश्न उठाएको छ। गुरु नामधारीहरूको द्वैध चरित्रको पर्दाफास गर्न उनले नेपाली परिवेश र नारी पात्रको सहारा लिनु केवल संयोगमात्र अवश्य होइन। यो चलनचल्तीकै घटना हो। अप्सराहरूको कैयन् मिथक बोकेको भारतवर्षकी लेखिकाले किन नेपालकी रुक्मिणी, जो एउटा कपडा व्यापारीकी सामान्य पत्नीका रूपमा उभ्याइएकी छन्, उसको विघटित चरित्रको सामीप्यमा प्रेमको असीम चर्चा गर्न पुगेकी हुन्? के उनले नेपालमा विकसित हुँदै गइरहेको पारिवारिक विखण्डनको एउटा अड्कल त्यसबेला गरिसकेकी हुन्? जे होस् यी प्रश्नभित्र पनि एउटा लेखाइगत आकर्षण भने उनले जोगाएकी छन्। त्यसैले अन्त्यमा उनको तृतीय पुरुष दृष्टिकोणको लेखकले भनेको छ– 'प्रेमका वह दुर्लभ अनुभव, जिसे वह बिना जाने ही मर जाता यदि वह रुक्मिणी से नहीँ मिलता।' भट्ट कथा :  पहाड, नदी और प्रेम डगरिया शीर्षकको यस अध्यायमा एउटा सफल पारिवारिक लाग्ने भट्टको अतृप्त प्रेम अनुभवको अन्तिम सीमा बुद्धको जन्मभूमिमा र रुक्मिणीमा आएपछि मात्र स्थिर हुनुको खास प्रयोजन के होला भन्ने लागिरहन्छ, अलकासँग अर्को भेट जुरे अवश्य यो जिज्ञासाको समन गर्ने छु।

उनलाई भेटेको पाँच वर्ष पूरा भइसकेको छ। आज फेरि उनको चौथो उपन्यास जानकीदास तेजपाल मैनशन पढिसक्दै छु। पढ्दापढ्दै उनीसँग जोडिएको मेरो सानो अतीतले मलाई आन्दोलित बनाउन थालेको छ। अनि बीचैमा म पढ्न छाडेर एकछिन उनको स्मृतिमा कृष्ण मन्दिर परिसरमा उनका पाइलाका चिह्नहरू पछ्याउन पुगेकी हुँ। कलकत्ताका सडक र गल्लीमा उभिएर जानकीदास तेजपाल मैनशनको विशाल चौरस्तामा दृष्टि फिँजाउनु एक प्रतीकात्मक लेखनको फैलावट हो। अलकाको लेखन क्षमताको विरासत छ यसमा।

अमेरिका बसाइबाट भर्खरै उपन्यासकार नीलम कार्की निहारिकाले मिथकलाई नारीवादी अनुभूतिबाट 'चीरहरण'मा प्रसारित गरेकी छन्। त्यो पनि पढ्दै छु। अन्त्यतिर आएर अड्किएकी छु। कहीँ मिथकको पुनर्सिर्जन खोज्छु, कहीँ पुनर्सिर्जनको गहिराइ छाम्न चाहन्छु। केही त अवश्य छ, तर जति छ त्यतिले सन्तुष्टि हुँदैन। नीलमको लेखन क्षमता मलाई थाहा छ, तर उनी यस्तो विषयमा पसिन्, जहाँबाट सही सलामत निस्कन सकिँदैन, दुस्साहस हुन्छ त्यो। नयाँ कथामै कलम चलाएकी भए नयैँ कुरा आउँथे नि! चीरहरण पढेपछि यो तर्क पनि ठीकै हो जस्तो लाग्छ। तर, लेखनको सरल कलात्मक सौन्दर्यलाई जीवित राखेकी छन् उनले। स्वैर सिर्जनात्मक संगठनमा पनि तिनको सफलता छ। यद्यपि सँगै पढिरहेका दुई कृतिको स्वाद एकदमै फरक पाएपछि मलाई लागिरहेको छ, नीलमले अमेरिका बसेर प्राचीन भारतवर्ष लेखिन्, नेपाल कम लेखिन् यो उपन्यासमा। अलकाले भारतको प्राचीन सहरमा बसेर अमेरिका, यसमा विलयन हुँदै गएका व्यक्ति, समाज र संस्कृतिका तहतहका विस्थापनहरू, अमेरिकाबाट फर्केपछि न उताको न यताको हुन पुग्ने परिचयहीनता, अमेरिका प्रभृतिमा बानी परेकाले आफ्नो देशलाई इन्फेक्सनको पोको र चिडियाघर ठान्ने प्रवृत्तिजस्ता आजको अत्याधुनिक संस्कृति र यसका खास इन्फेक्सनहरूको गज्जबको चित्रण गरेकी छन्। आजको अत्याधुनिक प्रत्येक टेकाइमा हल्लिरहेको हाम्रो प्राचीनता अब राजनीति, प्रशासन, सुरक्षा, पुँजी आदि चारैतिर एक बिचौलियातन्त्रमा लस्किरहेको दृश्य, जो सबैभन्दा कमजोरलाई सबैभन्दा पहिले बरबाद पार्न लागिपरेको छ, हो यही कथ्यमा अलकाको पछिल्लो उपन्यास डरलाग्दो संस्कृतिको पटाक्षेप गरिरहेको छ। म अलकाको किशोरबाबु होस् वा गुरु अथवा जयदीप भएर अमेरिकामा केही समय भ्रम बाँचेको जयगोविन्द यी सबैभित्रको असामान्य भोगाइ र अनुभूतिमा दृश्यित भइरहेका हामी सबैकोे भविष्यसँग त्रसित छु।

त्रासको यो सिलसिलामा अलकाको लेखन चलिरहेछ। म जानकीदास तेजपाल मैनशनको विशाल फाटकबाट अलकासँग जोडिएको मेरो सानो अतीत र साँघुरो पाटन दरबार स्क्वायरको स्मृतिमा एकछिन अल्झिएर पुनः त्यही चौरस्तामा आइपुगेकी छु!

प्रकाशित: १८ भाद्र २०७३ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App