७ वैशाख २०८१ शुक्रबार
अर्थ

ओरेन्टल सहकारीका बस्नेत रिहा

काठमाडौं - ओरेन्टल बचत तथा ऋण सहकारी संस्थामार्फत अर्बौं ठगी आरोपमा जेल चलान भएका सुधीर बस्नेत धरौटीमा रिहा भएका छन् । भक्तपुर जिल्ला अदालतमा धरौटी बुझाएर बस्नेत सोमबार रिहा भएका हुन्।

बस्नेतमाथि काठमाडौं, भक्तपुर, ललितपुर र स्याङ्जा जिल्ला अदालतमा मुद्दा चलेको थियो । उनलाई सबै अदालतले फरक–फकर कैद अवधि र जरिवाना रकमसहित कैदको फैसला गरेका थिए । भक्तपुर अदालतबाट धरौटीमा रिहा हुनुअघि बस्नेत काठमाडौं र स्याङजा अदालतबाट पनि धरौटीमा रिहा भएका थिए । उनी २०७३ पुस दोस्रो साता ठगी आरोपमा पक्राउ परेका थिए ।

सुधिर बस्नेत सञ्चालक रहेको ओरेन्टल सहकारीले साँवा ब्याजसहित करिब पौने ७ अर्ब रुपैयाँ डुबाएपछि निक्षेपकर्ताले प्रहरी–प्रशासन हुँदै अदालत गुहारेका थिए । बस्नेतबाट पीडित निक्षेपकर्तालाई उनीहरूको रकम फिर्ता गराउन तत्कालीन सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’ गठन गरेको थियो ।
त्यसैगरी सरकारले ‘बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँचबुझ आयोग–२०७०’ ले त्यसबेला तयार पारेको प्रतिवेदनअनुसार ओरेन्टलमा ११ हजार ८ सय ४० खाताको उजुरी परेकोमा ब्याज बाहेक साँवा ४ अर्ब २० करोड रुपैयाँको दाबी परेको थियो । उक्त रकमको ब्याजतर्फ १ अर्ब २९ करोड, ओरेन्टलकै हाउजिङमा १ अर्ब ३६ करोड गरी कूल ६ अर्ब ८६ करोड रुपैयाँको दायित्व देखिएको थियो ।

ओरेन्टलले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, विराटनगर, स्याङ्जालगायत ठाउँमा शाखा खोलेर सर्वसाधारण ठगेको देखिएको उक्त समितिले जानकारी दिएको थियो । तत्कालीन संसदको अर्थ समितिले पनि ओरेन्टलको चल, अचल सम्पत्ति लिलाम बिक्री गरेर निक्षेपकर्तालाई निक्षेप फिर्ता गर्न निर्देशन दिएको थियो ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App