coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

उद्योगमा नियमित बिजुली दिन उच्च क्षमताका प्रसारण लाइन

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने भएको छ ।सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रसारण लाइनबाट आपूर्ति गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत बिजुली दिनेछ ।

प्राधिकरणले यसका लागि अहिले औद्योगिक तथा विशेष आर्थिक क्षेत्र स्थापना हुने सम्भावित सुनसरी, सिराहा, धनुषा, मकवानपुर, चितवन, नवलपरासी,रुपन्देही लगायतका जिल्लामा उच्च क्षमताका प्रसारण लाइन तथा सब स्टेसन निर्माण गरिरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान गर्न काम सुरु गरेको हो । यसका लागि सब स्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायत काम गरिरहेको छ । सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकर्षित गर्न उद्योगसम्म सडक र विद्युत् आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायतका जलविद्युत आयोजनाको निर्माणसम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत् आपूर्ति पुग्ने र उत्पादित विद्युत खपत गर्न नसकी खेर जान नदिन योजनाबद्ध रुपमा प्राधिकरण लागेको हो । अहिले प्रसारण तथा सबस्टेसनको क्षमताले नधान्ने भएकाले प्राधिकरणले मागअनुसार उद्योगलाई विद्युत् दिन सकिरहेको छैन ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबारदेखि मंगलबारसम्म ती जिल्लामा निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसनको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

‘जनकपुर, हेटौडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेका छौं,’ घिसिङले भने, ‘यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत आपूर्ति गर्न सक्छौं भने अर्कोतर्फ ट्रिपिङ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति हुन्छ।’

उनले उद्योगलाई बिजुली दिँदा खपत बढ्ने र चुहावट पनि नियन्त्रण हुने बताए । ‘लोडसेडिङ अन्त्य भएको छ, अब दुई वर्षमा निर्माणाधीन धेरै आयोजना सम्पन्न हुने भएकाले विद्युत् खपतका लागि माग बढाउनु छ,’ घिसिङले भने, ‘थ्री फेज मिटर जडानलाई प्राथमिकता दिनु पर्छ ।’नवलपरासी र रुपन्देहीमा सञ्चालनमा रहेका र खुल्न सक्ने उद्योगलाई ध्यान दिएर प्राधिकरणले प्रसारण लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले चिनियाँ लगानीमा सञ्चालन हुन लागेको होङसी शिवम् सिमेन्टलाई विद्युत् आपूर्तिका लागि नवलपरासीको बर्दघाटबाट सर्दीसम्म १३२ केभीको डबल सर्किट प्रसारण लाइन बनाउन सुरु गरिसकेको छ।

एउटा लाइनबाट होङसीलाई विद्युत् आपूर्ति गर्ने र अर्को लाइनबाट त्यस क्षेत्रमा सर्वसाधारण उपभोक्ता तथा आगामी दिनमा खुल्न सक्ने उद्योगलाई दिने गरी प्रसारण लाइन बनाउन लागिएको हो । यसैगरी, जोगीकुटीबाट मैनैयासम्म १३२ केभीको प्रसारण लाइन निर्माण भइरहेको छ ।

मैनैयामा १३२÷३३ केभीको सबस्टेसन निर्माण भइरहेको छ । यो बनेपछि अर्घाखाँची लगायतका सिमन्ट उद्योगले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुनेछ । नवलपरासीमा स्थापना हुने सिमन्ट उद्योगलाई लक्षित गरी सुनौलीमा १३-३३-११ केभीको सबस्टेसन निर्माण हुन लागिरहेको छ ।यसैगरी, नवलपरासीको बडेरामा नेपाल–र भारतबीच विद्युत् व्यापारका लागि बन्न लागेको दोस्रो क्रस बोर्डर प्रसारण लाइन, कालीगण्डकी करिडोर प्रसारण लाइनका लागि २५ बिघामा क्रमश : ४४०-२२० र २२०-१३२ सबस्टेसन निर्माण सुरु भइसकेको छ । यहाँबाट भैरहवा क्षेत्रमा स्थापना हुने उद्योगलाई विद्युत आपूर्ति गर्न सकिन्छ ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App