६ वैशाख २०८१ बिहीबार
अर्थ

निगमले रिफ्युलर किन्न सकेन

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन (एटिएफ) भर्ने रिफ्युलर किन्ने नेपाल आयल निगमको दोस्रोपटकको प्रयास पनि असफल भएको छ । रिफ्युलर किन्न निगमले आह्वान गरेको बोलपत्रमा इस्टिमेटभन्दा ३५ प्रतिशत बढी लागतको आवेदन परेपछि रिफ्युलर किन्न नसकेको हो।

लागत अनुमानभन्दा महँगो आवेदन परेको निगमको विमानस्थल डिपो प्रमुख मनोज ठाकुरले बताए । ‘रिफ्युलर कम हुँदा हवाई इन्धन व्यवस्थापन गर्न निकै कठिन भएको छ,’ ठाकुरले भने, ‘३५ प्रतिशत बढीको आवेदन परेकाले दोस्रोपटकको टेन्डर पनि रद्द गर्नुपर्ने अवस्था आयो ।’

निगमको बोलपत्रमा दुईवटा विदेशी कम्पनीले आवेदन गरेका थिए । चालु आर्थिक वर्ष ०७४-७५ मा चारवटा रिफ्युलर खरिद गर्न निगमले आठ करोड १४ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।विमानस्थलमा १४ वटा रिफ्युलर आवश्यक पर्ने भए पनि निगमले सातवटाले काम चलाउँदै आएको छ । रिफ्युलर थोरै हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय विमान इन्धन भर्न हम्मे पर्ने गर्छ । विमानस्थलमा रहेको हवाई इन्धन डिपोमा रिफ्युलर नहुँदा समयमै इन्धन भर्न नपाएपछि जहाजको उडानमा समेत ढिलाइ हुने गरेको छ ।

दैनिक चार सय उडान हुने विमानस्थलमा सातवटा रिफ्युलरले इन्धन भर्छन् । प्रत्येक साढे दुईदेखि तीन मिनेटमा विमानले उडान भर्छन्।निगमले सन् २००९ यता एउटा पनि रिफ्युलर थपेको छैन । निगमको विमानस्थल डिपोमा नौवटा रिफ्युलर रहे पनि सातवटाले मात्र सिधै जहाजमा इन्धन भर्न मिल्छ । निगमसँग २७ हजार लिटरका दुई, १६ हजार लिटरका चार र ११ हजार लिटरको एउटा रिफ्युलर छ । दुईवटा पुरानो मोडलका रहेकाले सिधै रिफ्युल गर्न मिल्दैन । इन्धन ट्रान्सफरमा मात्र प्रयोग हुन्छ । हवाई इन्धन डिपोबाट इन्धन लगेर विमानमा भर्ने उपकरण रिफ्युलर हो ।

नयाँ विमान कम्पनी, उडान तालिका वृद्धि र एयर ट्राफिक बढ्दै गएपछि हवाई इन्धनको खपत पनि बढ्दै गएको छ । ‘एयर ट्राफिक बढेपछि इन्धनको खपत पनि बढ्छ,’ ठाकुरले भने, ‘त्यसको लोड हामीलाई पर्छ ।’ विमान कम्पनीले आफ्नो समयमा उडान भर्न नपाउँदा त्यसको असर पर्ने गरेको छ।

त्रिभुवन विमानस्थलमा अहिले ७६ लाख ४० हजार लिटर (७६ सय ४० किलोलिटर) हवाई इन्धन भण्डारण क्षमता छ । विमानस्थलमा अहिले दैनिक करिब ६ लाख लिटर इन्धन खपत हुन्छ । एटिएफ अन्य हवाई इन्धनजस्तो नभई अत्यन्त संवदेनशील भएकाले विभिन्न चरणमा फिल्टर गर्नुपर्छ। रिफ्युलरको लागि चाहिने उपकरण सजह रुपमा उपलब्ध नहुँदा पनि खरिद प्रक्रिया लम्बिएको हो ।

रिफ्युलर किन्न नसकेपछि निगमले आइओसीबाट एक रिफ्युलर ल्याएको छ । आइओसीसँग अनुरोध गरेर रिफ्युलर ल्याएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘लामो समयदेखि रिफ्युलर किन्न सकेका छैनौं,’ उनले भने, ‘इन्धन व्यवस्थापन गर्न कठिन भएपछि आइओसीबाट रिफ्युलर ल्याएका छौं ।’ नयाँ खरिद नहुँदासम्म एक थान ल्याए पनि त्यसले समस्या समाधान नहुने भट्टराईले बताए । ‘दोस्रोपटकको टेन्डरबाट पनि खरिद गर्न नसकेपछि चुनौती थपिएको छ,’ उनले भने, ‘अब कुन मोडलमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।’बिहानदेखि मध्यरातसम्म निरन्तर इन्धन भर्नुपर्ने भएकाले मर्मतसम्भार गर्ने समय पनि नभएको निगमका कर्मचारी बताउँछन् ।सार्वजनिक खरिद ऐनअनुसार किन्न भन्झट भएकाले पनि रिफ्युलर किन्न नसकेको निगमका अधिकारी बताउँछन् ।

पुराना रिफ्युलरको कार्यक्षमता पनि घटेको ठाकुरले बताए । ‘नयाँ जस्तो पुरानाले काम गर्न पनि सक्दैन,’ उनले भने, ‘टर्किस एयरले एकैपटक ५५ हजार लिटर इन्धन भर्छ ।’ एउटै विमानमा एउटा रिफ्युलरले मात्र भर्न मिल्दैन । यस्तो अवस्थामा ट्रान्सफर गर्न पुरानो प्रयोग गर्ने गरेको ठाकुर बताउँछन् । विहानदेखि मध्यरातसम्म निरन्तर इन्धन भर्नुपर्ने भएकाले मर्मतसम्भार गर्ने समय नभएको निगमका कर्मचारी बताउँछन् ।त्रिभुवन विमानस्थलमा २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ५० देखि ६० उडान भर्ने गरेका छन् । करिब एक दर्जन आन्तरिक वायुसेवा कम्पनीले दैनिक साढे दुई सयदेखि तीन सय उडान भर्छन् ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App