४ वैशाख २०८१ मंगलबार
कला

‘बुद्धले बुद्धत्व बाँडे झैं पठन संस्कृति फैलाउनु पर्छ’

भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा ‘पठनको भोक’ शीर्षकमा बहस गर्दै हरि शर्मा, सगुना शाह तथा सहजकर्ता केदार शर्मा । तस्बिरः नेमिष

काठमाडौं – नेपाली साहित्यमा पछिल्लो समयमा अनुवाद साहित्यको क्रेज बढ्दो छ । विदेशी भाषाका पुस्तकलाई नेपालीमा अनुवाद गरेर प्रकाशन गरिएका पुस्तकहरु नेपालमा भइरहने पुस्तक मेलामा मेलाको आकर्षण पनि बनिरहेका छन् ।

यही सन्दर्भमा राजधानीमा बुधबार ‘पठनको भोक’ विषयक अन्तरसंवादमा पुस्तक अनुवादको क्रमलाई तीव्रता दिएमा पुस्तक नपढ्ने जमातमा पनि पुस्तक पढ्ने वातावरण बनाउन सकिने सरोकारवालाले बताएका छन् ।भृकुटीमण्डपमा जारी नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेलाको बहस सत्रमा समीक्षक हरि शर्माले नेपालमा अनुवाद पद्धति फितलो हुनाले पनि तल्लो तहसम्म पठन संस्कृतिलाई राम्ररी पुर्याउन नसकिएको बताए ।

‘नेपालमा बिस्तारै अनुवादको संस्कृति बढ्दै गएको त छ । तर यसलाई व्यापक गर्न सकिएको छैन,’ उनले भने, ‘राम्रो अनुवादको पद्धति नहुञ्जेलसम्म तल्लो तहका अर्थात् ग्रामीण भेगका पाठकमाझ पुस्तक पठन संस्कृति पु¥याउन सकिँदैन । पाठकमाझ पुस्तकको पहुँच पु¥याउन अनुवाद संस्कृति चाहिँदो रहेछ ।’ हरिले टर्की, थाइल्यान्डलगायतका मुलुकको उदाहरण दिँदै त्यहाँ अंग्रेजी भाषा बिरलै बोले पनि त्यहाँका लेखकले विदेशी भाषाका पुस्तकलाई अनुवाद गरेर स्थानीय भाषामा ढाल्नुले नै पठन संस्कृति फष्टाएको जनाए।

अध्यापक सगुना शाहले पुस्तक पढ्ने बानीले समाजको अवस्था थाहा पाइएसँगै आफ्नो तह बुझ्न पनि सजिलो हुने बताइन् । उनले नेपालमा पुस्तक पठन संस्कृतिको विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् । ‘पुस्तक पढ्ने बानीले मानिसलाई धेरै कुरामा सहयोग गर्छ । पुस्तकको भोक भनेकै समाज चिन्नलाई हो । पुस्तक पढ्नु भनेको विचारमा परिर्वतन ल्याउनु पनि हो,’ शाहले भनिन्, ‘पठन संस्कृतिको विकास गर्नका लागि गम्भीर बहस हुन आवश्यक छ ।

अहिलेसम्म भएको पठन क्रियाकलापको समीक्षा पनि हुनुपर्छ ।’सगुनाले पछिल्लो समयमा नेपालका जिल्ला–जिल्लामा खुलेका पुस्तकालयले पुस्तक पठन संस्कृतिको विकास भइरहेको बताइन् । ‘साहित्यकार, विद्यार्थीले पुस्तक पठनमा निकै चासो दिइरहेका छन् । मलाई हरेक दिन कुनै न कुनै स्थानबाट पुस्तक पठनका विषयमा फोन आइरहन्छ,’ उनले भनिन्, ‘यसले हामीलाई सकारात्क सन्देश प्रवाह गरिरहेको छ।’

जसरी बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्ना चेलामार्फत बुद्धत्वलाई विश्वभरी फैलाए । त्यसैगरी पुस्तक पठन संस्कृतिलाई देशव्यापी बनाउन बुद्धकै जस्तो शैली अपनाउनुपर्छ ।

सगुनाले पाठकले पुस्तक पढ्ने र पढ्ने कुरामा सचेत हुने बेला आएको जनाइन् । उनले नेपालमा फस्टाएको प्रकाशन संस्कृतिले पाठकलाई पुस्तक रोजाइको बाटो देखाएको बताउँदै राम्रो पुस्तक पढ्दा समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताइन् ।
हरि शर्माले नेपालमा पुस्तक पठ्नको मात्रा वर्षेनी बढ्दै गएको बताए । ‘नेपालमा एकेडेमिक किताब पढ्ने  माहोल बढ्दै गएको छ । काठमाडौंमा पुस्तक स्टक गर्ने उपयुक्त ठाउँ नहुनाले पुस्तक विक्रेताहरु पाठकको नारी छामेर पुस्तक दिन्छन्,’ हरिले भने, ‘नेपाली बजारमा गुणात्मक किसिमका पुस्तकहरु आइरहेका छन् ।

जसले गर्दा पाठकको बौद्धिकता पनि त्यसै अनुसार बढेको छ।’हरिले एक–दुई जना मान्छेले पढेको कुरालाई समाजमा पुर्याउन नसकिने भन्दै त्यसलाई विकास गर्न पुस्तकालयको अवधारणालाई तीव्रता दिनुपर्ने बताए । ‘जसले जे विषय पढेका छन् । त्यसलाई आम मानिससँग पुर्याउन सक्नुपर्यो । जसरी बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्ना चेलामार्फत बुद्धत्वलाई विश्वभरी फैलाए । त्यसैगरी पुस्तक पठन संस्कृतिलाई देशव्यापी बनाउन बुद्धकै जस्तो शैली अपनाउनुपर्छ,’ हरिले भने ।

अन्तरसंवादको सहजीकरण पत्रकार केदार शर्माले गरेका थिए ।ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिसले आयोजना गरेको पुस्तक मेला आगामी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा स्वदेश तथा विदेशका झन्डै ६० बढी पुस्तक प्रकाशन गृहको सहभागिता छ ।

 

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App