८ वैशाख २०८१ शनिबार
समाज

न्यायाधीश सुवेदीले नागरिकविरुद्ध खड्काको मुद्दा नहेर्ने

काठमाडाैं - नागरिक दैनिकका सञ्चालक तथा पत्रकारसँग नाता सम्बन्ध देखाएर बेन्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपाल खड्काले दाबी गरेअनुसार नाता पुष्टि गर्न असफल भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश कैलासप्रसाद सुवेदीले सो मुद्दा आफूले नहेर्ने आदेश गरेका छन् ।

‘नाता पुष्टि गर्न नसके पनि विवाद आएकाले मैले मुद्दा नहेर्ने आदेश गरेको छु,’ सुवेदीले बहसमा उपस्थित कानुन व्यवसायीलाई जानकारी दिए । न्यायाधीश सुवेदीको मुद्दा नहेर्ने आदेशपछि अब उक्त मुद्दा सुवेदीबाहेकेको इजलासमा पेस हुनेछ ।

न्यायाधीशसँग नाता पर्ने हो भने कुन कस्तो प्रकृतिको नाता हो पुष्टि गर्नू भनी खड्कालाई दिएको आदेशमा खड्काले पटकपटक समय मागे पनि अन्ततः नाता पुष्टि गर्न असफल भएको निवेदन अदालतमा दर्ता गराएपछि उक्त मुद्दाको पेसी मंगलबारका लागि तोकिएको थियो ।

खड्काका वारेस मोतीलाल तामाङले जेठ १४ मा पेस गरेको निवेदनमा उल्लेख छ, ‘यसमा मेरो सहीसाँचो व्योहोरा के छ भने सम्मानित अदालतसमक्ष मिति २०७५ जेठ ७ गते पेस गरेको निवेदनमा माननीय न्यायाधीशसँग विपक्षीको नाता पर्ने भनी उल्लेख गरेकोमा सम्मानित इजलासबाट भएको आदेशमा विपक्षीको माननीय न्यायाधीशसँग के कुन प्रकारको, प्रकृतिको र के कति पुस्ताभित्रको नाताका बारेमा खुलाउन आदेश भएको सन्दर्भमा नाता खुलाउन नसक्ने व्योहोरा सादर निवेदन गर्दछु भनी भएको सहीसाँचो व्योहोरा लेखीलेखाई श्री काठमाडौं जिल्ला अदालतमा चढाएँ ।’

न्यायाधीश सुवेदी र पत्रिका सञ्चालक तथा पत्रकारका बीचमा नाता पर्ने भएकाले सुवेदीको इजलासबाट मुद्दा हेर्दा निष्पक्षताको अभाव हुने भएकाले न्यायाधीश सुवेदीरहितको इजलासबाट सुनुवाइ गरीपाऊँ भन्ने माग पनि खड्काले आफ्नो निवेदनमा गरेका थिए ।

न्यायाधीश र पत्रिका सञ्चालक तथा पत्रकारका बीच नाता पर्ने निवेदन पेस गरी अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरी खड्काले मुद्दा हटाउने र रोेजेको इजलासमा पार्ने दुष्प्रयास जेठ ७ को पेसीमा गरेका थिए । तर, अदालतले उनलाई जेठ १४ सम्म नाता पुष्टि गर्न अन्तिम मौका दिएको थियो ।आफ्ना वारेस तामाङमार्फत अदालतमा दर्ता गरेको निवेदनमा खड्काले न्यायाधीश सुवेदीसँग विपक्षीको नाता रहेको बुझिन आएकाले नाता पर्ने व्यक्तिको मुद्दा सुनुवाइ गर्दा निष्पक्षता नहुने भन्दै सुवेदीबाहेकको इजलासबाट मुद्दा सुनुवाइका लागि आग्रह गरेका थिए ।

आफ्नो कुनै नाता सम्बन्ध नभएको न्यायाधीश सुवेदीले प्रस्ट्याउँदा समेत खड्काका कानुन व्यवसायी अरुण ज्ञवालीले मुलुकी ऐन, अदालती बन्दोबस्तको ३० नं. भित्रको नाता नभए पनि टाढाको नाता पर्ने र आफ्नो पक्ष सो इजलासमा मुद्दाको सुनुवाइ गर्न तयार नभएकाले उक्त निवेदन पेस गर्नुपरेको बताएका थिए ।

मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ३० नं. ले आफ्नो हाडमा अपुताली परे खान पाउने नाता र मामा माइजु, सानीठूलीआमा सानोठूलो बाबु, सासुससुरा, फुपुफुपाजु, जेठु, साला, मित, आफ्ना दिदीबहिनी र छोरी र यिनै दिएका ज्वाइँ, भानिज, भान्जी, भान्जीबुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरु, गुरुमा, मन्त्र सुनाएका शिष्य र शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकरचाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हँुदैन भन्ने व्यवस्था छ ।

असी करोड रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित खड्काले नागरिक दैनिकविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका छन् भने सो गलत मुद्दा दायर गरी आफूलाई क्षति पु¥याएकाले एक अर्ब पचास करोड रुपैयाँबराबरको क्षति खड्काबाट भराउन पनि नागरिकले प्रतिदाबी गरेको छ । नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले खड्काविरुद्ध पचास करोड रुपैयाँको मागदाबीसहित दायर गरेको अर्काे गालीबेइज्जती मुद्दासमेत सोही इजलासमा विचाराधीन छ।

नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँँटेल र संवाददाता दिलीप पौडेलबाट खड्काले जनही बीस करोड रुपैयाँको क्षतिपूर्ति दाबी गरेका छन् । संसदीय समितिको प्रतिवेदनका आधारमा आयल निगमको भ्रष्टाचारका विषयमा नागरिकले समाचार प्रकाशित गरेको थियो । हालै प्रकाशित महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा खड्काको भ्रष्टाचार औंल्याइएको छ।

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App