६ वैशाख २०८१ बिहीबार
समाज

विराट मेडिकल कलेजलाइ स्पष्टीकरण

काठमाडौं - एमबिबिएस अध्ययनरत विद्यार्थीसँगै तेस्रो किस्तामा विलम्ब शुल्क भन्दै ७६ प्रतिशत ब्याजसहित अतिरिक्त रकम मागेको विषयमा काठमाडौं विश्वविद्यालयले विराटनगरस्थित विराट मेडिकल कलेजसँग तीनदिने स्पष्टीकरण सोधेको छ ।

विराटले शुल्कको तेस्रो किस्ता बुझाउँदा ५० हजारको एक दिनको १०० रुपैयाँका दरले विलम्ब शुल्क मागेको थियो । सो शुल्क तिर्न नमानेको भन्दै तेस्रो वर्षमा पढ्ने विद्यार्थीको क्लिनिक पोस्टिङ रोक्ने र परीक्षाबाटसमेत वञ्चित गरेपछि अविभावक र विद्यार्थीले विश्वविद्यालयमा गत शुक्रबार उजुरी गरेका थिए।

सो उजुरीका आधारमा विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डिन प्राडा दीपक श्रेष्ठले विलम्ब शुल्कलगायत अन्य विषयमा कलेजको नीतिसम्मत धारणासहित तीन दिनभित्र जवाफ दिन निर्देशन गरेको छ । विश्वविद्यालयले जेठ २१ मा पठाएको पत्रमा विद्यार्थी र अविभावकका उजुरीसहित कलेजले बढी शुल्क मागेर जारी गरेको सूचनाको प्रतिलिपिसमेत नथ्थी गरिएको छ।

कलेजले २०१४ को अगस्त, ०१५ र ०१६ को डिसेम्बर सेसनका विद्यार्थीसँग यस्तो अतिरिक्त शुल्क मागेको हो । लामो समय पूर्वाधार नपुगेको भन्दै सम्बन्धन रोकिएको विराटलाई काठमाडौं विश्वविद्यालयले २०७१ मा विस्तारित कार्यक्रमको नाममा सम्बन्धन दिएको थियो । विस्तारित तथा सम्बन्धनप्राप्त कलेजमा समेत शुल्क निर्धारण गर्ने अधिकार सरकार वा विश्वविद्यालयलाई मात्रै छ।

विश्वविद्यालयले तोकिएको नीतिनियम तथा निर्देशनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धन तथा विस्तारित कार्यक्रमसम्बन्धी नियम २०७१ अनुसार सम्बन्धन स्थगन तथा खारेजीसम्बन्धी कारबाही अगाडि बढाउने जानकारी दिएको छ । विश्वविद्यालयले यस्ता शुल्क कार्यान्वयन गर्दा विश्वविद्यालयबाट स्वीकृति लिनुपर्छ ।

कलेजको लेखा शाखाले केही महिनाअघि सीमित दिनको अवधि दिएर तत्काल शुल्क नतिरे परीक्षाबाट वञ्चित गर्नेदेखि कलेजको परिसरमै छिर्न नदिने चेतावनी दिएको थियो । पछिल्लो समयमा भने तेस्रो वर्षका विद्यार्थीलाई दुई सातादेखि क्लिनिक पोस्टिङबाट वञ्चित गरिएको छ ।

कतिपय विद्यार्थीले विलम्ब शुल्कमा लगाइएको ७६ प्रतिशत ब्याजबाहेको शुल्क तिर्न जाँदा पनि नलिएको विद्यार्थीले गुनासो गरे । उनीहरूले विश्वविद्यालयमा दर्ता गराएको निवेदनमा कलेज प्रशासनले भौतिक आक्रमणको धम्कीसहित मानसिक तनाव दिएको र प्राज्ञिक कार्यक्रमबाट वञ्चित गरेको बताए ।अविभावकले दर्ता गराएको उजुरीमा विद्यार्थीलाई मानसिक तनाव दिएकाले आगामी परीक्षामा समेत प्रभाव पर्ने अवस्था आएको भन्दै तत्काल समाधानका लागि आग्रह गरिएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App