coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘काम नगर्ने’ ठेकेदार भण्डारी पक्राउ

सिन्धुपाल्चोक– पटक–पटक म्याद गुजारेर विकासे काम बिलम्ब गरेको आरोपमा निर्माण व्यवसायी धर्मराज भण्डारी बुधबार पक्राउ परेका छन्। निर्माण व्यवसायी संघका पूर्वकेन्द्रीय सदस्य रहेका सिन्धुपाल्चोकका एक मात्र ‘क’ श्रेणीका ठेकेदार भण्डारीलाई प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो। 

सम्झौता उल्लंघन गर्दै पटक–पटक भाखा सार्दै लामोसाँघु–जिरी सडक खण्ड स्त्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाई गरेपछि भण्डारीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। उनका अनुसार समयमै विकास निर्माणको काम नगर्ने ठेकेदारलाई कालोसूचीमा समावेश गरी कार्वाही चलाउन गृहमन्त्रालयले दिएको निर्देशन अनुसार भण्डारी पक्राउ परेका हुन्।

‘यो सुरुवात मात्रै हो। समयमै काम नगर्ने निर्माण व्यवसायी पक्राउ गरी कार्वाही चलाउँछौँ,’ प्रजिअ तामाङले भने। अरनिको राजमार्गको खाडिचौरदेखि जिरीसम्मको १ सय १० किमी लामो यो सडक खण्ड तीन वर्षदेखि स्तरोन्नति तथा कालोपत्रे भइरहेको छ। खाडिचौरदेखि मुडेसम्मको २५ किमी खण्डमा भण्डारी स्वामित्वको सुनौला खिम्ति कन्ट्रक्सनसहितको संयूक्त निर्माण व्यवसायी कम्पनीले काम गर्दै आएको छ। 

२०१७ अक्टुबर १७ मा निर्माण सक्ने गरी निर्माण व्यवसायीले २०१५ जुन ३ मा ठेक्का सम्झौता गरेका थिए। ५१ करोड ४४ हजार रुपैयाँ लागत रहेको यो खण्ड सम्झौता अवधिमा नसकेपछि सात महिना समय थप गरिएको थियो। ‘भण्डारीसहितका निर्माण व्यवसायीले थप दुई महिना नघाइसक्दा सडकको काम अझै कहिले सकिने टुंगो छैन,’ प्रजिअ तामाङले भने, ‘सडकको काम गुणस्तरहीन रहेकोसमेत पाएका छौँ।’ 

भारतको एक्जीम बैंकको सहयोगका काम भइरहेको खाडीचौर–मुडे खण्डमा सुनौला खिम्तिसहित भारतकै हिमाञ्चल निर्माण कम्पनी र गौरी पार्वती कन्ट्रक्सनसमेत संलग्न छन्। दुई खण्डमा बाँडेर ठेक्का दिइएको यो सडकको मुडे–चरिकोट ३० किमी दुरी खण्ड स्त्तरोन्नति तथा कालोपत्रे गर्ने काममा समेत भाखा नघाइएको छ। यो खण्डको समेत भण्डारी नेतृत्वको सुनौला खिम्तिसहित भारतको सकिल हैदर र शंकर माली कन्ट्रक्सनले ठेक्का पाएका थिए। 

२०१५ जुन १४ मा ठेक्का सम्झौता भएको यो खण्ड २०१८ मार्च १ मा सकिनु पथ्र्यो। ९१ करोड ९४ लाख रुपैयाँ लागतको यो खण्डको काम तीन महिना समय बढी गुजार्दासमेत यो खण्डको सकिएको छैन्।  सन् १९७५ देखि १९८५ सम्म १० वर्ष लगाएर स्वीस सरकारको सहयोगमा लामोसाँघु–जिरी सडकको ट्रयाक खोल्दै उसैले कालोपत्रे गरेको थियो। 

तीन दशकपछि थालिएको यो खण्ड सुधार तथा स्त्तरोन्नतिमा ठेकेदारको मनोमानी देखिएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासन तातेको हो। ‘विकासे कामका खेलवाड गर्ने एक÷एक ठेकेदारलाई पक्राउ गरी कार्वाही गर्छौँ’, प्रजिअ तामाङले भने। विकास निर्माणको काममा लापारवाही र ढिलाइ गर्ने निर्माण व्यवसायीहरुको सूची तयार भएको उनले जानकारी दिए। 

प्रारम्भिक अध्ययनअनुसार काममा ढिलाई गर्ने एक दर्जनभन्दा बढी निर्माण व्यवसायी कम्पनीलाई तत्काल कार्वाही गर्नुपर्ने देखिएको तामाङ बताउँछन्। ‘ठेकेदारले ढिलासुस्ती र लापरवाही गर्दा सिन्धुपाल्चोकमा मात्र एक सयभन्दा बढी विकासे आयोजना प्रभावित भएको पाइएको छ,’ उनले भने। 

बिगत लामो समयदेखि सिन्धुपाल्चोक र छिमेकी जिल्लामा समेत ठुल्ठूला विकास निर्माणका कामको ठेक्का लिँदै आएका ठेकेदार भण्डारी बिवादित रहँदै आएका छन्। जिल्लामा उनी ठेकेदारका पनि ठेकेदारका नामले चिनिन्छन्। राजनीतिक आडमा ठुल्ठूला विकास निर्माणको काम लिने उनले मूल ठेक्कालाई ‘पेटी कन्ट्रयाक्ट’ मा लगाउँदै आएका छन्। 

निर्माण चरणदेखि नै गुणस्तरमा प्रश्न उठाइएका जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालयका भवन ‘पेटी कन्ट्रयाक्ट’ ठेक्काका नमूना हुन्। आठ रेक्टरस्केल क्षमताको भूकम्प थाम्ने गरी डिजाइन गरिएका यी कार्यालय २०७२ वैशाख १२ को त्योभन्दा तलको भूकम्पले क्षतिग्रस्त बनाएको थियो। २०७० को संविधानसभा निर्वाचनमा तत्कालिन सिन्धुपाल्चोक–१ मा राप्रपाको तर्फबाट उम्मेदवार बनेका ठेकेदार भण्डारी २०७४ को स्थानीय तह चुनावअघि एमाले प्रवेश गरेका थिए। 

प्रकाशित: २३ जेष्ठ २०७५ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App