सान्दर्भिक कथा

शनिबार, १८ भदौ २०७३, ११ : १० नागरिक

समीरबाबु कट्टेल

'प्रतिनायक' साहित्यकार हरि अधिकारीद्वारा लिखित पछिल्लो कथासंग्रह हो। १५ वटा छोटाछरिता कथा संग्रहित यो पुस्तक हेर्दैमा आकर्षक छ। संकलनमा कथाकारले आफ्नो जीवनमा देखेका र भोगेका घटनावलीलाई जीवन दिएका छन्, शब्दहरूका माध्यमद्वारा। यी कथाहरूमा हिमाल, पहाड र तराईको आवाज छ। कतिपय कथा यसरी बुनिएका छन् कि जो पाठककै दैनन्दिनीसँग पनि मेल खान सक्छन्। कतिपय कथामा कथाकार आफै पात्रको रूपमा समेत उभिन पुगेका छन्।

यो संकलन आवाजविहीनहरूको आवाज हो। समाजबाट अपहेलित महिलाको व्यथा अनि सरकारी कामचोरहरूको प्रवृत्ति पनि यसमा उनिएको छ। कथामा माओवादी जनयुद्धका क्रममा स्थानीय जनसरकारको नामबाट भए–गरेका ज्यादतीको चर्चा चुलाइएको छ। कलेज पढ्ने ठिटाठिटीको पानीफोके प्रेम र बालमजदुरको तुलना छ। एकातिर घरेलु हिंसाले पिल्सिएका महिलाको कारुणिक क्रन्दन छ भने अर्कोतिर स्वाभिमानी वेश्याको कथा पनि छ। सहरमा वर्षौंसम्म रगत–पसिना बगाएर पनि रुग्ण शरीरमात्र लिएर फर्केको परिवारको प्रसंग हृदयविदारक छ। मालिकहरू आफ्ना महिला कामदारप्रति कतिसम्म कुदृृष्टि राख्छन् र यौन शोषण गर्छन् भन्ने कुरासमेत देख्न पाइन्छ। वार्द्धक्यको पीडा र एउटा बालकमा उब्जिएको प्रतिनायकत्व मन छुने खालका विषय बनेका छन्।

'रमा भाउजू' शीर्षकको कथाले पाठकको मन गज्जबले छुन्छ। घरेलु हिंसापीडित रमाको निधनको खबरले उसको लोग्ने र परिवारलाई समेत खासै फरक पार्दैन। मानौँ तिनका लागि एउटा घाँडो पन्छिएको मात्रै छैन, १५ वर्षदेखि छुट्टै बसेर त्यो परिवारमा लाग्दै आएको दाग पनि अब मेटिँदैछ! मृत्युको दुई दिनपछि मात्र आएको धागोले बाँधेको 'दुखम पत्रम्' शीर्षकको चिठीमा लेखिएको छ, 'ल पण्डित परिवार! तिमीहरूले १५ वर्षअगाडि ज्युँदै मारेर फ्याँकिदिएकी रमा अहिले आएर अन्तिमरूपमा मरेकी छे। काँडो पन्छिएको मात्र होइन, अब त त्यसको चिनोसम्म पनि बाँकी छैन। मोज गर! निर्दयीहरू!' यसले हाम्रै समाजमा हुने गरेका घटनाको याद दिलाउँछ। गाउँमै छाडिएका थुपै्र रमाहरूको अवस्था उजागर गर्छ, जो आज पनि उत्तिकै सान्दर्भिक छ। धागोले बाँधिएको चिठीले सञ्चार प्रविधिविहीन तत्कालीन समाजको चित्रण गर्छ। अहिले पढ्दा यो कथाको विषय पुरानो समयको लाग्न सक्छ। 

'डोल्मा पासाङ विष्ट' २०३० को दशकतिर पश्चिम नेपालको हिमाली क्षेत्रमा घटेको कथा हो। त्यतिबेला खम्पा शरणार्थीले त्यस क्षेत्रमा मच्चाएको आतंक, उनीहरूका नाममा भएको सैनिक कारबाही यसमा पढ्न पाइन्छ। सरकारले पत्ता लगाउन नसकेको खम्पा सरदार छेते माथिल्लो मुस्ताङका गाउँहरूमा आतंक मच्चाइरहेको थियो। उसकी रखौटी डोल्मालाई पत्ता लगाएर केरकारका लागि ल्याइएको छ। ऊ छेतेका बारेमा भन्छे, 'ल साहेब सुुन्नुस् छेतेका बारेमा। ५ दिन भयो मैले त्यसलाई मारिदिइसकेँ।...जतिबेला म १७ वर्षकी थिएँ। छेते र उसका साथीहरूले ममाथि बलात्कार गरेका थिए। हो, पछि मलाई छेतेले एकलौटी बनाएर राखेको थियो। तर, उसले २० वर्षपहिले दिएको यन्त्रणाको दाग मेरो मुटुमा यति गहिरोसँग बसेको थियो, मैले एक मिनेट पनि त्यसको यातनाबाट आफूुलाई मुक्त पार्न सकेकी थिइनँ। आजै जाउँ म त्यो लास तपाईंलाई देखाइदिन्छु।' कथाले त्यो स्वाभिमानी महिलाको चित्रणमात्र गर्दैन, तत्कालीन समाजको ऐनाको काम गर्छ।

'क्षतिको विवरण' कथा समसामयिक छ। सरकारी कर्मचारी राजनीतिक दल र तिनका ठुुटे अनि झोले कार्यकर्ताबाट कति पीडित हुन्छन् भन्ने कुरा यसमा उजागर गरिएको छ। सत्तारुढ र विपक्षी दलका स्थानीय कार्यकर्ताको दबाबकै भरमा जम्मा १८ सय घरधुरी भएको गाउँमा २३ सय घरधुुरी भूूकम्पपीडित भएको प्रसंग ज्यादै रोचक र घोचक छ। त्यस्तै, शरीरमा भएको रगत र पसिना चुसिसकेपछि सहरले मान्छेलाई कसरी लात मार्छ भन्ने वास्तविकता देखाइएको छ, 'प्रत्यागमन' कथामा।  १५ वर्षअघि सहरको सपनामा डुबुल्की मार्न गाउँ छाडेको बुुधसिंह रित्तो हात रुग्ण शरीर लिएर फर्कन्छ। उसका लागि गाउँसमेत बिरानो हुन्छ। काम गरेर खाने र परिवार पाल्ने हिम्मत पनि उसमा सकिएको छ। रित्तो फर्किएको भनेर घरका र गाउँका कसैले पनि उसलाई वास्ता गर्दैनन्। यो कथा पनि गाउँ छाडेर सहर पसेका जोकसैसँग जोडिएको छ।

'एउटा सुखान्त कथा' तुलनात्मक रूपमा लामो कथा हो। यो एकै विषयमा मात्र केन्द्रित छैन। यसमा माओवादी जनयुद्धको बेला स्थानीय जनसरकारको नामबाट भएका कुुकृत्यको चर्चा छ। बालश्रम र महिला हिंसा यसमा देखाइएको छ। सहरी कलेजका ठिटाठिटीको उखरमाउले जीवनको चित्रण छ। ११ वर्षको बालकले द्वन्द्वका नामबाट भोग्नुपरेको पीडा, पितृ वियोग, मातृवात्सल्यबाट वञ्चित पारिएको प्रसंग, काकाबाट भएका बालश्रम शोषण मर्मस्पर्शी छन्। उसका बाबुलाई सुुराकीको आरोपमा माओवादीद्वारा मारिएको र आमालाई यातना दिइएको दर्दनाक अवस्थाले गला अवरुद्ध बनाउँछ। कथा भन्छ, 'घरनेरको त्यही चौतारोमा एउटा कचहरी बसेको छ केही दिनपछि। न्यायमूूर्तिहरू उनै छन्, तर यसपटकको मुद्दाको प्रकृति भने अलि फरक छ। इजलासमा अभियुुक्तको उपस्थिति छैन। तर, उसको अपराध प्रमाणित गरिन्छ। उसकी आमा अर्ज्याल वंशकी बुहारीको पदबाट सधैँका लागि च्यूत भएको फैसला सुनाइन्छ।'

शीर्ष कथा 'प्रतिनायक' एकदमै सान्दर्भिक छ। सहरमा नाम र दाम कमाएका काकाकहाँ उज्यालो र सुसंस्कारको खोजीमा पुुगेको आनन्द त्यो वातावरण नपाएकोमा दुःखी हुन्छ। उसका काका र उनका साहित्यिक मित्र मण्डलीको सेवा चाकरमा नै उसको अधिकांश समय बित्छ। त्यहाँ रक्सी खान आउने सबैजसोले उसलाई हैकम जमाउन थालिसकेका थिए। उनीहरूका आदर्शवादी कुुराले ऊ दिक्क हुन्थ्यो। काकाबाट केही पाउने आशा मर्दै गएपछि ऊभित्र एक्कासि उब्जिएको प्रतिनायकत्वको भावले उग्ररूप लिन्छ र ऊ त्यहाँबाट बाटो तताउँछ। कथाले गाउँबाट सपना बुनेर सहर पसेका अधिकांशलाई कतै न कतैबाट छुन्छ।

 

अधिकारीको भाषा गज्जबको छ। उनी शब्द उन्न र वाक्य बुुन्नमा ज्यादै सिपालु छन्। तर पनि कतिपय वाक्य एकदमै लामा भइदिनाले पाठकलाई पट्यार लाग्न सक्छ। भाषाका सिकारुलाई त झन् यसले प्रभाव पार्न सक्ने कुरै भएन। मात्राहरूमा तल–माथि भएको निकै नै भेटिन्छ। यस्तो लाग्छ, उनी कथालाई बिट मार्न असाध्यै हतार गर्छन्। उनको लेखनीको यौ शैलीले कथाका पात्रहरू असरल्ल छाडिन पुगेका छन्, तिनले आवश्यक गन्तव्य भेट्न मुस्किल परेको छ। किताबमा १० वर्षे जनयुुद्धको बेलामा माओवादी पक्षबाट भएका कर्तुतको सामान्य चर्चा गरिएको छ, तर त्यो अत्यन्तै सतही लाग्छ। यस्तो लाग्छ, उनले माओवादी जनयुद्धबारे कुनै अध्ययन वा अनुसन्धान नै नगरी कथा बुनिदिएका छन्। यसकारण त्यो एक दशक लामो द्वन्द्वमाथि अधिकारीका कथाले न्याय गर्न सक्दैनन्। त्यसबखत राज्यपक्षबाट जनतामाथि भएका अन्याय र अत्याचार भुलेका छन् कथाकारले। माओवादीबाट भएका सामान्य गल्ती उधिन्न जान्ने कथाकारले राज्य पक्षबाट भएका भीषण अन्याय कतै उल्लेख नगर्नु सुहाउने कुरा होइन। उनका कथामात्र पढेर भावी पुस्ताले इतिहासको त्यो कालो समयबारे बारे के बुझ्लान्? किताबको उत्तरार्द्धमा लेखकले दाबी गरेजस्तो 'त्यसका भोक्ता र साक्षी वर्तमान पुस्ताका लागि त्यो त्यति महत्वपूर्ण जस्तो नलाग्ला। तर, भावी पुस्तालाई अतीत बुझ््न मद्दत गर्ने गहन सामग्री हुनेछ साहित्य।' तर, लेखक स्वयंले भनेजस्तो कथामा कतै देखिँदैन। यसकारण पनि अधिकारीका कथा एकांगी लाग्छन्।

कृति :  प्रतिनायक

लेखक :  हरि अधिकारी

विधा :  कथा

प्रकाशक :  शिखा बुक्स

मूल्य :  रू. २२५/

 





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad