coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘राजपाले प्रदेश २ को सरकार छोड्ने, केन्द्रमा समर्थन फिर्ता लिने’

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नम्बर २ को सरकारबाट बाहिरिने तयारी गरेको छ। राजपाका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने जानकारी दिए। 

मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको र नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको टिप्पणी गर्दै नेता सुमनले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकमा प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने बताए। ‘ढटुँवा कम्युनिष्टहरुलाई हामी समर्थन गर्दैनौं, २५ गतेको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गर्छौं’, बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने।

नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको आरो लगाउँदै उनले अब ढटुँवा कम्युनिष्टलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारे।

राजपा संसदमा तेस्रो ठूलो दल र दुई नम्बर प्रदेशमा पहिलो शक्ति भएको जिकिर गर्दै नेता सुमनले भने, ‘राजपाविरुद्ध कम्युनिष्ट र फोरम मिलेर षड्यन्त्र गरेका छन्, हामीलाई निमिट्यान्न पार्न खोजिँदैछ, हामीलाई बाइपास गरेर मधेशमा गरिने कुनैपनि सम्झौताको औचित्य छैन्, नेकपा र फोरमबीचको २ बुँदे सहमतिपनि मधेशको हितमा छैन्।’ नेकपा र फोरमबीचको सहमति पनि चुट्किला र हाँसोको पात्र भएको उनको टिप्पणी छ। 

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रारा तालमा हावा खाने र काखे बालक च्यापेर चुट्किला सुनाउनेबाहेक अरु केही नसकेको आरोप लगाउँदै उनले आफूहरुलाई कुनैपनि किसिमको कम्युनिष्ट अधिनायकवाद स्वीकार्य नहुने चेतावनी दिए। 

प्रकाशित: २३ जेष्ठ २०७५ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App