७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘संसद सञ्चालन नियमावली शुक्रबार पारित हुने’

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधि सभा सञ्चालन नियमावली यही शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका छन्। 

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री तामाङले नियामावलीमा सहमति जुटाउन अझै पनि प्रयास भैरहेको जनाए। उनले भने, ‘हामी सहमति जुटाउने प्रयास गरिरहेका छौं, तर अब बस्ने शुक्रबारको संसद बैठकबाट नियामावली पारित हुन्छ, प्रतिनिधि सभा नियामावली मस्यौदा समितिमा जुटेको सहमति अनुसार नै  मस्यौदा संसदमा पेश गर्छौं।’

मन्त्री तामाङले आफूहरु अहिलेपनि उक्त सहमतिबाट पछि नहटेको स्पष्ट पारे। उनले भने, ‘समितिले जस्तो मस्यौदा तयार पारेको थियो, वा दलहरुवीच सहमति भएको थियो, त्यही सदनमा पेश गर्छौं, तर सांसदहरुलाई मस्यौदामाथि संशोधन हाल्ने अधिकार छ, यदि उहाँहरुले संशोधनमा बहुमत पुर्याउनुभयो भने त्यही अनुसार पास हुन्छ।’ उनले सांसदहरुलाई संशोधन हाल्ने सार्वभौम अधिकार भएकोले आफूहरुले उक्त सहमतिमै अडान लिएर सांसदहरुलाई बाध्य बनाउन नसक्ने जिकिर गरे।

संसद सञ्चालन नियामावली नआउँदा धेरै कामहरु प्रभावित भएको बताउँदै मन्त्री तामाङले आफूहरु यसलाई अब छिट्टै टुँगो लगाउने पक्षमा रहेको स्पष्ट पारे। उनले भने, ‘नियामावली पारित नहुँदा संसदीय समितिहरु ग्ठन, संवैधानिक अंगमा नियुक्ती, राजदूतहरु नियुक्ती गर्न सकिएको छैन, अब नियामावली पारित हुने वित्तिकै प्रधानन्यायाधीश, अख्तियार प्रमुख र राजदूतहरुको नियुक्ती प्रक्रिया अघि बढ्छ।’

प्रकाशित: २३ जेष्ठ २०७५ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App