coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिकित्सा शास्त्रको प्रवेश परीक्षामा एकरुपता ल्याउने तयारी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान। तस्बिर : रोहित/नागरिक

धरान – सरकारले चिकित्सा शिक्षा आयोग गठन गरेसँगै चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि प्रवेश परीक्षा (इन्ट्रान्स) मा एकरुपता ल्याउने तयारी गरिएको छ।

चिकित्सक डा.गोविन्द केसीको माग वमोजिम सरकारले आयोग गठन गरेपछि सोही आयोगले प्रवेश परीक्षामा एकरुपता ल्याउने तयारीमा जुटेको हो। आयोगको अध्यक्षमा प्रधानमन्त्री हुने व्यवस्था छ। केही दिनअघि सबै विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र डिनहरूको बैठक बोलाएर शिक्षामन्त्री गिरीराजमणी पोखरेलले एमबिबिएस, बिडिएसको प्रवेश परीक्षामा एकरुपता ल्याउने गरी तयारी गर्न निर्देशन दिइसकेका छन्।

साथै,गएको शैक्षिक सत्रसम्म आ–आफ्नै मापदण्ड अनुसार इन्ट्रान्स र अध्यापन गराइरहेका विश्वविद्यालय तथा प्रतिष्ठानमा तत्काल प्रवेश परीक्षाको कार्यक्रम स्थगित गर्न पनि मन्त्रालयले पत्राचार गरेको छ। मन्त्रालयको पत्रले जुन १ तारिख (जेठ १७ गते) देखि एमबिबिएस तथा बिडिएसको प्रवेश परीक्षाको फारम खुला आह्वान गर्ने तयारीमा जुटेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रवेश परीक्षाको कार्यक्रम हाललाई स्थगित गरेको जनाएको छ।

सरकारको यो निर्णयले नेपाली बोर्डअन्र्तगतका विद्यार्थीहरू लाभान्वित हुनेछन्। खासगरी धरानस्थित बीपीप्रतिष्ठानमा छिटो परीक्षा हुने भएकोले नेपाली बोर्डका विद्यार्थीहरूले प्लस टु उर्तीर्ण गरेपनि त्यसैवर्ष प्रवेश परीक्षामा सामेल हुनबाट बञ्चित हुन्थे। जसले गर्दा बीपीमा अध्ययन गर्न चाहने विद्यार्थीहरू प्लस टु उर्तीण भएपनि अर्काे वर्ष मात्र प्रवेश परीक्षामा सामेल हुन सक्छन्।

भारतीय बोर्डलाई प्राथमिकता दिएर प्रवेश परीक्षाको तालिका बनाएको भन्दै पछिल्लो समय बीपी प्रतिष्ठानप्रति टिका टिप्पणीहरू पनि हुने गरेको थियो। नेपालमा बीपी प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिविवि अन्र्तगतको चिकित्सका शास्त्र अध्ययन संस्थान (आइओएम) र काठमाडौं विश्वविद्यालयले अलग अलगै प्रवेश परीक्षा लिइरहेका थिए।

‘यहाँ जहिल्यै पनि जुन १ मा इन्ट्रान्सको फर्म खुल्थ्यो, र जुलाई १ मा परीक्षा हुन्थ्यो। हामी त्यसको तयारीमा जुटिसकेका थियौं, तर अर्को निर्णय नहुञ्जेल परीक्षाको कार्यक्रम स्थगित गर्नु भन्ने आयोगको पत्र आएपछि स्थगित भएको छ,’बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा.अशोक ऐरले भने,‘सरकारले सबै मेडिकल कलेजको लागि एउटै सेन्टरबाट परीक्षा लिने सरकारको तयारी छ।’

 

प्रकाशित: २३ जेष्ठ २०७५ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App