८ वैशाख २०८१ शनिबार
समाज

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

च्यारिटी कार्यक्रममा सहभागी हुन पुगेका पर्वतका जनप्रतिनिधीहरू।    तस्बिरः विशन/नागरिक

पोखरा – जिल्लाको बृहत्तर विकास र समृद्धिको लागि युकेमा रहेका पर्वतेलीहरूको बृहत कार्यक्रम सम्पन्न भएको छ। प्रवासी पर्वतेलीहरूको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका निर्वाचित जनप्रतिनिधीहरूको सहभागितामा समृद्ध पर्वत निर्माणको लागि च्यारिटी कार्यक्रमको आयोजना गरेका थिए।

१ करोड रकम उठाउने र त्यसलाई जिल्लाको कुनै स्थानमा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने लक्ष्य संस्थाले लिएको छ। कार्यक्रमबाट ६५ लाख रुपैयाँ नगद संकलन भएको छ भने अन्य रकम उठ्ने क्रममा रहेको संस्थाले जनाएको छ।

संकलित रकमको परिचालन र व्यवस्थापनको लागि आगामी बैठकले संरक्षक, सल्लाहकार सहित अन्य अनुभवी व्यक्तिहरू रहेको उच्चस्तरिय समिति बनाएर तत्काल कार्य सुरु गर्ने संस्थाका उपाध्यक्ष झलक केसीले जनाए। उनका अनुसार रकमको सदुपयोग गर्न तत्कालका लागि एनआरएनएका उपाध्यक्ष कुल आचार्यको संरक्षकत्वमा समिति बनाइएको छ। 

कार्यक्रममा सहभागी प्रतिनिधीसभा सदस्य पदम गिरीले जिल्लाको प्राकृतिक सम्पदाहरू जनशक्ति अभावका कारण खेर गइरहेको हुँदा यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थायी सरकार बनेको हुँदा सरकारले स्रोत र साधानहरूको समुचित प्रयोग हुने नीति ल्याउने उनले जनाए।

अर्का प्रतिनिधीसभा सदस्य लालकाजी गुरुङले पनि विकासमा राजनीति नगरी सबैजना एकमत हुनुपर्नेमा जोड दिए। जिल्लाको विकासको लागि सबै जिल्लावासीहरू एकजुट भएर लाग्न उनले आग्रह गरे। अन्तर्राष्ट्रिय पर्वत समाजलाई पनि विकासका क्षेत्रमा लगानी गर्न उनले सुझाव दिए। 

प्रदेशसभा सदस्य ललितकला गुरुङले जिल्लाको विकासमा प्रवासी नेपालीलाई पनि सहभागी बनाउनुपर्नेमा जोड दिइन्। यस्तै, कार्यक्रममा सहभागी हुन पुगेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ ले जिल्लाको विकासको लागि ईमान्दार भएर काम गर्ने तथा यसमा प्रवासमा रहेका पर्वतेलीहरूले सघाउनुपर्ने बताएका थिए।

कार्यक्रममा स्वास्थ्य क्षेत्रको अलावा पर्यटकीय संभावना, कृषिको प्रचुर संभवना, जल, जमिन, बनबाट धेरै फाईदा लिन सकिने भएपनि त्यसको समुचित प्रयोग हुन नसकेकोमा छलफलमा चिन्ताको विषयका रुपमा उठान भएको थियो। यस्तै संस्थाको आगामी बृहत भेला मध्यपूर्वी एसियामा हुने संस्थाका महासचिव गुणराज शर्माले जानकारी दिए। मध्यपूर्वी क्षेत्रका सल्लाहकारहरूसँग छलफल गरी आगामी भेलाको टुंगो लगाईने उनले जनाए।

प्रकाशित: २३ जेष्ठ २०७५ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App