coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘मालिका’ मा खाँडो नाच प्रवर्द्धन

जाजरकोट दरवारमा छायांकन भइरहेको मालिका फिल्मको एक गीतमा जाजरकोटको खाँडो नाँच देखाउँदै स्थानीय । तस्बिरः जनक/ नागरिक

जाजरकोट - नेपाल एकीकरणका बेला भएको ऐतिहासिक लडाइँको झल्को दिने  खाडो नाँच पहिलो पटक  चलचित्रमा  देख्न पाइने भएको छ । युद्धकला  झल्काउँदै जाजरकोटमा मात्र नाचिने  खाडो  नाँच चर्चित  नायिका रेखा थापाले निर्माण गरिरहेको मालिका चलचित्रमा देख्न पाइने भएको हो ।

नायिका रेखा थापा र अन्य कलाकारहरुकबीच चलचित्रमा खाडो नाँच पनि आकर्षक ढंगले  देखाइन लागिएको हो । ढाल र तरवार चलाउँदै युद्धमा लडाइँ लडेको शैलीमा  नाचिने खाडो नाँच मालिका फिल्ममार्फत देशभित्र र बाहिरका लाखौं दर्शकले हेर्न पाउने छन् । देव्रे हातले ढाल समातेर वैरीको आक्रमण छेक्दै दाहिने हातमा रहेको तरवारले वैरीलाइ प्रहार गर्ने परम्परागत युद्ध शैली खाँडो नाँचमा देख्न पाइन्छ ।

विस १९११ मा गोर्खाका एक राजालाई  तिब्वती सेनाले घेराबन्दीमा पारेका बेला उनलाई सकुसल उद्धार गरी युद्ध शैलीमा विजय उत्सव मनाउँदै  जाजरकोट फर्कने क्रममा जाजरकोटी सेनाले नाँचेको नाँच नै खाडो नाँच हो । खाँडो नाँच ऐतिहासिक एवम् गौरवगाथा भरिएको भए पनि सरकारी तवरवाट संररक्षणको कुनै गतिलो पहल नभएको स्थानीय चित्रबहादुर शाहीले बताए।  

सरकारी तथा  गैरसरकारी क्षेत्रबाट ऐतिहासिक खाडो नाँच संरक्षणका लागि  कुनै ठोस पहल नभएका बेला नायिका रेखा थापाले आफ्नो चलचित्रमा  समावेस गरेर प्रशंसनीय काम गरेको शाहीले बताए । खाँडो नाँच जाजरकोटको मात्र नभए समग्र नेपालकै गौरवगाथा झल्काउने नाँच भएकाले  आफूले त्यसलाई फिल्ममा समावेस गरेको नायिका रेखा थापाले बताइन्।

ऐतिहासिक जाजरकोट दरवारमा चलचित्रको एक गीतको छायाकंनका क्रममा  जिल्लाको लोक संस्कृतिलाई झल्काउने दृष्यहरु समेटने क्रममा वीरतापूर्ण  लडाइँको झल्को दिने खाँडो नाँच पनि चलचित्रमा राखेको रेखाले बताइन् ।  म जहाँ जन्मे हुर्केकी भए पनि नेपाली कला र संस्कृति जोगाउन लागि पर्छु उनले नागरिकसँग भनिन् । खाँडो नाँच जाजरकोटमा मात्र नाँचिने भए पनि  नेपालभरकै जनताको गौरवको प्रतीक हो रेखाले भनिन् ।

खाँडो नाचले  तत्कालीन जाजरकोट र गोरखा राज्यबीचको सम्बन्धको पहिचान झल्काउनुका साथै नेपाल एकीकरणमा जाजरकोटको योगदानको विषयलाई समेत चिनाउने गरेको जाजरकोटी इतिहासका खोजकर्ता राजुराजा सिंहले बताए । उनले खाडो नाँच संरक्षणको जिम्मेवारी राज्यको भए पनि त्यसो नभएको बताए । युवापुस्ता र राज्यको लापरबाहीका कारण खाँडो नाँच  हराउने अवस्थामा पुग्न लागेको उनको चिन्ता छ।
 

प्रकाशित: २३ जेष्ठ २०७५ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App