coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

५५ घन्टामा उद्धार

काठमाडौं- सरकारले काबुल घटनाको ५५ घन्टामा शव स्वदेश ल्याई आफन्तलाई बुझाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालगत्तै परराष्ट्रमन्त्री कमल थापालाई निर्देशन दिएलगत्तै शव ल्याउन र फर्कन चाहने नेपालीको उद्धार मिसन सुरु गरिएको थियो।

प्रधानमन्त्रीलाई भेटेपछि परराष्ट्रमन्त्री थापाले आफगानिस्तानमा रहेका समकक्षी र उद्धारका लागि सहयोगी अन्य देशका अधिकारीसँग सम्पर्क गरेका थिए। 'काबुलका विषयमा प्रधानमन्त्रीको विशेष अग्रसरता रह्यो, परराष्ट्रमन्त्री थापा विदेश मामिलाका जानकार रहेका कारण काम फटाफट हुन सक्यो,' प्रधानमन्त्रीका सल्लाहकार प्रमोद दाहालले नागरिकसँग भने। उनका अनुसार नेपालले पहिलोपटक आफ्नै ध्वजाबाहक विमान चार्टर गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा उद्धार टोली पठाएको हो।

'एक व्यक्ति वा मन्त्रालयबाट मात्र सम्भव भएको होइन, जसको जिम्मेवारीअन्तर्गत हो, त्यो व्यक्ति, संस्था र मन्त्रालयको सक्रिय भूमिका निर्वाहको परिणाम हो,' उनले थपे।

परराष्ट्र मन्त्रालय आफ्नै ध्वजाबाहक नेपाल वायुसेवा निगम पठाउने निर्णयमा पुगेपछि निगमका प्रबन्धनिर्देशक सुगतरत्न कंसाकारले विमान र टिमको तयारी गरेका थिए। गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरीसँग सहकार्यमा घटनाका विषयमा मौका रहे सूचना संकलन हुने ठहरसहित विशेष कार्यदल र ब्युरोबाट छानिएका अधिकारी पनि चुने। नेपाली सेनाले आफ्नो अन्तर्राष्ट्रिय अनुभवअनुसार चार जनाको उद्धार टोली बनायो। यसपछि विमान उडानको आकाश अनुमति पाउनासाथ बुधबार बिहान ३ः४० मा विमान काबुलका लागि उडेको थियो।

काबुलबाट शव लिएर बिहान ११ः३० मा फर्कने अनुमान गरिए पनि विमानमै नेपाल आउन तयार २४ जनासहित शव व्यवस्थापनका लागि समय लाग्दा केही ढिलो भयो। विमान २ः४० मा अवतरण भएको थियो। आफन्तको शव लिन बिहान ११ बजेदेखि विमानस्थल पुगेका परिवार र आफन्तलाई गृहले शव हस्तान्तरण गर्दै चाहेको स्थानसम्म पुर्‍याइदिएको थियो।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा साधनस्रोत र तदारुकताले मिसन सफल भएको बताउँछन्। उनले दुर्घटना यदाकदा हुने र त्यसमा पनि अन्यको मुख ताक्नुभन्दा आफंैले गर्न सक्ने क्षमता यसपटक नेपालले प्रमाणित गरेको बताए। उनले भने, 'यस्तो अवस्थामा एउटा मेडिकल टिम जसले शबको व्यवस्थापन गर्न सकोस् र केही अधिकारी पर्याप्त हुने थियो, तर सरकारले एउटा कम्पोजिट टिम बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ।'

प्रधानमन्त्रीको श्रद्धाञ्जली

अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएकाप्रति प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर श्रद्धाञ्जली दिए। प्रधानमन्त्री ओलीसहित विमानस्थल पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत र श्रममन्त्री दीपक बोहराले काबुलबाट उद्धार गरिएका शवका बाकसमा फूलमाला चढाएका थिए।

शव बुझाइयो

गृहले काबुल घटनामा मारिएका १२ जनाको शव परिवारलाई बुधबारै हस्तान्तरण गर्‍यो। चार जनाको काठमाडौं, दुई जनाको नुवाकोट, दुई जनाको कास्की तथा अन्य एकएक जनाको गृहजिल्ला चितवन, सुनसरी, लमजुङ र रुपन्देहीमा हेलिकप्टरबाट लगी शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको गृहप्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले जानकारी दिए।

काबुल घटनामा सेक्युरिटी कम्पनीले सूचना लुकाउँदाको परिणाम

विस्फोटको पूर्वसूचना सेक्युरिटी कम्पनीलाई रहे पनि सूचना लुकाएको आरोप बुधबार फर्किएकाले लगाएका छन्। उनीहरुले तालिबानी समूहले दिएको धम्की लुकाउँदा दुर्घटना भएको बताए। बुधबार फर्किएका २४ जनामध्ये अधिकांशले तालिबानीले मिति र समय तोकर धम्की दिएपछि सुरक्षा प्रबन्ध मिलाउने गरिएकोमा यसपटक सामान्य अवस्थामा निकाल्दा १२ सहकर्मी मारिएको दाबी गरेका थिए।

कास्कीका भगवान बन्जाराले अति संवेदनशील र असुरक्षित रहे पनि कुनै पनि घटनाका विषयमा पूर्वजानकारी पाएपछि सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाउने गरिएकोमा सोमबार कमान्डरले कुनै सूचना नदिएको बताए। उनले घटनापछि आफूहरु मध्यरात असहमति जनाउँदै राजीनामा दिएर फर्किएको बताए।

'काबुलमा हुने तालिबानी क्रियाकलापको पूर्वसूचना हुने र हामीले सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाउने गरेका थियौं, तर यसपटक केही भनिएन, एकाएक विस्फोटको सूचना आयो,' बन्जाराले भने।

काबुल घटनापछि राजीनामा दिएर फर्किएका कास्कीकै मणिराम खनालले पनि फर्कनुको एउटै कारण असुरक्षा भएको बताए। उनले क्यानेडियन दूतावासको सुरक्षामा खटिएका २४ जनाले एकैदिन हतारमा राजीनामा दिएर फर्किएको जानकारी दिए।

'हामीले सुरक्षित महसुस गर्न सकेनौं, घरपरिवारले पनि घटनापछि ताकेता गर्न थालेकाले फर्कियौं,' खनालले नागरिकसँग भने। उनका अनुसार इराकअन्तर्गत रहेर काबुलमा कार्यालय रहेको साबरी सेक्युरिटी नामक अन्तर्राष्ट्रिय सुरक्षा कम्पनीलाई क्यानेडियन दूतावासको सुरक्षा जिम्मेवारी दिइएको छ। सुरक्षा प्रबन्धका लागि एक सय ४७ जना नेपाली खटिएका छन्। जसमध्ये ३३ जना हाल बिदामा छन्।

सुरक्षा कम्पनीले मासिक ९ सय ५० अमेरिकी डलर दिने गरेको थियो। यसमध्ये सय डलर कमिसनबापत उसैले राख्ने गरेको बन्जाराले जानकारी दिए।

प्रकाशित: ९ असार २०७३ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App