मनसुन पूर्व कटान र डुवान रोक्न धमाधम तटबन्धन निर्माण

बुधबार, २३ जेठ २०७५, ०७ : ४७ निर्मल घिमिरे

बर्दिया - बबई नदीले गर्ने कटान र डुवान नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माण कार्यले तीव्रता पाएको छ । गुरुयोजना अनुसारको मापदण्डमा कटान र डुवान नियन्त्रण गर्न तटबन्ध निर्माण कार्यले गति लिएको हो ।

यसका लागि चार महिनाअघि बबई र शाखा नदी नियन्त्रण गर्न छुट्टै कार्यालय स्थापना भएको थियो ।यसले बबई नदी क्षेत्रमा जग्गा कटान र डुवानको समस्यबाट जोगाउने स्थानीयको भनाइ छ । बबई नदीमा तटबन्ध निर्माण कार्यका लागि २१ वटा ठेक्काको काम अन्तिम चरणमा छ ।

तटबन्ध निर्माण सन्तोषजनक भएपनि बबई नदीमा दुईतर्फी तटबन्धन निर्माण हुनुपर्ने थारु परेसियाका विरेन्द्र थारुले औल्याए । ‘दीर्घकालीन रुपमा बबई नियन्त्रण नहुादा बर्सेनि वस्तीमा नदी पस्छ,’ उनले भने, ‘गुरुयोजना अनुसार नदी नियन्त्रण गरिएको प्रयास सह्रायिन छ ।’ तर, दुईतर्फी तटबन्ध निर्माण गरिनु पर्ने उनको माग छ।

गुरु योजनाअनुसार तीन अर्ब ९२ करोड रुपैयाँ लागतमा २८ किलोमिटर तटबन्ध निर्माण हुने बबई, औराही र मानखोला नदी नियन्त्रण तथा व्यवस्थापन कार्यालयका प्रमुख नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले तटबन्ध निर्माणको काम प्रारम्भिक चरण रहेको छ । ‘यसअघि बाँकी रहेका तटबन्ध पनि गुरुयोजना अनुरुप अघि बढाएका छौं,’ उनले भने, ‘कतिपय ठेक्का सम्झौताको प्रक्रिायामा भएकाले अर्को आर्थिक वर्षदेखि तटबन्धनको काम सुरु हुन्छ ।’

उनका अनुसार बबई नदी नियन्त्रणका लागि संशोधित गुरुयोजनामा १३ अर्ब माग गरिएको छ । जसले बबई नदीको दुवै किनारमा तटबन्ध निर्माण गर्न सकिन्छ ।तटबन्ध निर्माण कार्यले पूर्णता नपाउँदा यसवर्ष पनि गुलरिया नगरसहित ६ गाविस बाढीको जोखिममा छन् । तर, गुरुयोजनाअनुसार बन्ने एकतर्फी तटबन्धले भविष्यमा बबईको भेल थेग्न सक्दैन । नदी किनारमा बसोबास गर्ने सधैं बाढीको त्रासमा रहिरहने स्थानीयको गुनासो गर्छन् ।

अघिल्लो वर्ष बबईमा आएको बाढीले नगरपालिका अधिकांश बस्ती क्षति पु¥याएको थियो । बाढी बगाउँदा ३४ जनाको ज्यान गएको तथ्यांक छ । नदीले कटान गर्न थालेको वर्षौं बितिसक्दा पनि दीर्घकालीन तटबन्धको योजना बबई नदीमा नपरेको स्थानीयले बताए । बाढी लगत्तै जिल्लाका सबै तहतप्काका मानिस गम्भीर विषय भन्दै ‘गुलरिया बचाउँ अभियान’मा लाग्ने गरेका छन् । स्थानीयले वर्षौंदेखि दुवैतर्फ तटबन्ध लगाउनु पर्ने माग गर्दै आएपनि सुनवाइ हुन सकेको छैन।

बबई नदी नियन्त्रण गर्न दुईतर्फी तटबन्धको गुरुयोजनाको स्वीकृत नहुँदा बर्खाको समयमा नगरवासीले सुरक्षित महसुस गरेर बस्न सक्दैनन् । ‘गाउँ र नगर सुरक्षित गर्न दुईतर्फी बबई नियन्त्रणका लागि बजेट छुट्याउन जरुरी छ, बर्खाको समयमा कसरी ज्यान जोगाउने, स्थानीय राजकुमार चौधरीले भने । थारु मात्र होइन गुलरियावासीलाई नै राज्यको बेवास्ताले पुस्तेनी ठाउँ छाडेर अन्यत्र हिँड्न बाध्य बनाएको छ । बबई नदी नियन्त्रण गर्न सके खेतीयोग्य पाँच हजार बिघा जमिन उकासिने र गुलरिया नगर पनि सुरक्षित हुने विज्ञ बताउँछन् ।

यसअघि टुक्रे बजेटले तटबन्ध निर्माणको काम भएपनि बस्ती र खेतीयोग्य जमिन बगरमा परिणत हुँदा स्थानीय मर्कामा छन् । ‘गुलरिया नगर सुरक्षित गर्न र बगरको जग्गा उकास्न बबईको गुरुयोजना अनुसार तटबन्ध जरुरी छ,’ प्रमुख सुवेदीले भने, ‘प्रक्रिया ढिलो भएर यस वर्ष निर्माण गरिएको तटबन्धले पूरै बबई नदीलाई छेक्न नसक्ला, तटबन्ध निर्माण नभएका ठाउँमा नदी पस्न सक्छ ।’ यस वर्ष बाढीबाट जोगाउँने प्रयत्न मात्र भएकोे सुवेदी बताउँछन् । ‘एक वर्ष नदी नियन्त्रण सम्भव छैन,’ उनले भने, ‘संशोधित गुरुयोजना स्वीकृत भए नदी नियन्त्रण सम्भव छ ।’२०५५ मा बबई नियन्त्रणका लागि जाइकाले गरेको सर्भेअनुसार काम नभएकोमा स्थानीय दुःखी छन् । बबईको परेवा ओडारदेखि भारतको सीमासम्म बई नदी नियन्त्रणका लागि कार्य योजना बनाएको थियो । नगर सुरक्षित गर्न २०५५ मा सर्भे गरेर काम थालेको जाइकालाई अर्को ठाउँमा लगिएकाले बर्सेनि यहाँका सर्वसाधारण घरबिहीन हुन बाध्य छन् ।

‘जाइकाले गरेको सर्भेमा तटबन्ध निर्माण गर्ने, नदीलाई क्यानलन गर्ने, बाढी नियन्त्रण गर्ने र स्थानीयलाई जीविकोपार्जन गर्ने समेत समेटिएर योजना बनाइएको थियो,’ एक स्थानीयले भने, ‘जाइकालाई अर्को ठाउमा लगियो, यँहाका नेताको पहुँच पुगेन ।’जाइकाले गरेको सर्भे राजनीतिक प्रभावका कारण पूर्व सारेको स्थानीय बताउँछन् । बालापुर, भैसायी, गुलरिया र टडुवा नदी बस्ती पस्ने यस वर्ष जोखिम टरेको स्थानीयले बताए ।

 







यसमा तपाईको मत