८ वैशाख २०८१ शनिबार
अर्थ

लगानीकर्ता आए उद्योग आएनन्

बुटवल - सेज प्राधिकरण भन्छ ‘सबै पूर्वाधार तयार भयो उद्योग स्थापना गर ।’ लगानीकर्ता भन्छन्, ‘उद्योग सञ्चालनका लागि पहिलो पूर्वाधार बिजुली नै नभई कसरी उद्योग खोल्नु ?’ विद्युत्का अधिकारीहरु भन्छन ‘सब–स्टेसन बनाउ बिजुली दिन्छौं ।’ विशेष आर्थिक क्षेत्र सेज प्राधिकरण, विद्युत् प्राधिकरण र लगानीकर्ताबीच यस्तो जुहारी चल्न थालेको एक वर्ष भयो।

उद्घाटनको चार वर्षसम्म भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालनमा जिम्मेवार निकायले नै अरुमाथि दोष थुपारेर सञ्चालनमा ढिलाइ गरिरहेको छ । २०७१ मा उद्घाटन गरिएको देशकै पहिलो भैरहवा सेजमा लगानीकर्ता आएपनि उद्योग आएका छैनन् । ६९ वटा प्लटमध्ये ३८ वटाका लागि १३ लगानीकर्तासँग सम्झौता भइसकेको छ ।

३१ प्लटका लागि पनि १३ वटा उद्योगले प्रस्तावना पेस गरेका छन् । यो साताभित्रै उनीहरुसँग सम्झौताको तयारी भइरहेको सेजका प्रवक्ता सुन्दर थापाले बताए । तिनले सात अर्बभन्दा बढी लगानी सेजमा भिœयाउने छन् । सम्झौता लगत्तै उद्योग दर्ता गर्नुपर्ने र दर्ता भएको एक वर्षभित्रै उत्पादन थाल्नु पर्ने प्रावधान छ । तर सो प्रावधान अनुरुप वर्ष दिनमै उद्योग स्थापना वा सञ्चालनमा आउने कुनै छाँटकाँट देखिँदैन । सेजमा हाल ११ केभी लाइन छ । जुन उद्योग स्थापनाका लागि पर्याप्त भएपनि सञ्चालनका लागि पर्याप्त होइन।

लगानीकर्ताहरु विद्युत् जस्तो अत्यावश्यक पूर्वाधारको ग्यारेन्टी नभएको भन्दै उद्योग स्थापना गर्न हिचकिचाइरहेका छन् । उद्योग दर्ताको दिनदेखि प्लटको भाडा तिर्नुपर्ने भएकाले पनि लगानीकर्ता विद्युत्को ग्यारेन्टीपछि उद्योग स्थापना थाल्ने मनसाय बनाएको बुझिन्छ ।

एकजना लगानीकर्ता इस्तियाक अहमद खाँले बैंकको ऋणमा गरिने करोडौं लगानी विद्युत् बिनै आट्न नसकेको प्रतिक्रिया दिए । ‘उद्योग स्थापना गर्न समस्या नआउला तर उद्योग स्थापना भइसक्दा पनि थप बिजुली आएन भने के गर्ने ?’ खाँले भने । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल भन्छन्, ‘चार वर्षसम्म सब–स्टेसनको टेन्डरसम्म खुलाउन नसक्नेले एक वर्षमै चाहिएजति विद्युत् दिन्छन् भनेर कसरी विश्वास गर्ने ?’

अधुरो पूर्वाधार
सेज प्राधिकरणलले निर्माण कार्य थाल्न आग्रह गर्दै आवश्यक बिजुली उपलब्ध गराउने बताएपनि लगानीकर्ताले उसको भनाइलाई पत्याउने आधार तयार भइसकेको छैन । सेजका अधिकारीहरुले सम्पूर्ण भौतिक पूर्वाधार तयार भएको भने पनि विद्युत्को शब–स्टेसन जस्तो आधारभुत संरचना निर्माणको काम नै अहिलेसम्म सुरु भएको छैन ।

सेजमा ३३ केभीको लाइन दिने भनिएको छ तर, त्यसका लागि बनाउनु पर्ने सब–स्टेसनको ड्रइङ, डिजाइन नै पास नभइसकेको अवस्था छ । सब–स्टेसनको ड्रइङ, डिजाइन र लगत स्टिमेट तयार गरी विद्युत् प्राधिकरणमा पठाइएको भएपनि पास भएर नआइसकेकाले टेन्डर प्रक्रियामा जान ढिलाइ भएको प्रवक्ता थापाले बताए ।

विद्युत्ले स्वीकृति दिएपछि टेन्डर आव्हान गरिने जानकारी दिए । सब–स्टेसन नबने पनि उद्योग सञ्चालनका लािग आवश्यक विद्युत् दिन प्राधिकरण तयार रहेको सेजका प्रवक्ता थापाको भनाइ थियो । विद्युत्को बुटवल क्षेत्रीय कार्यालयका प्रमुख भानुभक्त भट्टराईले भने सेजमा सब–स्टेसन नबनेसम्म ३३ केभी लाइन वितरण गर्न नसकिने बताए । ‘३३ केभी लाइन सेजमै ल्याएपनि उद्योगलाई सिधैं वितरण गर्न मिल्दैन । सब–स्टेसनमार्फत वितरण गर्नुपर्छ,’ भट्टराईले भने । उनका अनुसार सब–स्टेसन निमार्ण गर्न कम्तीमा दुई वर्ष लाग्छ । ‘इमान्दार र काम गर्ने ठेकेदार पर्यो भने दुई वर्षमा सक्ला,’ भट्टराईले भने।

सेजका लागि धकधही सब–स्टेसनबाट लाइन तान्ने तयारी छ । धकधहीमा ३३ केभी सब–स्टेसन निर्माण हुँदैछ । सो सब–स्टेसनको करिब ६० प्रतिशत काम सकिएको छ । बुटवल ग्रिडबाट ३३ केभीको डबल सर्किट धकधही सब–स्टेसनसम्म ल्याएर एउटा सर्किट सेजमा ल्याइने छ । धकधहीबाट सेजसम्म लाइन तान्न पोल गाड्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलका प्रमुख भट्टराईले बताए ।

सञ्चालनमा ढिलाइ हुँदा सेजमा बनिसकेका अन्य संरचनासमेत जीर्ण भएका छन् । खानेपानीका पाइप फुटेका छन्, ढल निकासका लागि बनाइएका संरचना, सडक जीर्ण छन् । प्लटहरु बुट्यानमा परिणत भएका छन् । निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले भैरहवास्थित नेपाल–भारत सीमा बेलहियादेखि करिब दुई किलोमिटर उत्तर–पूर्व बगाहामा सेज निमार्ण गरिएको हो । ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १६ सयदेखि ३७ सय वर्गमिटरका ६९ वटा प्लट छन् ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App