७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँपालिका र प्रहरीका लागि ८ रोपनी जग्गा दान

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन्। पारच्याङका स्थानीयले गाउँपालिकालाई ५ रोपनी र प्रहरीलाई ३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । कालु घले, दमै सार्की, कामी घले, हर्क घले, मेन्दो घले, मेम्बा घले, ल्हाचुन घले र काजी घलेले निशुल्क जग्गा उपलब्ध गराएका गाउँपालिकाले जनाएको छ।

अहिले निःशुल्क उपलब्ध गराएको जग्गाको मूल्य करिब दुई करोड ५६ लाख पर्ने बताइएको छ। प्रहरीका लागि ९६ लाख बराबरको तीन रोपनी र गाउँपालिकाको लागि एक करोड ६० लाख बराबरको जग्गा निःशुल्क दिएका हुन्।

स्थानीय तह आएपछि गाउँमा विकास निर्माणले गति लिएको र स्थायी कार्यालय स्थापना भएपछि जीविकोपार्जनमा समेत सहयोग पुग्ने भएकाले जग्गा उपलब्ध गराएको हर्क घलेले बताए। अरुले जग्गा दिन्छु भने पनि अहिलेसम्म जग्गा उपलब्ध गराएनन्, जग्गादाता घलेले भने, एक वर्षसम्म आश्वासन मात्र दिने गरेपछि हामीले जग्गा निःशुल्क उपलब्ध गरायौँ।’ पारच्याङ गाउँपालिकाको केन्द्र भएकाले स्थानीयलाई सहज हुने उनले विश्वास व्यक्त गरे।

जग्गा दिएसँगै जग्गादातालाई पनि सुविधा पुग्ने पारच्याङका गणेशमान घलेले बताए। ‘हाम्रो बुबाहरुले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ, उनले भने, वरीपरी जग्गा भएकाले हामीलाई पनि फाइदा हुने देखेको छु।’

जग्गा उपलब्ध गराउनका लागि सहजीकरणका लागि उनी जिल्ला मालपोत कार्यालय रसुवामा आएका थिए। पारच्याङका ८ जनाले जग्गा उपलब्ध गराएका गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्। ‘हामीलाई उहाँहरुले जग्गा दिनुभएको छ,’ उपाध्यक्ष लामाले भनिन्, अब गाउँपालिकाको स्थायी भवन निर्माण गर्छौँ।’

स्थानीय तहले जग्गा खरिद गर्न नमिल्ने भएकाले निशुल्क जग्गादाता खोज्दै जाँदा उनीहरूले सहयोग गरेका उनले बताइन्। गाउँपालिकामा कृषि, स्वास्थ्य, महिला, पशु र सामाजिक विकास शाखा रहेका छन्।

त्यसैगरी, नेपाल प्रहरीलाई हालसम्म १३ रोपनी जग्गा प्राप्त भएको प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए। यसअघि प्रहरीलाई हाकुमा ३ रोपनी र थाम्बुचेतमा ७ रोपनी जग्गा प्राप्त भइसकेको छ। प्रहरी नायव उपरीक्षक क्षेत्री जिल्लामा आएपछि हराएको जग्गा खोज्ने तथा जग्गा अभावका कारण समस्या भएका प्रहरी चौकीको लागि जग्गा खोज्ने कार्य भएको थियो। उनले जिल्ला प्रहरी कार्यालय वरीपरीको कार्यालयको नाममा रहेको ३ रोपनी जग्गा अर्कैले प्रयोग गरिरहेको पाइएपछि फिर्ता ल्याएका थिए।

नि : शुल्क जग्गा दिन तीन दिन सदरमुकाम

रसुवाको नौकुण्ड गाउँपालिका–३ का ७३ वर्षका मेन्दो घले यहि जेठ १९ गते सदरमुकाम धन्चे आएका थिए। उनी सदरमुकाम आउनुको खास कारण भनेको गाउँपालिकालाई निशुल्क जग्गा उपलब्ध गराउनु थियो।

‘गाउँमा धेरैले निः शुल्क जग्गा दिन्छु भने तर कसैले दिएनन्, उनले भने, हामी दाजुभाइ मिलेर जग्गा दिने निर्णय गरेउ।’ जग्गाको लालपूर्जा हस्तान्तरण गर्दा उनको बुढ्यौली अनुहारमा छुट्टै चमक थियो। ‘यसअघि गाउँका लागि केही गर्न सकिएन्, उनल भने, अहिले थोरै भएपनि सेवा गर्ने मौका पाएँ।’ बोलेर भन्दा पनि गरेर देखाउनुपर्ने उनले बताए। एक वर्षसम्म जग्गा दिने भन्ने व्यक्ति पछि निर्णयबाट हट्दा नरमाइलो लागेको उनले सुनाए।

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App